‘जात्रै जात्रा’मा विपिन र वर्षाको रोमान्स

‘जात्रै जात्रा’मा विपिन र वर्षाको रोमान्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – वर्ष २०७३को सुपरहिट सिनेमा जात्राको सिक्वेल निर्माणको घोषणा गरिएको छ । यो सिनेमाको सिक्वेलको नाम जात्रै जात्रा राखिएको छ । दशैं तथा तिहारको शुभकामना आदानप्रदान गर्दै प्रदीप भट्टराईले निर्देशन गर्ने सिनेमाको बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिम र कलाकारको उपस्थितिमा औपचारिक निर्माण घोषणा गरिएको हो ।पहिलो सिरिजकै कलाकारहरु रहने सिनेमाको कथा निर्देशक भट्टराई आफैंले तयार पारेका छन् । कात्तिक ११ गतेबाट फ्लोरमा जाने सिनेमाको प्रदर्शन मिति फागुन १७ गतेलाई तय गरिएको छ । ‘जात्रै जात्रा’ मा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धरलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहने सिनेमामा सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् । शिवराम श्रेष्ठले खिच्ने सिनेमालाई मित्र डि. गुरुङले सम्पादन गर्नेछन् । षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण हुने सिनेमाको कथा पहिलो श्रृंखलाभन्दा फरक रहेको निर्देशक भट्टराईले बताए । ‘जात्रा’ जहाँ सकिएको थियो ‘जात्रै जात्रा’ त्यहीँबाट सुरु हुन्छ । तर यसपटक सिनेमाका पात्रहरु पैसाको पछाडि मात्र दौडिने छैनन्’, उनले भने । महसञ्चारमा लामो समय सहायक निर्देशकको अनुभव सँगालेका प्रदिपले यसअघि ‘जात्रा’ र ‘शत्रु गते’ निर्देशन गरिससकेका छन् ।

डेढ करोडको लगानीमा निर्माण हुने सिनेमाको काठमाडौंको असन, बौद्ध र पोखरामा छायांकन हुनेछ । ३५ दिनमा सिनेमाको सुटिङ सक्ने निर्देशकको तयारी छ ।