‘इन्टु मिन्टु लण्डनमा’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया !

‘इन्टु मिन्टु लण्डनमा’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आज शुक्रबारदेखि रिलिज भएको सिनेमा हो ‘इन्टु मिन्टु लण्डनमा’। सिनेमाको सार्वजनिक गीत संगीत र ट्रेलरबाट पाएको हाइपबाट सिनेमा सफल हुनेमा निर्माण टिम ढुक्क देखिन्छ । यहि सिनेमाको विहिबार काठमाडौं स्थीत बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । जहाँ सिनेमाका मुख्य कलाकार र पत्रकारको बाक्लो उपस्थीती रहेको थियो ।

प्रभु शमसेर जबरा सहितको टिमले रिवन काटेर प्रिमियरको सुरुवात गरिएको थियो । ‘इन्टु मिन्टु लण्डनमा’को प्रिमियर शोमा अभिनेता भुवन केसी अभिनेत्री तथा निर्देशक झरना थापा, अभिनेता रमेश उप्रती, निर्देशक सुदर्शन थापा, दिनेश राउत, हेमराज विसी, निर्माता रोहित अधिकारी, अर्जुन कुमार, अभिनेत्री नम्रता श्रेष्ठ, केकी अधिकारी, बेनिशा हमाल लगायतका कलाकारको उपस्थीती रहेको थियो ।

निर्देशक रेनाशा वान्तवा राईको साथमा सिनेमाका प्रमुख कलाकार धिरज मगर, सारुक ताम्राकार र सुनिशा बजगाईँले एकसाथ प्रिमियरमा ईन्ट्री लिएका थिए । अभिनेत्री साम्राज्ञी आरएल शाह भने केही ढिला उपस्थित भइन् । कालो पहिरनमा ब्ल्याक ब्यूटी भएर पुगेकी उनी नै प्रिमियरको प्राण बनेकी थिइन् ।

प्रिमियरको तामझाम सकिएर सिनेमा सुरु हुँदा लगभग ७ बज्यो । केही मिनेट कलाकार, निर्माता र निर्देशकले आफ्नो भनाई राखे । निर्देशक राईले भावुक हुँदै २ वर्षको मिहिनेतले लिएर आएको बताइन् । अभिनेता धिरज पनि आफ्नो भनाई राख्ने क्रममा गहभरी भए ।

उनले आफ्नो डेब्यु सिनेमा राम्रो र नराम्रो जस्तो लागेपनि प्रतिक्रियाको अपेक्षा राखेको बताए । अभिनेत्री साम्राज्ञी मिहिनेतको फल मिठो हुने भन्दै खुसी देखिइन् । सिनेमा लगभग साँझ साढे ९ बजे सकियो । अधिकांशले सिनेमाको मेकिङ, संगीतपक्ष र लोकेशनको तारिफ गरे । छायांकन पक्षलाई धेरैले कमजोर भने ।

सिनेमा हेर्नेले अभिनेता सारुकको कामलाई उत्कृष्ट भनेका छन् । आर्मी अफिसरको भूमिकामा निभाएका उनको अभिनय र डाइलग डेलिभरी उम्दा छ । मध्यान्तरपछि सिनेमा करिब–करिब उनकै काँधमा अडेको छ । पहिलो सिनेमामा धिरजले गरेको कामलाई पनि प्रशंसा गर्ने धेरै थिए ।

सिनेमालाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणा लगायतको  अभिनय छ ।