कारखाना मेरो २० वर्षको सपना हो : निर्माता सुदिप खड्का !

कारखाना मेरो २० वर्षको सपना हो : निर्माता सुदिप खड्का !

द सिनेमा टाइम्स
0
Shares

आशिष ओली (गणेश), काठमाडौँ । यहिँ असार  १६ गते प्रदर्शन हुने सिनेमा ‘कारखाना’ अहिले चर्चामा छ । छोटो समयमै राम्रो प्रचार गरेर निर्माण युनिटले ‘कारखाना’लाई एक किसिमको हाइप दिलाएको छ । निर्माता, निर्देशक र कलाकार यो सिनेमाको प्रचारमा सकारात्मक रुपमा प्रस्तुत भएका छन् ।

सिनेमाका मुख्य कलाकार वर्षा सिवाकोटी र सुशील श्रेष्ठको लागि ‘कारखाना’ सफल हुन् अति आवश्यक छ । यसअघि ब्राण्ड, व्यानर र चर्चित कलाकारसँग हिट सिनेमा दिएका यी दुई कलाकारले सोलो रुपमा बक्सअफिसमा कस्तो प्रभाव पार्न सक्छन भन्ने कुरा ‘कारखाना’ले प्रमाणित गर्नेछ ।

सिनेमाको सफलतामा कलाकारको हात हुने भए पनि ‘कारखाना’को कथावस्तुलाई निर्देशक अमरदीप सापकोटा मजवुत पक्ष मान्छन । तर, पनि यी दुई कलाकारले कथावस्तुमा आफुलाई राम्रो तरिकाले प्रस्तुत गरेकाले ‘कारखाना’ राम्रो बनेको तर्क गर्छन ।

यी त भए निर्देशक र कलाकारका कुरा । ‘कारखाना’को बारेमा के भन्छन त निर्माता सुदिप खड्का । सुदिप भन्छन ‘कारखाना’ मेरो २० वर्ष देखिको सपना हो । सुदिपसँग द सिनेमा टाइम्सले केहि प्रश्नहरु तेर्स्याएको छ ।

कारखाना निर्माता सुदिप खड्का

 कारखाना कस्तो सिनेमा हो ?

पहिलो पटक नेपाली सिनेमामा सेरोगेसी ‘भाडाको काख’को कथालाई छोएर बनाइएको ‘कारखाना’ नारीप्रधान सिनेमा हो । पहिले त कथावस्तु सार्वजनिक नगर्ने पक्षमा थियौ । अन्तत: सिनेमामा अन्य खुराकहरु पनि भएकाले दर्शकलाई कथावस्तुको बारेमा थोरै जानकारी दिएका हौ । तर, कारखानाको शाब्दिक अर्थ बुझ्न हलसम्म पुग्नुपर्ने हुन्छ ।

सिनेमा बनाउनुमा के-कस्ता चनौती महसुस गर्नु भयो ?

एकदमै गार्हो काम लाग्यो । सिनेमा निर्माण गर्नु मेरो २० वर्ष पहिलेकै सपना हो । यो सपना पुरा गर्न धेरै नै चुनौतीको सामना गर्नुपर्यो । अहिले सपना पुरा हुदाँ एक किसिमको रमाईलो महशुस पनि भएको छ । तर, नयाँ लगानी गर्न आउँनेहरुलाई भने, यो क्षेत्रको बारेमा बुझेर मात्र आउँन आग्रह गर्दछु ।

नयाँ कलाकारले बजार र सिनेमाको कथावस्तु थेग्न सक्छन भन्ने कसरि विस्वास भयो ?

हाम्रो टिमनै नयाँ छ । निर्देशक अमरदीप सापकोटाको पनि डेब्यु निर्देशन हो । मेरो पनि डेब्यु लगानी, वर्षा र सुशीलले केहि सिनेमामा अभिनय गरे पनि उहाँहरु नयाँ जस्तै हो । तैपनि नयाँकै कारण सिनेमा राम्रो बनेको छ भनेर म ढुक्कले भन्न सक्छु । सबैले राम्रो काम गर्नु भएको छ । सबैमा त्यो आत्मविस्वाश छ ।

 कारखानाको मजवुत पक्ष के हो ?

मजवुत पक्ष स्टोरीलाइन हो । पछिल्लो समय बनिरहेका भिन्न कथाका सिनेमाको विचमा कारखाना पनि भिन्न छ । कथावस्तु मन परेर नै मैले सिनेमामा लगानी गरेको हु । त्यसैले यो सिनेमामा १ करोड ३० लाख खर्चिएको छु ।

 प्रचार-प्रसार कसरि गर्नु भएको छ ?

प्रचारमा हामीले कुनै कमि गरेका छैनौ । पहिलो पटक ‘नेपाल आइडल’मा उपस्थित भएर सिनेमाको प्रमोसन गर्न भ्याएका छौ । कलाकारले पनि आफ्नो तर्फबाट प्रचारमा खरो उत्रनु भएको छ । टिभी, अनलाइन, रेडियो, पत्रिका सबै तिर छोटो समयमै पनि हामी राम्ररी छाएका छौ ।रिलिज मितिसम्म आईपुग्दा बनेको हाइपले गर्दा वाहिरी देशहरु बाट सिनेमाको माग बढीरहेको छ ।

 निर्देशकसँगको मनमुटाव के कारण भएको हो ?

मनमुटाव भएको होइन । अलिकति विचार मात्र नमिलेको हो । सिनेमाको प्रस्तुति कस्तो राख्ने भन्ने कुरामा दुई मत मात्र भएको थियो । उहाँले सिनेमा राम्रो बनाउनलाई नै आफ्नो मत राख्नु भएको हो । मैले पनि त्यहिँ गरेको । त्यति कुरा मात्र नमिल्दा मनमुटावनै हुने भन्ने हुदैन ।त्यसैको कारण अहिले ‘कारखाना’ राम्रो बनेको छ । हामि मिलेर काम गरिरहेका छौ । उक्त कुरालाई मैले गम्भीर रुपले लिएको छैन । एकै ओछ्यानमा सुत्दा कहिले काहिँ खुट्टा त लागिनै हाल्छ नि ।

 किन हेर्नु पर्छ कारखाना ?

नयाँ टिमले नयाँ कथा र स्वादमा निर्माण गरेको सिनेमा हो ‘कारखाना’ । दर्शकलाई मनोरंजनसँगै संदेश पनि प्राप्त हुनेछ । सिनेमा अवधिभर दर्शकलाई बाँधी राख्ने भएकाले ‘कारखाना’ उचित सिनेमा हुन् सक्छ । त्यसैले ‘कारखाना’ हेर्नु पर्छ ।