दक्षिण कोरियमा नेपाली सिनेमाको अवार्ड आयोजना हुदै, कुल २० विधामा अवार्ड वितरण गरिने

दक्षिण कोरियमा नेपाली सिनेमाको अवार्ड आयोजना हुदै, कुल २० विधामा अवार्ड वितरण गरिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण कोरियमा पहिलो पटक नेपाली सिनेमाको अवार्ड आयोजना हुने भएको छ। सोमबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै उक्त कुराको जानकारी दिइएको हो। सन् २०१८ को फ्रेवुअरीको दोश्रो हप्ता दक्षिण कोरियाको राजधानी सियोलमा हुने भनिएको उक्त ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’लाई गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, कोरिया(एनआरएनए कोरिया) र बक्स अफिस ग्रुप प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्। ‘कार्यक्रम व्यवस्थापन’को सम्पूर्ण कार्य संगिक्षा फिल्मस्ले गर्नेछ।

आयोजकले सन् २०१७ को जनवरी १ देखि डिसेम्बरसम्म रिलिज भएका नेपाली सिनेमालाई अवार्डमा सहभागिताका लागि दर्ता प्रक्रियामा सहभागी हुन आह्वान पनि गरेको छ। अवार्ड कुल २० विधामा प्रदान गरिने छ।

कार्यक्रममा पूर्व सांसद मोहन राइले अवार्डको लोगो अनावरण गरेका थिए। यस्तै, निर्देशक मिलन चाम्स, नायिका पूजा शर्मा, नायक हसनराजा खान र गायक यूवराज चौलागाइले संयुक्त रुपमा अवार्ड घोषणाको उद्घाटन गरेका थिए। अवार्ड समारोहमा सिनेमा क्षेत्रमा लामो समयदेखि सक्रिय रहदै योगदान पुर्याउने एक जना श्रष्टालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ। कार्यक्रममा बोल्दै आयोजक संस्था बक्स अफिस ग्रुपका जीएम बाबुराम लुइटेलले विदेशी बजारमा नेपाली सिनेमाको बजार विस्तारका लागि दक्षिण कोरियामा अवार्ड आयोजना गर्न लागिएको बताए।

यो अवार्डमा प्रदान गर्न लागिएका विधाहरुमा सिनेमा, निर्देशक, नायक, नायिका, सह–अभिनेता, सह–अभिनेत्री, नव–अभिनेता, नव–अभिनेत्री, नव–निर्देशक, खलपात्र, हास्य कलाकार, लेखन, पाश्र्व गायक, संगीतकार, गीतकार, छायांकार, सम्पादक, कोरियोग्राफर र द्धन्द्ध निर्देशक रहेका छन्। ‘बक्स अफिस ग्रुप’का निर्देशक यज्ञराज सेडाइले अवार्डलाई भव्य र सव्य रुपमा आयोजना गर्ने बताए। आयोजकले नँया बर्षको जनवरीमा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गर्ने बताएको छ।

यो अवार्डको जुरी संयोजकमा पत्रकार भरत शाक्य रहेका छन्। उनले, नँया तरिकाले यसपटक आफूहरुले चलचित्रको मुल्यांकन गर्ने भन्दै त्यसको बारेमा जानकारी पछि गराउने बताए।