शाहरुखको ५२ औं जन्मदिन, यी हुन बक्सअफिसमा धमाल मच्चाएका १० सिनेमा

शाहरुखको ५२ औं जन्मदिन, यी हुन बक्सअफिसमा धमाल मच्चाएका १० सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, आशिष ओली – बलिउड किङ खानको नामले परिचित शाहरुख खानको आज नोभेम्बर २ तारिखको दिन जन्मदिन परेको छ । हिजो राति शाहरुखले आफ्ना नजिकका सर्कलसँग अलिबागस्थित आफ्नो फामहाउसमा ५२ औं ‘बर्थडे इभ’ सेलेब्रेसन गरेका छन् ।

‘बर्थडे इभ’मा करण जोहर, कट्रिना कैफ, दीपिका पादुकोण, अलिया भट्ट, सिद्धार्थ मलहोत्रा, फराह खान लगायतका सेलेब्रेटीहरुको उपस्थित रह्यो ।

सन् १९९२ मा सिनेमा ‘दिवाना’बाट बलिउडमा अभिनय यात्रा तय गरेका शाहरुखले नवअभिनेता अवार्ड हात पारेका थिए । ‘विकीपिडिया’को जानकारी अनुसार २५ वर्षे करियरमा शाहरुखले विभिन्न विधामा २ सय ८४ अवार्ड हात पारिसकेका छन् । बलिउडको चर्चित फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड सर्वाधिक ८ पटक जितेका छन् । साथै, फिल्म फेयरका विभिन्न विधामा गरि शाहरुखले १५ अवार्ड जितेर अमिताभ बच्चनसँग बराबरी गरेका छन् । भारत सरकारले प्रदान गर्ने ‘पदमाश्री’ अवार्ड पनि हात पारेका शाहरुखले राष्ट्रिय अवार्ड भने अहिलेसम्म जितेका छैनन् ।

६० बढी सिनेमामा अभिनय गरिसकेका शाहरुखले बक्सअफिसमा थुप्रै हिट सिनेमा दिएका छन् । शाहरुख बिशेष गरि २१ सताब्दीको पहिलो दशकमा सर्वाधिक चर्चामा आएका थिए । सन् २००० देखि २००४ सम्मको पिरियडमा शाहरुखले बक्सअफिसमा एकतर्फी राज गरेका थिए ।

आज शाहरुखको जन्मदिन बिशेषमा ‘द सिनेमा टाइम्स’ले बक्सअफिसका केहि रेकर्डलाई खोतलेको छ । वर्ष भरि रिलिज हुने सिनेमाको बक्सअफिस कलेक्सनलाई आधार मानेर अन्त्यमा वर्षको सर्वाधिक ग्रसर अभिनेताको उपाधि दिइने प्रचलन अहिले पनि छ । त्यसैले, हामीले यहाँ शाहरुखले कुन-कुनमा बर्ष कुन सिनेमाबाट बक्सअफिस लिड गरेका थिए भन्ने जानकारी दिदैछौ ।

दिलवाले दुल्हनिया ले जाएंगे (१९९५): बलिउड डेब्यु गरेको ४ वर्षमै १९९५ मा यहिँ सिनेमाबाट शाहरुखले पहिलो पटक बक्सअफिस लिड गरेका थिए । यो सिनेमाले उतिबेला विश्वव्यापी १ सय २३ करोड कलेक्सन गरेको रेकर्ड छ । शाहरुखको करियरमै सर्वाधिक चलेको यो सिनेमा अहिले पनि भारतका केहि हलहरुमा प्रदर्शन छ । शाहरुख र काजोलको मुख्य भूमिका रहेको यो सिनेमालाई यो जोडीको सर्वाधिक रोमान्टिक सिनेमा मानिन्छ ।

दिल तो पागल हे (१९९७): शाहरुख खान, माधुरी दिक्षित, करिश्मा कपूर र अक्षय कुमार अभिनित यो सिनेमाले १९९७ मा वर्षकै सर्वाधिक कलेक्सन गरेको थियो । विश्वव्यापी करिब ७२ करोड कलेक्सन गरेको यो सिनेमामा गीतहरु अहिले पनि हिट छन् ।

कुछ कुछ होता हे (१९९८): ‘दिल तो पागल हे’बाट अघिल्लो वर्ष लिडीङ गरेका शाहरुखको ‘कुछ कुछ होता हे’ १९९८ को सर्वाधिक ग्रसर बन्यो । शाहरुख, काजोल, सलमान खान, रानी मुखर्जी अभिनित यो सिनेमाले विश्वव्यापी १ सय ७ करोड कलेक्सन गरेको थियो ।

मोहबतें (२०००): मल्टीस्टार यो सिनेमाले सन् २००० मा विश्वव्यापी ९० करोड कलेक्सन गर्दै वर्षको सर्वाधिक ग्रसर बनेको थियो । सिनेमामा शाहरुख सहित अमिताभ बच्चन र ऐश्वर्य राय बच्चन लगायत थुप्रै कलाकारको अभिनय छ ।

कभी खुसि कभी गम (२००१): शाहरुखको बेस्ट फ्यामिली ड्रामामा पर्ने यो सिनेमाले विश्वव्यापी १ सय ३६ करोड कलेक्सन गर्दै वर्षको सर्वाधिक ग्रसर बनेको थियो । सिनेमामा शाहरुखका अलावा अमिताभ बच्चन, जया बच्चन, काजोल, रानी मुखर्जी, करीना कपूर खान, ऋतिक रोशन लगायतका कलाकारको अभिनय छ ।

देवदास (२००२): यो शाहरुखको करियरको मात्र नभएर बलिउडकै लागि बेस्ट सिनेमा हो । बलिउडका लागि सदाबहार सिनेमाको उपमा पाएको यो सिनेमा वर्षको सर्वाधिक ग्रसर बन्दा विश्वव्यापी १ सय करोड कलेक्सन गरेको थियो । संजयलीला भन्साली निर्देशित यस लभस्टोरी सिनेमामा शाहरुखका अलावा ऐश्वर्य राय बच्चन, जया बच्चन, माधुरी दिक्षित लगायतका कलाकारको मुख्य भूमिका थियो ।

कल हो ना हो (२००३): यो सिनेमाले विश्वव्यापी ८६ करोडको व्यापार गरेको थियो । शाहरुख, प्रिती जिन्टा, सैफअलि खान, जया बच्चनको मुख्य भूमिका रहेको सिनेमाको शिर्ष गीत सदाबहार मानिन्छ ।

वीरजारा (२००४): यो सिनेमामा शाहरुखका अलावा प्रिती जिन्टा र रानी मुखर्जीको मुख्य भूमिका थियो । शाहरुखको करियर राम्रो सिनेमाको सुचीमा अटाउने यो सिनेमाले उक्त वर्ष ९८ करोड विश्वव्यापी कलेक्सन गरेको थियो ।

ओम शान्ति ओम (२००७): फराह खानले निर्देशन गरेको सिनेमाले उक्त साल विश्वव्यापी १ सय ५० करोड कलेक्सन गरेको थियो । यहिँ सिनेमाबाट दीपिका पादुकोणले बलिउड डेब्यु समेत गरेकी थिइन् ।

चेन्नई एक्सप्रेस (२०१३): यो सिनेमा बर्षको सर्वाधिक ग्रसर भने होइन । तर, शाहरुखको सर्वाधिक ग्रसर हो । ४ सय २३ करोड विश्वव्यापी कलेक्सन गरेको यो सिनेमाले २०१३ मा ४ वर्ष अगाडी देखि ‘थ्री इडीइट्स’को नाममा रहेको रेकर्ड तोडेको थियो । तर, वर्षको अन्तिममा प्रदर्शनमा आएको ‘धूम ३’ले केहि महिनामै ‘चेन्नई एक्सप्रेसको रेकर्ड तोडेको थियो । ‘धूम ३’ले विश्वव्यापी ५ सय ८५ करोड कलेक्सन गरेको थियो ।

स्रोत: विकिपिडिया 

शाहरुख खानलाई ‘द सिनेमा टाइम्स’को तर्फबाट जन्मदिनको सुभकामना