विदेशी सिनेमा शुक्रवारभन्दा पहिले नै रिलिज, नेपाली सिनेमालाई खोइ त शो?

विदेशी सिनेमा शुक्रवारभन्दा पहिले नै रिलिज, नेपाली सिनेमालाई खोइ त शो?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं –आउँदो शुक्रवार अर्थात् भदौ १ गतेदेखि नेपालमा तीन फिल्म रिलिज हुँदैछन् । एकैदिन पारेर  ब्ल्याक, मिस्टर भर्जिन र जय सम्भु प्रदर्शनमा आउँदैछन् । तर, एउटा असुहाउँदो प्रयोग के गरिएको छ भने  शुक्रवार बाटै रिलिज हुनुपर्नेमा हिन्दी चलचित्र ‘सत्यमेव जायते’ र ‘गोल्ड’ भोलिदेखि नै प्रदर्शनमा आउँदैछन् । अहिलेसम्म  शुक्रबार रिलिज हुन लागेका तीन नेपाली सिनेमाले मल्टिपेलेक्सहरुमा  न्युन शो पाएका छन् ।

यसरी विदेशी फिल्मलाई शुक्रवारभन्दा पहिले नै प्रदर्शन गर्न लागिएपछि नेपाली फिल्म निर्माताले आफूलाई घाटा हुनसक्ने महसुस गरेका छन् ।हलले हिन्दी र अंग्रेजी फिल्मलाई नेपाली फिल्मभन्दा अगाडि नै रिलिज गर्दा दर्शकले पहिले विदेशी फिल्म हेर्न पाउने भएपछि आफ्नो फिल्म हेर्न आउने सम्भावना अझ कम हुने बताएका छन् ।यता रिलिजका क्रममा रहेका तीनै नेपाली सिनेमाले भने तिनै हलमा ठूल्ठूला पोस्टर राखेर प्रचार गरिरहेका छन् ।

त्यसमाथि झन् रिलिज मितिभन्दा अघि नै विदेशी सिनेमा रिलिज गर्दा नेपाली सिनेमा घानमा पर्ने देखिन्छ । उसो त ठुला हिंन्दी र अंग्रेजी सिनेमासँग जुध्न नपरोस भनेर नेपाली सिनेमाका निर्माताले आफ्नो सिनेमाको रिलिज डेट तय गर्ने गर्दछन् ।तर सिनेमाहरु  शुक्रवार नै लगाउने भनेर वकालत गर्ने सरोकारवालाहरुले यसबारेमा केही बोलेका छैनन् ।हुन त एक किसिमले विदेशी सिनेमा पहिले चलाएपछि तिनै दर्शकले पनि नेपाली सिनेमा हेर्न सक्ने सम्भावना हुन्छ । तर व्यापारिक हिसाबले हेर्दा पहिले प्रदर्शन गरिएका सिनेमाले पहिले नै व्यापार गरिसक्छन् । त्यसपछि शुक्रवारसम्म पनि तिनै चलचित्रले बजार आफ्नो पकडमा पार्छन् । जसका कारण नेपाली सिनेमाको चर्चा नै हुन पाउँदैन ।

भारतमा चाडपर्व वा सार्वजनिक विदा परे भने  शुक्रवारभन्दा पहिले नै  सिनेमा प्रदर्शन गरिने चलन छ । यही कारणले अहिले भारतका दुई सिनेमा पनि बुधवार नै प्रदर्शन हुने भएका छन् । तर नेपालमा भने भारतीय पर्व वा सार्वजनिक विदाको सरोकार नै छैन । अहिले खासै चासोका रुपमा नलिइए पनि एकपछि एक गर्दै फिल्म जुधिरहने र विदेशी सिनेमालाई पहिले नै प्रदर्शन गरिने हो भने नेपाली सिनेमाका निर्मातालाई आफ्नो लगानी उठाउन अझै गाह्रो हुने कतिपय फिल्मकर्मीको दाबी छ ।तर, अहिले भने धेरैले यो विषयमा बोल्न चाहेका छैनन् । सरोकारवाला चुप छन् ।