पर्दामा नेपाली सिनेमाको दब्दबा !

पर्दामा नेपाली सिनेमाको दब्दबा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असोज ६ गते शुक्रबार नेपाली पर्दामा कुनै पनि नेपाली सिनेमा प्रदर्शनमा आएका छैनन् । मल्टीप्लेक्सका केहि पर्दामा बंगाली सिनेमा ‘यति’ प्रदर्शनमा आएको छ । यो बाहेक अन्य विदेशी सिनेमा पनि प्रदर्शन नहुँदा अघिल्ला सातामा रिलिज भएका नेपाली सिनेमालाई प्रत्यक्ष फाईदा पुगेको छ ।

 

भदौ ३० मा प्रदर्शनमा आएको ‘जोनी जेन्टलम्यान’ले दोस्रो साता तय गरेको छ । पहिलो साता डेढ करोड बढी ग्रस कलेक्सन गरेको सिनेमामा पल शाह र आँचल शर्माको मुख्य भूमिका छ । नितिन चन्द निर्देशित लभ, एक्सन सिनेमालाई एनड्रिउ पौडेल र अजय मल्लले निर्माण गरेका हुन् ।

त्यस्तै भदौ २३ गते रिलिज भएको सिनेमा ‘दुई रुपैयाँ’ सफलताको तेस्रो साता तय गरेको छ । असिम शाह निर्देशित सिनेमाले सुरुवाती दिन देखिनै मल्टीप्लेक्सका पर्दाहरुमा कब्जा जमाईरहेको छ । सिंगलमा सन्तोषजनक व्यापार गरेको सिनेमाले मल्टीप्लेक्समा भने राम्रै दर्शक तानीरहेको छ । बलिउड र हलिउडका कुनै पनि सिनेमा रिलिज नहुँदा ‘दुई रुपैयाँ’का मल्टीप्लेक्स शोज तेस्रो सातासम्म आईपुग्दा पनि ५० प्रतिशत भन्दा माथि छन् । यो सिनेमामा निश्चल बस्नेत, आसिफ शाह, बुद्दी तामाङ, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

झरना थापाको डेब्यु निर्देशन रहेको ‘ए मेरो हजुर २’ भदौ १६ गते प्रदर्शनमा आएको थियो । सुरुवाती दिनमा आक्रामक व्यापार  गरेको यो सिनेमा आजबाट सफलताको चौथों साता प्रवेश गरेको छ । पहिलो साता ५ करोड बढी ग्रस कलेक्सन गरेको सिनेमा चौथों सातामा केहि मल्टीप्लेक्स र सिंगल स्क्रिनमा प्रदर्शन भैरहेको छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको यस सिनेमामा सुनिलकुमार थापाको लगानी छ । ‘ए मेरो हजुर २’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, बुद्दी तामाङ, अनुभव रेग्मी, अनुराग कुँवर लगायतका कलाकारको अभिनय छ ।

कंगना रनाउत अभिनित ‘सिमरन’ दोस्रो साता तय गरेको छ । तर, समिक्षक र दर्शकबाट मिश्रीत प्रतिक्रिया पाएको सिनेमाको शोजलाई नेपाली सिनेमाले खुम्च्याईदिएका छन् । हंसल मेहता निर्देशित सिनेमाबाट कंगना अभिनयको चर्चा निक्कै भएको छ ।