पत्रकार गौतमलाई चलचित्र पत्रकार संघद्धारा संकलित सहयोग हस्तान्तरण

पत्रकार गौतमलाई चलचित्र पत्रकार संघद्धारा संकलित सहयोग हस्तान्तरण

द सिनेमा टाइम्स
0
Shares

फागुन २८ गते राती सिढीबाट लडेर टाउकोमा गम्भिर चोट लागेका चलचित्र पत्रकार संघ, नेपालका सदस्य निमेष गौतमलाई सोमबार चलचित्र पत्रकार संघले उनको उपचारका लागि संकलन भएको कूल १ लाख ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । अध्यक्ष सन्दिप सापकोटासहित पत्रकार संघका पदाधिकारीहरुले वीर उस्पतालको ट्रमा सेन्टरमा उपचारार्थ गौतमलाई उक्त रकम हस्तान्तरण गरेका हुन । पत्रकार गौतमलाई संघको पहलमा विभिन्न व्यक्तिहरुबाट उक्त रकम संकलन भएको हो ।

गौतमलाई कलाकार सरोज ओलीबाट ५०,००० रुपैयाँ, कलाकार लक्ष्मी गिरिबाट १६,००० रुपैयाँ, कलाकार तथा निर्माता कुशल थापाबाट १०,००० रुपैयाँ, निर्माता सुशील पोखरेलबाट १०,००० रुपैयाँ, निर्देशक शोभित बस्नेतबाट १०,००० रुपैयाँ, निर्देशक सौरभ ढकालबाट १०,००० रुपैयाँ, प्रसिद्धि सिने आर्ट्सका तर्फबाट निर्माता देवीप्रसाद पाण्डे र निर्देशक मधुसूदन भट्टराईबाट १०,००० रुपैयाँ, हास्य कलाकार उत्तम केसीबाट ५,००० रुपैयाँ, संगीतकार टंक बुढाथोकीबाट ५,००० रुपैयाँ, पत्रकारद्वय मनोज श्रेष्ठ र कुमार आचार्यबाट १०,०००–१०,००० रुपैयाँ प्राप्त भएको थियो । संघका अध्यक्ष सन्दिप सापकोटाले पत्रकार गौतमलाई रकम हस्तान्तरण गरेपछि उनको उपचारार्थ सहयोग गर्ने सबै सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गरेका छन् । त्यस्तै, पत्रकार गौतमले पनि आफ्नो उपचारका लागि सहयोग गर्ने सबै व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरे ।
फागुन २८ गते राती सिढीबाट लडि टाउकोमा गम्भिर चोट लागेको अवस्थामा राष्ट्रिय ट्रमा सेन्टरमा उनको आपतकालीन शल्यक्रिया गरिएको थियो । त्यसक्रममा डा. राजीव झाको टोलीले करिव तीन घण्टा लगाएर गहन शल्यक्रिया पश्चात पत्रकार गौतमको टाउकोमा जमेको रगत निकाल्न सफल भएका थिए । शल्यक्रियापछि करिव चार दिन आइ.सि.यू.मा राखेपछि गत चैत १ गतेदेखि उनलाई जेनरल वार्डमा सारिएको छ । उपचारमा संलग्न डाक्टरका अनुसार, पत्रकार गौतमलाई यसै हप्ता डिस्चार्ज गरिनेछ ।