केहि वर्षमै बलिउड र दक्षिण भारतीयको लेभलमा पुग्छौ- चन्द्र पन्त

केहि वर्षमै बलिउड र दक्षिण भारतीयको लेभलमा पुग्छौ- चन्द्र पन्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अमेरिकामा द्वन्द निर्देशन पढेर नेपाल आएका चन्द्र पन्त अहिले नेपाली सिनेमाका लागि लोकप्रिय भैसकेका छन् । ‘क्वान्टिटी’ भन्दा पनि ‘क्वालिटी’मा विश्वास गर्ने पन्तको करियर रेखा थापाको ‘रावन ‘ देखि लिएर अहिले अनमोल केसी ‘कृ’मा आईपुगेको छ ।

यो विचमा यिनले ५५ देखि ६० सिनेमामा द्वन्द निर्देशन दिईसकेका छन् । छविराज ओझाले ‘रावन’बाट भित्र्याएर आफ्ना ‘हवल्दार सुन्तली’, ‘किस्मत २’, ‘हमेशा’मा लगातार लिईरहे । जुन सिनेमा बक्सअफिसमा हिट हुनुका साथै चन्द्रको द्वन्दका कारण पनि चर्चामा आए । अहिले ‘कृ’कै चर्चा छ ।

नेपाली सिनेमामा लभर ब्वायको रुपमा स्थापित अभिनेताहरु एक्सनमा खासै जमेको देख्न पाईदैन । तर, लभर ब्वाय अनमोल केसी ‘कृ’मा एक्सन अवतारमा देखिदैछन् । सिनेमाको ट्रेलरबाटै अनमोलको एक्सन ‘लूक्स’ दर्शकले रुचाईसकेका छन् । पर्दामा अनमोललाई प्रमाणित गर्ने काम भने पर्दा पछाडीबाट पन्तले नै गरे । पन्तले अनमोललाई ६ महिनासम्म एउटै घरमा दिनको ३ घण्टा एक्सन ट्रेनिङ गराएका थिए । उनि भन्छन ‘कृ’ जस्तो टिम भएर आफ्नो क्षमता देखाउन र दर्शकलाई बुझाउन सजिलो भयो । मैले सोचे जस्तो एक्सन ‘कृ’मा देखाउन पाए । जसमा निर्माताहरुले सहयोग गर्नु भयो । अनमोल मेहनत गरेर प्रस्तुत भैदिनु भयो । त्यसैको नजिता अहिले आईरहेको छ ।’

उनले अनमोलजस्तो मेहनत गर्ने कलाकार अहिलेसम्म नेपाली सिनेमामा नदेखेको बताए । ‘अनमोल आफैमा एउटा स्टार हो । मेहनतकै कारण उ स्टार भएको हो । मैले सोचेको पनि थिएन अनमोलले यति धेरै दिन सक्छ भनेर । बलिउडमा सलमान, सारुख र आमिरले पनि त्यतिकै मेहनत गर्छन । अनमोलले पनि कतिसम्म मेहनत गर्न सक्छ भन्ने मैले बुझीसकेको छु । उ राम्रो काम दिनलाई आफ्ना सबै चाहनाहरु भुल्न सक्छ । त्यसैले म त भन्छु नेपालमा अहिलेसम्म अनमोल जस्तो स्टार जन्मेको छैन ।’

नेपाली सिनेमाको एक्सनमा पन्तलाई ट्रेन्ड चेन्जरको रुपमा हेर्ने गरिन्छ । तर, यो विषयमा आफुलाई थाहा नभएको बताउछन पन्त ! ‘सुरुवात देखि नै सिनेमा क्षेत्रमा केहि भिन्न गर्छु भनेर आए । आफ्नो गुरुहरुको फाइट हेर्दा सबै एक्सन एकै किसिमको लाग्थ्यो । जो एक्सन हेर्दा हेर्दा ‘बोरिङ’ हुन्थ्ये । म दर्शकलाई पनि आफु जस्तै मान्छु । त्यसैले एक्सनमा केहि परिवर्तन गर्नु भनेर अमेरिकामा पढे । अब यसैलाई ट्रेन्ड चेन्जर भन्नु हुन्छ भने त्यसमा खुसि छु !’ 

पन्त अब द्वन्द निर्देशनसँगै निर्देशकको रुपमा पनि दर्शक माँझ आउदैछन् । उनले पहिलो पटक निर्देशन गरेको भुजपुरी सिनेमा ‘निरहुवा चलल लण्डन’ पनि उत्तिकै चर्चामा छ । भोजपुरी सिनेमाको इतिहाँसमै महँगो बजेटमा निर्माण भएको सिनेमाको टिजर पनि सार्वजनिक भैसकेको छ । जहाँ पन्तको एक्सन भरपुर देखाईएको छ । यो सिनेमा नेपालको मुस्ताङ, काठमाडौँ, मुम्बई र लण्डनमा छायाँकन गरिएको छ । पन्त भन्छन ‘भोजपुरी सिनेमा क्षेत्र दर्शकको मामिलामा बलिउड पछीकै दोस्रो हो । साउथ इन्डियनका दर्शक भन्दा भोजपुरीका धेरै छन् । मात्र भोजपुरी माथि उठ्न सकेको छैन ।’ ‘निरहुवा चलल लण्डन’ले भोजपुरी सिनेमा क्षेत्रमा इट्टा थप्ने विश्वास पन्तको छ । ‘निरहुवा चलल लण्डन’ भुजपुरीसँगै हिन्दी भाषा पनि तयार हुनेछ । हिन्दी भाषाको लागि स्याटेलाइट राइट वल्डवाइड सिनेमा डिष्ट्रीब्युर्टसले किनेको छ ।

नेपाली सिनेमामा अन्य द्वन्द निर्देशकको जस्तै पन्तको पनि एउटै गुनासो छ । ‘नेपाली निर्माताहरुले एक्सनमा राम्रो बजेट र उपकरण उपलव्ध गराउन सक्दैनन् । जसले गर्दा मैले आफुमा भएजति प्रतिभा प्रस्फुटन गर्न सकेको छैन । पछिल्लो समय ‘कारखाना’, ‘लिलिबिली’, र ‘कृ’मा मैले सोचेजस्तो काम देखाउन पाएको छु ।’

नेपाली सिनेमामा जहिले एक्सन दृश्य कमजोर मानिन्छन । बलिउड, हलीउड र दक्षिण भारतीय सिनेमाका खतरनाक एक्सन हेरेका दर्शकले नेपाली सिनेमामा एक्सन टेक्निक नभएको गुनासो गर्छन । तर, चन्द्र भन्छन ‘हामी टेक्निकमै अगाडी छौ । मात्र त्यो टेक्निक दर्शक माझ ल्याउने निर्माता/निर्देशकको खाँचो छ । एक्सन भन्नाले हात र खुट्टाले हान्ने मात्रै नभई टेक्नीक लगाउनु पनि हो । जस्तै साउथले दन्द्ध निर्देशन बलिउडको लिन्छ । तर, केबलको काम गर्ने वा स्पोर्टमा काम गर्ने स्टन्टम्यानहरु, स्टन्ट डाइरेक्टर चाहिं चाइनिज, भियतनाम र हलिउडको ल्याउने भएको उनिहरु टेक्नीकल्ली रुपमा बलियो हुन्छन । हामि पनि उनिहरु तुलनामा धेरै तल छैनौ, लगभग उनीहरुको नजीक छौ । मेहनत गरे र सिनेमाको बजेटमा ‘कम्परमाइज’ नगर्ने निर्माताहरु आए केहि वर्षमै हामी पनि बलिउड र दक्षिण भारतीय सिनेमाको लेभलमा पुग्न सक्छौ ।’

अब पन्तको द्वन्द निर्देशनसँगै सिनेमा निर्देशनमा पनि जम्ने सोच छ । पन्तको एक्सन रहेको ‘कृ’ माघ २६ मा रिलिज हुदैछ । उनि ‘निरहुवा चलल लण्डन’को प्रदर्शन पश्चात नयाँ सिनेमा निर्देशन गर्दैछन् ।