युट्युब रिलिजपछि ‘धनपति’ ले कस्तो प्रतिक्रिया पायो ?

युट्युब रिलिजपछि ‘धनपति’ ले कस्तो प्रतिक्रिया पायो ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केही दिन भयो, युट्युबमा सिनेमा ‘धनपति’ ले राम्रो चर्चा कमाएको छ । रिलिज गरिएका पछिल्लो सिनेमामध्ये अहिले चर्चामा रहेको सिनेमा यही हो भन्दा फरक पर्दैन । केही हप्तापहिले युट्युबमा सार्वजनिक गरिएको झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’ को पनि युट्युबमा तारिफ गरिएको थियो ।

खगेन्द्र लामिछाने र सुरक्षा पन्त अभिनित चलचित्र ‘धनपति’ ले युट्युबमा राम्रो तारिफ पाएको हो । हलमा मिश्रित प्रतिक्रिया पाएको यो सिनेमालाई युट्युबमा भने दर्शकले रुचाएको प्रतिक्रिया दिएका छन् । यो समाचार तयार पार्दासम्म सिनेमालाई २१ लाख भन्दा बढीले हेरिसकेका छन् भने २ हजार ७ सयभन्दा बढी कमेन्ट गरिएका छन् ।

दीपेन्द्र के. खनाल निर्देशित सिनेमा ‘धनपति’ को तारिफ गर्दै युट्युबमा खगेन्द्र थापा मगर लेख्छन्, ‘यो सिनेमाले केही ठूलो सन्देश छोडेको छ, राम्रो लाग्यो सिनेमा, अर्को सिक्वेल पनि बनाउनुपर्छ ।’

अर्का एक प्रयोगकर्ताले सिनेमाले मन छोएको प्रतिक्रिया दिएका छन् भने अर्का एक युट्युब प्रयोकर्ताले चाहिँ क्लाइमेक्स मन नपरेको लेखेका छन् ।

‘फोहोर राजनीतिलाई सिनेमामा राम्रोसँग देखाइएको छ, साँच्चिकै राम्रो सिनेमा, धन्यवाद धनपति टिम ।’, एद्सी श्रेष्ठले युट्युबमा कमेन्ट गरेकी छिन् । यस्तै मन परेको भन्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो सिनेमाले नेपालमा पनि स्तरीय र क्षमतावान् निर्देशक छन् भन्ने साबित गरेको छ ।’

कसैले यो सिनेमालाई हेर्नैपर्ने सिनेमा भनेर तारिफ गरिरहेका छन् भने कतिपयले भने सिनेमाका कमजोरी पनि औंल्याएका छन् । ‘साँच्चिकै गज्जब फिल्म, लेखक र कलाकारलाई सलाम, आश्चर्यलाग्दो सिर्जना ।’, तेरेसा सन्नीले कमेन्ट छोडेका छन् ।

खगेन्द्र लामिछानेले लेखेको कथामा सुरक्षा पन्त, आशान्त शर्मा, खगेन्द्र लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ । यो सिनेमाले नेपालको वर्तमान राजनैतिक चित्रण र राजनीतिले सामान्य व्यक्तिको जीवनमा निम्त्याउने समस्यालाई उजागर गरेको छ ।