आवरणबाटै पुरै किताबको मुल्यांकन नगरिदिनुस् – दयाहाङ राई

आवरणबाटै पुरै किताबको मुल्यांकन नगरिदिनुस् – दयाहाङ राई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पुष २८ गते प्रदर्शनमा आउँन लागेको सिनेमा ‘मिस्टर झोले’ अहिले प्रचारको उत्कर्षमा छ । सार्वजनिक प्रचार सामाग्रीले सकारात्मक चर्चा पाएपछी निर्माण टिम उत्साहित हुँदै सिनेमा प्रचारको लागि दौडधुपमा छ ।

यसैक्रममा मंगलबार राजधानीमा सिनेमाको बारेमा भलाकुसारी गर्दा अभिनेता दयाहाङ राईसहित दुई निर्माता रौनकविक्रम कँडेल र टेकेन खड्काले क्यामरासामु मिडियाका जिज्ञासा मेटाए । प्राय: जसो सिनेमाको प्रचारमा खासै नदेखिने दया ‘मिस्टर झोले’को प्रचारमा भने अन्यको तुलनामा अलि तल्लिन भएरै लागेका छन ।

मंगलबार मिडियासामु जिज्ञासा मेटाउने क्रममा दयाले ‘मिस्टर झोले’ ‘झोले’ र ‘कबड्डी’को सिक्वेल नभएको भन्दै आफ्नो कुरा विश्वास गर्न दर्शकलाई आग्रह गरे । हुन् पनि ‘मिस्टर झोले’ टिमलाई अघिल्लो हिट ब्याण्डको फ्लेवर बेचेको आरोप छ । तर, दयाले आवरण हेरेर पुरै किताबको बारेमा नबोल्न आग्रह गरे । ‘दुवैले कालो रंगको टोपी लगाउँदैमा दुवैको ब्राण्ड, मुल्य एउटै हुँदैन । ‘कबड्डी’ र ‘झोले’कै मेकरबाट ‘मिस्टर झोले’ टिम बनेको छ । त्यसैले बाहिरबाट ति सिनेमासँग मिल्छ कि भन्ने लागेको हो । तर, ‘मिस्टर झोले’का पात्रहरुको समवेदना, सामाजिक पृष्ठभूमि फरक छन्, कथाबस्तु फरक छ ।’ दयाले भने ।

त्यस्तै दयाले आफुलाई लागेको ‘स्टेरियोटाईपिङ’ र कथा छान्न नजान्ने अभिनेताको आरोपलाई पनि खण्डन गरे । ‘यहाँ मैले कति गर्न सक्छु भने मिडियालाई पनि थाहा छ । मिडियालाई मेरो बारेमा के थाहा छ, भन्ने कुरा पनि मैले बुझिरहेको छु । तर, यहाँ जीवन चलाउनलाई आफुले सोचेको जस्तो काम दिन पाईदैन । व्यवसायिक सिनेमा गर्दा आफ्नो अघिल्लो चलेको पात्रलाई नै निर्देशकले उतार्न लगाउनु हुन्छ । नयाँ कुरामा उहाँहरु जोखिम मोल्न चाहनुहुन्न । त्यसले हामी ‘स्टेरियोटाईपिङ’को आरोपमा पर्छौ । कति त आफुले थाहा पाएरै पनि पैसाकै लागि सिनेमा खेल्ने गरिन्छ । ‘स्टेरियोटाईपिङ’को आरोप लगाउनु अघि मैले गरेका ‘सेतो सुर्य’, ‘तान्द्रो’ जस्ता सिनेमालाई पनि मुल्याकन गरिदिने पो होकी ।’

रामबाबु गुरुङ निर्देशित सिनेमामा दयाका अलावा वर्षा राउत, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ । रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।