‘मिस्टर झोले’मा काम गर्दा प्रियंकालाई ‘मिस’ गरेँ’: दयाहाङ राई

‘मिस्टर झोले’मा काम गर्दा प्रियंकालाई ‘मिस’ गरेँ’: दयाहाङ राई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नायक दयाहाङ राई पौष २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर झोले’बाट आशावादी देखिएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले आफूले पाएको कथावस्तु र भूमिका भित्र रहेर काम गरेको बताए । रामबाबु गुरुङको निर्देशन, टेकेन खड्काको निर्माणमा तयार भएको यो चलचित्रले समाजभित्र रहेका केहि पात्रको कथा भन्छ । रौनक विक्रम कँडेल कार्यकारी निर्माता रहेको चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने धेरैको आशा पनि छ । ‘मिस्टर झोले’ र दयाको करिअरको बिषयमा रहेर अनलाइनखबरले उनीसँग कुराकानी गरेको छः

१. झोलेभन्दा मिस्टर झोलेके कुरामा फरक छ ?
यो पुरै फरक छ । ‘झोले’ २ जनाको कथामा तयार भएको डार्क कमेडी चलचित्र थियो । यो सामाजिक कमेडी कथामा छ । कुनै मान्छेलाई जब समाजले कुनै न कुनै किसिमले तल पार्न खोज्छ, त्यसपछि उत्पन्न हुने परिस्थितीको कथामा यो चलचित्र तयार भएको छ ।

२. चलचित्रको ट्रेलर सार्वजनिक भएपछि धेरैले यसलाई कबड्डी कबड्डीको स्वादमा आयो भने नी, चलचित्र के कुरामा कबड्डी कबड्डीको स्वादबाट पर छ ?
एउटै मेकरले चलचित्र बनाएकाले पनि त्यो स्वाद आउन सक्छ । तर, हामीले चलचित्र छायांकन गर्दा त्यो महुशश गरेनौ । दर्शकले पनि चलचित्र हेरिसकेपछि त्यो महुशश गर्नुहुन्न भन्ने मलाई लागेको छ ।

३. ट्रेलरको मेकिङ अझ, फरक शैलीमा हुन सक्थ्यो भन्ने तपाइलाई लाग्छ ?
त्यो त मेकरको कुरा हो । हरेक कुरालाई हेर्ने मानिसको आ-आफ्नो दृष्टिकोण हुन्छ । ‘मिस्टर झोले’को टिमले यहि सोचले अगाडि बढ्दा राम्रो हुन्छ भनेर त्यही अनुसारको प्रचार सामाग्री बनाएको हो ।

४. यो चलचित्रमा तपाइको जोडी दिया पुन हुनुहुन्छ । झोलेजोडी प्रियंका कार्कीलाई कत्तीको मिस गर्नुभयो ?
त्यो त गरिहालिन्छ नी । नाम उस्तै भएकाले ‘झोले’को टिमलाई मिस गर्नु स्वभाविक नै हो । प्रियंकाजी मात्र होइन, मैले ‘झोले’का निर्देशक, निर्माता, प्राविधिक, अन्य सहकर्मी साथीहरु सबैलाई मिस गरे ।

५. तपाइको भाषामा मिस्टर झोलेकस्तो चलचित्र हो ?
यो एकदमै सामान्य चलचित्र हो । यसले गम्भिर कथा उठाएको छ भन्ने होइन । कुनै समाजको कथालाई निकै रोचक तरिकाले उठान गरिएको छ । भोली दर्शकले चलचित्र हेरिसकेपछि, चलचित्र भित्रका पात्रहरुलाई किन उठान गरियो भनेर पक्कै सोच्नुहुनेछ । चलचित्रको पूर्ण अवधि दर्शकले मनोरञ्जन लिनुहुनेछ ।

६. अब, प्रसंग बदलौ । दयालाई दर्शकले गाउँले परिवेशमा नै बढी हेरे, अब आफ्नो भूमिका परिवर्तन गर्नुपर्छ भन्ने लागेको छैन ?
त्यो त मलाई मात्र होइन, हरेक कलाकारलाई नै लाग्छ नी । तर, अफर नै नआएपछि के गर्ने ? यो त निर्देशक, निर्माताको सोच हो नि होइन र ? अब, उहाँहरुले मलाई जुन तरिकाले प्रस्तुत गर्न चाहुनुहुन्छ, म सोही अनुसार ढल्ने न हो ।

७. दयाहाङ जुन भूमिकामा चल्नुभयो, सबैले सोही भूमिकामा नै खोजिरहे । तपाइमाथि जोखिम उठाउन खोजिएन कि तपाइले नै चाहनुभएन ?
यहाँ, एउटा चलचित्र चल्यो, एउटा पात्र चल्यो भने त्यसैको पछाडि दौडने चलन छ । कसलाई लागेको थियो कि ‘लुट, कबड्डी’ चल्छ भनेर ? तर, यी चलचित्र चलेपछि यस्तै चलचित्र बनाउनेतिर धेरैको सोच गयो । मलाई पनि सोहि अनुसार नै प्रस्तुत गर्ने कोशिश गरिएको छ । जोखिम लिन सकिएन । एउटा कलाकारको नाताले त जहिले पनि फरक भूमिकामा काम गरौ भन्ने सोच हुन्छ । मलाई पनि त्यो सोच नआएको होइन ।

८. अन्त्यमा, ‘मिस्टर झोलेहेर्न दर्शक हलमा किन आउनुपर्छ ?
म भन्दिन कि चलचित्र एकदमै फरक बनेको छ । तर, रमाइलो बनेको छ । मैले कथा भित्र रहेर काम गरेको छु । मैले आफ्नो क्षमता देखाउने कोशिश गरेको छु । अब, दर्शकले त्यसलाई स्विकार गर्नुहुन्छ भन्ने आशा छ ।

साभार: अनलाइन खबर