बन्दको प्रभावमा ‘डमरुको डण्डीबियो’को सुखद ओपनिङ

बन्दको प्रभावमा ‘डमरुको डण्डीबियो’को सुखद ओपनिङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘डमरुको डण्डीबियो’ले सुरुवाती सुखद व्यापार गरेको छ ।

पहिलो दिन बस व्यवसायीको बन्दका कारण ५० प्रतिशत माथि अकुपेन्सी कायम गरेको सिनेमाको शनिबार देशभरका हलमा ८० प्रतिशत माथि अकुपेन्सी रह्यो । दोस्रो दिन पनि माओवादीको बन्दको हल्लाका वावजुत राजधानीमा सिंगल र मल्टिप्लेक्सका सिट हाउसफुल रहेको वितरक गोविन्द शाहीले जानकारी दिए ।

‘बन्दको हल्लाले शनिबार विहानका केहि शोज प्रभावित बनेपनि दिउँसोका प्राय: शोज हाउसफुल भए । गंगा, गुण, गोपीकृष्ण, अष्टनारायणजस्ता हलमा दर्शकको ओभरफ्लो हुँदा मल्टिप्लेक्स अन्तर्गतका क्युएफएक्स, एफक्युब, सिने डी सेफ, बीएसआर, क्युज सिनेमाका अधिकाँस शोज हाउसफुल भएका छन् । यसलाई सुखद मान्न सकिन्छ ।’ उनले भने ‘सिनेमाको दर्शक प्रतिक्रिया पनि राम्रो भएकाले आगामी दिनमा व्यापार बढ्ने आशा छ ।’

दर्शक प्रतिक्रिया बुझ्न शनिबार बेलुका गोपीकृष्ण, अष्टनारायण, कुमारी, जयनेपाल लगायतका हलमा सिनेमाका मुख्य कलाकार खगेन्द्र लामिछाने र अनुप बराल पुगेका थिए । जहाँ दर्शक प्रतिक्रियाले उत्साहित बनाएको खगेन्द्र र अनुपले बताए ।

‘प्रत्येक सिनेमामा फरक विषयबस्तु र अवतारमा प्रस्तुत हुँदै आइरहेको छु । यसपटकको विषय र अभिनय दर्शकले मन पराउनु हुन्छ की हुदैन भन्ने डर थियो । दर्शकको उत्साहित प्रतिक्रिया आगामी दिनमा अझ राम्रो गर्ने उर्जा दिएको छ ।’ खगेन्द्रले भने ।

छेतेन गुरुङ  निर्देशित सिनेमाले पढाई सकेर लोपोन्मुख डण्डीबियो खेललाई पुनर्जागरण गर्न गाउँ पसेको कथा पस्केको छ ।

‘डमरुको डण्डीबियो’लाई समिक्षक मिश्रीत प्रतिक्रिया दिँदा दर्शकले भने अत्याधिक रुचाएका छन् । जसले गर्दा आगामी दिनमा माउथ पब्लिसिटीले सिनेमाको व्यापार राम्रो हुने अनुमान गरिएको छ ।

सिनेमामा खगेन्द्र र अनुपका अलावा मेनुका प्रधान, बुद्दी तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

‘डमरुको डण्डीबियो’मा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । भने, खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।