दोस्रो साता पनि ‘छक्का पन्जा २’ मय देशभरका हल !

दोस्रो साता पनि ‘छक्का पन्जा २’ मय देशभरका हल !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ  असोज ११ बाट प्रदर्शनमा आएको सिनेमा ‘छक्का पन्जा २’ले उत्साहजनक व्यापारलाई निरन्तरता दिईरहेको छ । दशैंको एक हप्ते लामो विदाले गर्दा सिनेमा हेर्न हलमा दर्शकको भिड लागेको छ ।

अघिल्लो भागको लोकप्रियता र सफलताको कारण ‘छक्का पन्जा २’ प्रतिक्षित थियो । उसको ब्राण्ड भ्यालुको फाईदा ‘छक्का पन्जा’ले भरपुर उठाउँन सफल भएको छ । नेपाली सिनेमा खासै नहेर्ने दर्शकलाई पनि ‘छाक्का पन्जा २’ले हलसम्म तानीरहेको छ । ‘छक्का पन्जा’ सिरिजले नेपाली सिनेमाको बजारलाई फराकिलो बनाउँदा सिने क्षेत्रलाई प्रत्यक्ष फाईदा पुगेको सिनेकर्मीका गन्थन सुनिन थालेका छन् ।

फुलपातिको अवसर पारेर बुधबारै रिलिज भएको सिनेमाले पहिलो दिनको व्यापारमा किर्तिमान कायम गरेको थियो । डेढ करोड बढी ग्रस कलेक्सन पहिलो दिनको लागि नेपाली सिनेमाको इतिहाँसमै उच्च हो । गत वर्ष रिलिज भएको ‘छक्का पन्जा’ले पहिलो दिन झन्डै ३५ लाखको कलेक्सन गर्न सफल भएको थियो ।

सिनेमाको व्यापारबाट उत्साहित हुँदै निर्देशक दीपाश्री निरौलाले यहिँ रेसमा कलेक्सन भए ‘छक्का पन्जा’को रेकर्ड तोड्ने बताइन । ‘छक्का पन्जा’ले १६ करोड बढी ग्रस कलेक्सन गरेर रेकर्ड कायम गरेको थियो । ‘छक्का पन्जा’ले सय दिनमा कमाएको पैसा यो सिनेमाले २० दिनमै कमाउँने वितरकहरुले बताईराछन ।’ दीपाले भनिन् ।

अभिनेता तथा पटकथाकार दीपकराज गिरीले ‘छक्का पन्जा’को रेकर्ड तिहार अघिनै तोडिने कुरा गरे । ‘पहिले ‘छक्का पञ्जा’ को व्यापार जनकपुर–जयनगर रेलको गतिमा थियो भने यसपटक बुलेट ट्रेनको गतिमा गरिरहेको छ ।’

देशभरका सिंगल र मल्टीप्लेक्समा हाउसफुलका साथ दोस्रो सातामा प्रदर्शन भैरहेको सिनेमाको एक हप्ते कलेक्सनमा भने एकरुपता आएको छैन । बिभिन्न मिडियामा वितरक, निर्माता र निर्देशकको ‘बाइट’मा आएका थरी-थरीका कलेक्सनले गर्दा सिनेमाको वास्तविक कलेक्सन कुन भनेर विश्वाश गर्न गाह्रो भैरहेको छ ।

विकाशराज आचार्य र सामिप्यराज तिमिल्सिनाको कथा रहेको सिनेमामा प्रियंका कार्की, दीपकराज गिरी, बुद्दी तामाङ, लक्ष्मी गिरी, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ ।