‘चंगाचेट’ को सुखद ओपनिङ, कस्तो छ प्रतिक्रिया?

‘चंगाचेट’ को सुखद ओपनिङ, कस्तो छ प्रतिक्रिया?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हिजो शुक्रवारदेखि प्रदर्शनमा आएको सिनेमा ‘चंगाचेट’ ले शुक्रवार र शनिवार सुखद ओपनिङ गरेको छ । सिनेमाले काठमाडौंका प्रायः हलमा हाउसफूल रहेको निर्माण टिमले जानकारी गरायो ।

निर्देशक दीपेन्द्र के. खनालका अनुसार सिनेमाले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । खासगरी सिनेमाको कमेडी पक्षलाई दर्शकले रुचाएका छन् । काठमाडौंका हलमा सिनेमाले राम्रो दर्शक पाएको र मोफसलबाट पनि राम्रो प्रतिक्रिया आएको निर्देशक खनालले बताए । ‘काठमाडौंको सिङ्गल थिएटरदेखि मल्टिप्लेक्स हलसम्म आज हाउसफूल भए ।’, उनले भने ।

डार्क कमेडी विधाको यो सिनेमाले हुने खाने र हुँदा खाने बीचको कथालाई उठान गरेको छ । सिनेमामा पछिल्लो समय चर्चामा रहेका कलाकारको अभिनय छ । प्रियंका कार्की, सन्दीप क्षेत्री, परमिता राणा, सुरक्षा पन्त, आयुष्मान देशराज जोशी, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको सिनेमामा अर्पण थापा, वेनिषा हमाल, ज्याक श्रेष्ठ, शिशिर बाङ्देल, सरिता गिरी, निश्चल बस्नेत, माओत्से गुरुङ, कमल देवकोटा लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

सिनेमालाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् भने प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमाको गीत ‘गोजीमा दाम छैन’ ले रिलिजदेखि नै राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।