बाढी, पहिरो पिडितलाई महजोडी, पूजा र दीपकको १-१ लाख, सिनेकर्मीद्वारा चिन्ता व्यक्त !

बाढी, पहिरो पिडितलाई महजोडी, पूजा र दीपकको १-१ लाख, सिनेकर्मीद्वारा चिन्ता व्यक्त !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । देशमा दुई दिन देखि परेको अविरल वर्षाले थुप्रै जनधनको क्षति भएको छ । मुख्य गरेर तराई र चुरे क्षेत्रमा वर्षा उच्च छ । दिउँसो ३ बजेसम्मको समाचार अनुसार देशभर बाढी, पहिरोबाट ५० बढीको ज्यान गुमेको छ । भने, ३ दर्जनको हारहारीमा मानिस व्यपत्ता भएका छन् ।

देशभर तराईका अधिकाँस जिल्ला जलमग्न हुँदा ३५ सय भन्दा धेरै परिवार विस्तापित भएका छन् । देशमा विपत्ति भैरहँदा सरकारले आफ्नो तर्फबाट उद्दार र सहयोगको कदम चाल्दैछ । यसैविच देश विपत्तिको बेला प्रकोप क्षति पिडितलाई सहयोगका लागि नेपाली सिनेकर्मीले पनि हात बढाएका छन् ।

अहिलेसम्म अभिनेत्री पुजा शर्मा र अभिनेता दीपकराज गिरीले १/१ लाख सहयोगको घोषणा गरेका छन् । दीपकराजले फेसबुकको ‘एमआरआर’ ग्रुपको माध्यमबाट १ लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै पुजाले बाढी पिडितका लागि ड्राइफुड र लत्ताकपडाको व्यवस्था गरिरहेको र आफ्नो तर्फबाट १ लाख सहयोग गर्ने फेसबुकमा स्टाटस लेखेकी छन् ।

महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले मह संचारको तर्फबाट १ लाख सहयोग गर्ने भएका छन् । फेसबुकमा स्टाटस लेख्दै अहिलेलाई एक लाख सहयोग र बाँकी विस्तारै सहयोग अघि बढाउँने जानकारी दिएका छन् । साथै दीपकराज गिरीले मह जोडीसँगको सहकार्यमा बैंकमा राहत खाता खोल्न लागेको जानकारी सहितको स्टाटस पोस्ट गरेका छन् ।

हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले पनि ‘मोरङ समाज’को माध्यमबाट नगद ५१ हजार सहयोग गरेकी छन् । भने, अभिनेत्री प्रियंका कार्कीले पनि नगद ५१ हजार सहयोग गर्ने बताएकी छन् । चलचित्र कलाकार संघ, नेपालले पनि बाढी पीडितहरुका लागि ६५ हजार नगद सहयोग गर्ने निर्णय गरेको छ । अध्यक्ष रामकेशर बोगटीका अनुसार ‘प्रधानमन्त्री दैविक प्रकोप कोष’मा ६५ हजार नगद सहयोग गर्ने निर्णय गरिएको हो ।

सामाजिक संजालमा सिनेकर्मी पोखियो दुखेसो:

देश प्राकृतिक प्रकोपबाट रुँदा सामाजिक संजालमा नेपाली सिने क्षेत्र पनि रोएको छ । फेसबुकमा विभिन्न सिनेकर्मीले यस्तो बेलामा सरकारको मुख ताक्नु भन्दा पनि आफै सहयोग र उद्दारमा हातेमालो गर्नु पर्ने बोलिहरु पोस्टिएका छन् । साथै बाढी, पहिरो पिडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धताहरु पनि पोस्ट भैरहेका छन् । केहि सिनेकर्मीले व्यक्तिगत तथा संस्थागत सहयोग र उद्दार गर्ने क्रम जारी छ ।