कमजोर बन्दै अभिनेत्री !

कमजोर बन्दै अभिनेत्री !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । पछिल्लो समय अभिनेत्री नै मुख्य भूमिकामा प्रस्तुत भएका फिल्मले पनि दर्शक रिझाउन थालेका थिए । त्यसैले गत बर्ष  बलिउडमा महिला केन्द्रित फिल्म बनाउने निर्माताहरुको कमि रहेन ।

यसको असर ०१७ को सुरुवातमै पर्यो । बर्षको ग्रिष्मकालिन मौसममा महिला प्रतिनिधित्व गर्ने १० को हारहारीमा फिल्म प्रदर्शन भए । तर, कुनै पनि फिल्मले सुखद व्यापार गर्न सकेनन् । चार महिनाको बीचमा रिलिज भएका करिब ५० प्रतिशत फिल्ममा अभिनेत्रीलाई नै मुख्य भुमिकामा देख्न पाइयो ।

तपसी पन्नु मुख्य भूमिकामा रहेको महिला केन्द्रित फिल्म ‘रनिङ शादी’ले बर्षको सुरुवात गर्यो । तर, बक्सअफिसमा पुरै असफल रह्यो । तपसीकै ‘द घाजी अट्याक’ले पनि राम्रो व्यापार गर्न सकेन । आफ्नै स्टारडममा पहिलो १०० करोड क्लबको फिल्म दिएकी बलिउड ‘क्विन’ कंगना रनाउत अभिनित ‘रंगुन’ले पानि माग्न पाएन । सैफअलि खान र साहिद कपुर जस्ता स्टार लिएर बनाइएको फिल्मले लगानीको ३० प्रतिशत पनि बचाउन सकेन ।

महिला प्रधान फिल्ममा आफुलाई स्थापित गरिसकेकी विद्द्या वालन अभिनित ‘बेगम जान’पनि दर्शक रिझाउन सकेन । गौहर खान, पल्लवी शारदाले अभिनयबाट चर्चा पाएपनि फिल्मबाट निर्माताले गोजी भर्न पाएनन । स्वरा भास्कर अभिनित ‘अनारकली अफ आरह’ले क्रिटिक्सबाट तारिफ बटुले पनि दर्शक हलसम्म पुगेनन । यो फिल्मबाट स्वरा भास्करको अभिनयले चौतर्फी चर्चा पायो । फिल्मले ‘स्टेजमा नाच्ने युवतीको कथा पस्केको थियो ।’

अनुष्का शर्मा स्टारर ‘फिलौरी’ले पनि बक्सअफिसमा सोचे अनुसारको व्यापार गर्न सकेन । सोनाक्षी सिन्हा अभिनित ‘नूर’ले पनि बक्सअफिसमा ५० प्रतिशत पनि सुरक्षित गरेन । यो फिल्ममा सोनाक्षी पत्रकारको भूमिकामा थिइन् । फिल्मले क्रिटिक्सबाट पनि नराम्रो समिक्षा पायो ।

१३ बर्षकै उमेरमा सगरमाथा आरोहण गरेकी ‘पुरना मलावाथ’को जीवनीमा आधारित ‘पुरना’लाई दर्शकसंगै क्रिटिक्स पनि रुचाएनन । फिल्मको स्टोरी सर्टफिल्म बनाउन मात्र काम लाग्ने भनेर समिक्षकहरुले टिप्पणी पनि गरे । त्यस्तै अभिनेत्री रबिना टन्डनको कमब्याक फिल्म ‘मातृ’ले निक्कै दयनीय व्यापार गर्यो । तपसी पन्नु अभिनित ‘नाम सबना’ले सोचे जति राम्रो व्यापार नगरेपनि लगानी सुरक्षित भने गर्यो । फिल्ममा अक्षय कुमारको केमियो पनि थियो ।

पहिलो चार महिनालाई हेर्ने हो भने यो बर्ष बलिउड अभिनेत्रीहरुका लागि राम्रो देखिएको छैन । यसले के प्रमाणित गरिदिएको छ भने, कथाबस्तु र प्रस्तुती भए मात्र अभिनेत्रीका फिल्म हेर्न दर्शक हलसम्म आउन सक्छन । के अभिनेत्रीकै दममा फिल्म हिट हुन् सक्छन ? भन्ने प्रश्नले बलिउडमा पुन: स्थान पाएको छ ।

यो बर्ष कंगना रनाउतको ‘सिमरन’, श्रद्दा कपूरको ‘हसिना: द क्विन अफ मुम्बई’, श्रीदेवीको ‘मोम’ र मनिषा कोइरालाको ‘डियर माया’मा प्रदर्शनको तयारीमा छन् । के यी फिल्मले उक्त प्रश्नलाई दबाउन सक्लान त ?