विशेष शोमा ‘भोर’लाई तारिफ

विशेष शोमा ‘भोर’लाई तारिफ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यादवकुमार भट्टराई निर्देशित सिनेमा ‘भोर’को राजधानीमा विशेष शो सम्पन्न भएको छ । मंगलबार राजनीतिज्ञ, मानवअधिकारकर्मी, सिनेकर्मी र पत्रकारले सिनेमा हेरेका थिए।

तराई क्षेत्रमा अझै पनि व्याप्त दाइजो प्रथा, त्यसले निम्त्याएको अपराध र न्यायका लागि गरेको संघर्ष वरिपरी घुमेको सिनेमाको प्रस्तुतिलाई हेर्ने जतिले प्रसंशा गरेका थिए।

विशेष शोमा पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुर्वमन्त्रीहरु राजेन्द्र महत्तो, राजकिशोर यादव, लीलामणि पौडेल, एमाले नेतृ विन्दा पाण्डे, पुर्वमन्त्री हिसिला यमीसँगै सयबढी मानवअधिकारकर्मी, विद्यार्थी, सिनेकर्मी र पत्रकारले वर्ष २०७५ को सुरुवातमै राम्रो सिनेमा हेर्न पाएको प्रतिक्रिया दिएका थिए ।

तराई भेगमा जरो गाडेर बसेको दाइजो प्रथा विरुद्ध आवाज बुलन्द पारेको फिल्म ‘भोर’ हेरेपछि पुर्व प्रधानमन्त्री नेपालले सिनेमा अत्यन्तै राम्रो भन्दै सामाजिक विकृतिलाई उदाङ्गो पारेको बताएका थिए। सामाजिक चेतना जागरणको लागी धेरै नै उपयोगी भन्दै नेपालले समाजमा कलङ्कको रुपमा रहेको दाइजो प्रथा तथा महिलाप्रतिको विभेदलाई चित्रण गरिएकोले सिनेमालाई धेरै ठाउँमा पुर्याउनुपर्ने र सबैले हेर्नुपर्ने प्रतिक्रिया दिएका थिए।

यस्तै महिला नेतृ हिसिलाले महिला हिंसा बढ्दै गएको भन्दै महिला हिंसा गर्नेलाई मात्र नभइ राज्यसत्तालाई नै झापड हान्नुपर्ने भन्दै राज्यकै असक्षमताका कारण महिला समाजबाट अपहेलित हुनुपरेको र यो प्रकारको कथालाई प्रदामा ल्याएर उत्कृष्ट रुपमा प्रस्तुत गरेकोमा सिनेमा निर्माण टिमलाई बधाइ दिएकी थिइन्।

सिनेमा हेरिसकेपछि लिड कलाकार डली सरकार, राम नारायण ठाकुर, पूजा कर्ण मुख्यतः बधाइका पात्र बने । सँगसँगै दीपक बज्राचार्यको उत्कृष्ट छायाँकन तथा स्थानिक कलाकारलाई पर्दामा उतारेर प्राकृतिक रुपमा मिथिलाञ्चलको परिवेशलाई दर्शकमाझ ल्याएका निर्देशक यादवकुमार भट्टराइको कामलाई धेरैले तारिफ गरेका थिए।

राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेको सिनेमाका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी छन् । कृष्ण धाराबासीको कथामा तयार सिनेमालाई उज्जल ढकालले सम्पादन गरेका छन् ।  राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका सिनेमामा मुख्य अभिनयमा छन् । मुख्यतः मिथिलाञ्चलका स्थानिक कलाकारहरुको बाहुल्यता रहेको सिनेमाको सम्पुर्ण छायाँकन जनकपुरमा नै गरिएको छ ।