‘झोला’ निर्देशकको ‘भोर’ ट्रेलर रिलिज

‘झोला’ निर्देशकको ‘भोर’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘झोला’ निर्देशक यादवकुमार भट्टराई निर्देशित सिनेमा ‘भोर’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले यसअघि सार्वजनिक गरेको टिजरबाट प्रसंसा बटुलिसकेको छ ।

नयाँ वर्ष २०७५ को शुभकामना स्वरूप सार्वजनिक गरिएको ‘भोर’ ट्रेलरमा दाइजो प्रथाको विषयलाई प्राथमिकता दिइएको छ । निर्देशक भट्टराईले यसअघि सति प्रथामा आधारित ‘झोला’ निर्देशन गरेर वाहवाही बटुलेका थिए । त्यसैले पनि ‘भोर’बाट दर्शक आशावादी छन् ।

तराईमा व्याप्त दाइजो प्रथा पहाडमा पनि उत्तिकै छ । दाईजोलाई महिला हिंसा मात्र नभई मानव हिंसा भन्दै सामाजिक कुरुतिको रुपमा व्याप्त यो प्रथालाई निर्मुल पार्ने अभियानको रुपमा निर्माण टिमले यो सिनेमालाई लिएको छ ।

सिनेमाको कथा साहित्यकार तथा झोलाकै कथाकार कृष्ण धरावासीले लेखेका हुन् । सोहि कथालाई निर्देशक भट्टराईले पटकथामा ढालेका हुन् ।
सिनेमामा राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका कलाकारले अभिनय गरेका छन् ।

सिनेमालाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् भने राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेका हुन् । सिनेमाका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी छन् । उज्जल ढकालले सिनेमालाई सम्पादन गरेका छन् । आउँदो बैशाख २१ बाट प्रदर्शनमा आउने सिनेमाको केहि दिन पहिले मिथिलाधाम जनकपुरमा प्रिमियर सम्पन्न भएको थियो । जनकपुर र पोखरामा सम्पन्न प्रिमियर तथा बिहिबार मात्रै हेटौँडामा सम्पन्न च्यारेटीमा सिनेमाले उच्च तारिफ भेटेको छ ।

महिलाप्रधान सिनेमाले उठाएको विषय र यसको प्रस्तुतीकरणमा धेरै दर्शकले तारिफ गर्दा लिड कलाकारहरुको अभिनयले पनि प्रशंसा भेटेको छ । मुख्यतः मिथिलाञ्चलका स्थानिक कलाकारहरुको बाहुल्यता रहेको सिनेमाको सम्पुर्ण छायाँकन जनकपुरमा नै गरिएको छ ।