‘एभेन्जर्स’को अगाडी तीन ठुला पहाड, तोडिएला त रेकर्ड ?

‘एभेन्जर्स’को अगाडी तीन ठुला पहाड, तोडिएला त रेकर्ड ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – १२ वर्ष पछी ‘अवतार’ले बक्स अफिसमा ‘टाइटानिक’को रेकर्ड आफ्नो पक्षमा पार्यो । १९९७ मा रिलिज भएर विश्वव्यापी विश्वकै सर्वाधिक कलेक्सन गर्न सफल भएको ‘टाइटानिक’ १२ वर्षसम्म चार्टबस्टरको अग्रस्थानमा रह्यो ।

जेम्स क्यामरून निर्देशित ‘टाइटानिक’को रेकर्ड तोड्न अन्य सिनेमाले सकेनन् । अन्तत: यिनै निर्देशकको ‘अवतार’ले उक्त रेकर्ड पन्छ्यायो । अब पुन: ‘अवतार’को रेकर्ड तोड्न मुस्किल भएको छ अन्य सिनेमालाई । २००९ मा रिलिज भएको ‘अवतार’ चार्टबस्टरको शिर्ष स्थानमा पुगेको झन्डै ९ वर्ष पुगिसकेको छ । अन्य सिनेमाले ‘अवतार’को रेकर्ड तोड्नु त परै जाओस, ‘टाइटानिक’को कलेक्सनलाई पनि उछिन्न सकेका छैनन् ।

२०१५ मा रिलिज भएको ‘स्टार वार्स: द फोर्स अवकेंस’, ‘टाइटानिक’ नजिक पुगे पनि तेस्रो स्थानमै चित्त बुझाउनु पर्यो । यो २ हजार मिलियन अमेरिकी डलर कमाउने कान्छो सिनेमा पनि हो । पहिलो नम्बरमा रहेको ‘अवतार’ले २,७८८.० मिलियन अमेरिकी डलर ग्रस कमाएको छ । यसको नेपाली रुपान्तरण (२ खर्ब, ९९ अर्ब, २३ करोड, २२ लाख, ९२ हजार ७ सय ८८ रुपैयाँ) हुन् आउँछ ।  त्यस्तै दोस्रो नम्बरमा रहेको ‘टाइटानिक’को कलेक्सन २,१८७.५ मिलियन अमेरिकी डलर  छ । यसको (२ खर्ब, ३४ अर्ब, ७८ करोड, ५ लाख, ५ हजार १ सय ९ ) नेपाली रुपैयाँ हुन् आउँछ ।

टप ३ मा पर्न सफल ‘स्टार वार्स: द फोर्स अवकेंस’ले २,०६८.२ मिलियन अमेरिकी डलर (नेपालीमा २ खर्ब, २१ अर्ब, ९८ करोड, २४ लाख, ४१ हजार, ५ सय ६३ रुपैयाँ) कमाएको थियो ।

अब कुरा गरौ प्रदर्शनरत सिनेमा ‘एभेन्जर्स: इन्फिनिटी वार’को । पहिलो विकेन्ड कलेक्सनमा अन्य सिनेमाको रेकर्ड तोड्दै प्रभावशाली कमाइ गरिरहेको यो सिनेमाले के माथि उल्लेखित तीन सिनेमाको रेकर्ड तोड्न सक्ला ? अहिले विश्व बजारको नजर यहिँ सिनेमामा छ ।

सिनेमाले प्रदर्शनको १० दिनमै १ खर्ब माथिको कमाइ गरिसकेको छ । विश्वका सर्वाधिक कमाउने सिनेमाको सुची हेर्दा १० औं दिनमा यसले १५ औं स्थान कब्जा गरिसकेको छ । यसको अहिलेसम्मको कलेक्सन १,१६७.७ मिलियन अमेरिकी डलर (नेपालीमा १ खर्ब, २५ अर्ब, ३३ करोड, ३ लाख, ७९ हजार ७ सय ७१ रुपैयाँ) छ ।

दर्शकसँगै समिक्षकले पनि रुचाएको सिनेमा विश्वकै अर्को ठुलो बजार चिनमा रिलिज भएको छैन । सिनेमा आगामी शुक्रबार चिनमा रिलिज हुदैछ । चिन रिलिजले सिनेमाको कलेक्सनमा अझ छलाङ लगाउने छ ।

यदि ‘एभेन्जर्स: इन्फिनिटी वार’ले’ यी रेकर्ड तोड्न नसकेमा २०२० मा रिलिज हुने ‘अवतार २’ पर्खनु पर्ने हुन्छ ।