अनमोलको ‘ड्रिम्स’ रिजेक्ट गरेर पछुतो छैन – अदिति बुढाथोकी

अनमोलको ‘ड्रिम्स’ रिजेक्ट गरेर पछुतो छैन – अदिति बुढाथोकी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘कृ’ अभिनेत्री अदिति बुढाथोकी पहिलोपटक मिडियासामु खुलिन् । उनले मिडियाका लागि आइतबार राजधानीमा भव्य ‘मिट एन्ड ग्रीट’ जमघट नै आयोजना गरिन् ।

यी डिभाले सिनेमा, मोडलिङ र करियरका धेरै पाटाबारे प्रकाश पारिन् । डेब्यु सिनेमा कृलाई उनले ‘वन्डरफूल’ भन्दै प्रशंसा गरिन् । को–एक्टर अनमोल केसीलाई ह्यान्डसम भन्दै अदितिले स्वभाव प्रशंसा गरिन् ।

अनमोल स्टारडम देखेर कृ नखेलेको प्रष्ट पार्दै उनले आफूलाई स्क्रिप्ट र टीम उत्कृष्ट लागेको बताइन् । ‘म चलेको र नयाँ जोसुकैसँग काम गर्न रुचाउँछु, स्टार भन्ने कुरा हुँदैन’ भन्छिन्, ‘तर, कथावस्तु र टीमले मलाई प्रोजेक्ट छनौट गर्न सघाउँछ ।

अनमोलको अघिल्लो सिनेमा ‘ड्रीम्स’ रिजेक्ट गर्नुपरेको बारे सोधिएको जिज्ञासामा उनले यसबाट आफूलाई पछुतो नलागेको बताइन् । ‘त्यतिबेला म स्कुल पढिरहेकी थिएँ’ भन्छिन्, ‘म उपयुक्त समय र फिल्मको पर्खाइमा थिएँ ।’

नेपाली अभिनेत्री प्रियंका कार्कीबाट प्रभावित भएको बताउँदै अदितिले प्रदीप खड्का र आशिरमान देशराजसँग अनस्क्रिन रोमान्स गर्न मन लागेको इच्छा व्यक्त गरिन् ।

आफूलाई भारतीय नागरिक भनिएको भन्ने आरोपको उनले खण्डन गरिन् । ‘मोडलिङ एजेन्सीको अनुबन्धनले मात्र नेपाल इन्डिया आउने जाने गरेकी हुँ’ भन्छिन्, ‘म नेपाली नागरिक हुँ र मेरो पहिलो प्राथमिकता नेपाल हो ।’ उनले आफू चाँडै तेलगु सिनेमा खेल्न लागेको घोषणा समेत पनि गरिन् ।

महंगो फिल्म नै किन तपाईंको रोजाइमा पर्छन् ? उनी भन्छिन्, ‘स्क्रिप्ट राम्रो छ भने सस्तै मूल्यमा पनि फिल्म गर्छु ।’ उनको नेपाली डेब्यु कृलाई महंगोमध्येको एक सिनेमा मानिन्छ ।

कृ भावनात्मक र कमेडीले भरिपूर्ण भएकाले दर्शकले मनोरञ्जन लिन सक्ने बताउँदै उनले बालकदेखि वृद्धावृद्धा सबै उमेर समूहले हेर्न सक्ने बताइन् । उनको मुख्य भूमिका रहेको सिनेमा कृ माघ २६ गते देशव्यापी प्रदर्शन हुँदैछ ।