पद फिर्ता माग्न अदालत जान्नँ -निकिता पौडेल

पद फिर्ता माग्न अदालत जान्नँ -निकिता पौडेल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – केहि दिन पहिले नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले भदौ १४ गते देखि फागुन २ गते सम्म पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले नियुक्तिहरु बर्तमान सरकारले बदर गरे पश्चात चलचित्र विकाश बोर्ड अध्यक्ष निकिता पौडेल पदमुक्त भएकी थिइन । चलचित्र विकाश बोर्डको पन्ध्र बर्ष लामो इतिहाँसमा निकिता पौडेल पहिलो पटक महिला बोर्ड अध्यक्ष बनेकी थिइन ।

पौडेल विकाश बोर्ड गएको सात महिना नबित्दै बर्तमान केपी ओली सरकारले उनलाई पद मुक्त गरेको थियो । आचार संहिता मिचेर गरेका नियुक्ति खारेज गर्ने भन्दै आइतबार सुचना तथा संचार मन्त्रालयले पौडेललाई नियुक्ति खारेज भएको पत्र थमाएको थियो । पत्र प्राप्त गरेसँगै उनले चलचित्र विकाश बोर्ड जान छोडेकी छन् । साथै विकाश बोर्ड जान छोडेसँगै सिनेमा टाइम्ससँग कुरा गर्दै अब आफ्नो पद थमौतीको लागी आफु सर्वाेच्च अदालत नजाने बताइन । मेरो आफ्नै थुप्रै कामहरु छन । रेडियो, टेलिभिजन, सिनेमाहललाई आगामी दिनमा राम्रोसँग चलाउने जिम्मेवारी मेरो काँधमा छ अब त्यसैमा लाग्छु ।

निकिता भन्छिन, ‘म कुनै राजनितिक नियुक्तिबाट विकाश बोर्डमा आएकी होइन, प्रतिस्पर्धाबाट आएकी हुँ’, र म आजसम्म कुनै पनि राजनितीक पार्टीमा आवद्ध छैन् । अहिलेको समयमा म अदालत गएको खण्डमा नेपाल सरकारको निर्णय उल्टाएर पुन विकाश बोर्डमा आउँन सक्छु तर म त्यसो गर्ने पक्षमा छैन ।

निकिता विकाश बोर्ड गएसँगै आगामी श्रावण १ गते देखि बक्सअफिस लागु हुने कुरा थियो । अब निकिता पद मुक्त भएपछि बक्सअफिस लागु हुन्छ कि हुँदैन अहिले यहि चर्चा सिनेमा बजारमा भैरहेको छ ।

‘भोलि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली फिल्मको पहुँच पुर्या उने, बजार विस्तार गर्ने र विदेशी फिल्मलाई नेपालमा छायाँकन गर्न मिल्ने ठाउँ बनाउने योजना भएको मान्छे, पढेलेखेको, बुझ्ने मान्छे अध्यक्ष हुनुपर्छ जस्तो लाग्छु उनले थपिन्।

उनले सिनेमा टाइम्ससँग भनिन्, मैले बनाएका योजनाहरुमध्ये दुई वटा त म आफै पूरा गर्छु। ‘अन्तर्राष्ट्रिय ट्रेनिङु र सुटिङ डेस्टिनेसन नेपालु म आफै पूरा गर्छु।

केहि दिन पहिले अध्यक्ष पौडेलले प्रधानमन्त्रीलाई लेखेको खुला पत्र पढ्नुस् :-

सम्माननीय प्रधानमन्त्री ज्यु,

राजनीति नै गरेर मात्र ठुला पद प्राप्त हुने हो भने विदेशमा गएर पढेर म जस्ता व्यक्तीहरु किन स्वदेश फर्कनु ? अध्ययन र कार्य क्षमता को मुल्याङकन नहुने र ठुला नियुक्ती जति राजनीतिक दलका मानिसहरुले मात्र पाउने हो भने पढेर सिकेर जानेर वा कमाएर स्वदेश किन फर्कीनु ? चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा मैले झण्डै ७ महिना काम गर्ने अवसर पाएँ । मेरो नियुक्तीलाई राजनीतिक भनिए पनि यसमा मेरो असहमती छ । म कहिले पनि कुनै पनि राजनीतिक दलको समर्थक, विरोधी, नजिक, टाढा भईंन । यो मैंले कहिले पनि नजानेको बिषय हो । हिजो म अध्यक्ष नियुक्त हुँदा तत्कालीन सत्तारुढ नेपाली कांग्रेसले पनि मेरो नियुक्तीको विरोध गरेको थियो, आज देउवा सरकारको नियुक्ती भनेर तपाईंको सरकराले नियुक्ती वदर ग¥यो । म जस्ता स्वतन्त्र व्यक्तीहरुले आफ्नो योग्यता र क्षमता देखाएर काम गर्नै नपाइने हो त ? देशको मात्रै झण्डा बोकेर नपुग्ने ? कुनै न कुनै राजनीतिक दलको झण्डा नबोकी नहुने हो ? म चलचित्र बुझ्दै, हेर्दै र सिक्दै हुर्कीएकी हुँ ।

लाइट, क्यामेरा, एक्सन मैंले गर्भमा नै सुनेका शब्दहरु हुन । यस अर्थमा चलचित्र क्षेत्र मेरो रगतमै बगेको छ । यसै क्षेत्रमा समर्पीत हुने उदेश्यले मैले अमेरिकी युनीभर्सीटीबाट यसै क्षेत्रको विषयमा स्नातकोत्तर गरेर मनभरी उमंग, जोश, जाँगर र सर्टिफिकेट बोकेर आफ्नै देशमा केही गर्छु भनी फर्कीएँ । १८ बर्षको ईतिहास बोकेको चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष ज्युहरुले गर्नु भएको कार्यको मुल्याङकन गर्ने हैसियत त मेरो छैन तर विगत ७ बर्षदेखी यो वा ऊ बहानामा अड्केको र एक पाइला पनि नसरेको बक्स अफिस प्रणालीलाई म र मेरो टिमले ७ महिनामा लागु हुन तयार पारेका छौँ । यसो भनेर मैले कसैको विरोध गरेकी होइन बरु आफ्नो टिमको अहोरात्र खटाई र अथक मेहनतको दिल खोलेर प्रंशसा गरेकी हुँ ।

यतिखेर जब बक्स अफिस लागु हुन केही दिन मात्र बाँकी छ यस्तो अन्तीम समयमा गरिएको नियुक्ती बदरले हाम्रो ७ महिनाको मेहनत पानीमा जाने प्रवल सम्भावना छ । म पछि नियुक्त हुने अध्यक्ष ज्यु को कार्य क्षमतामा प्रश्न गरेको होइन र यो क्षेत्रमा सबै भन्दा सक्षम नै मै हुन् दावी पनि गरेकी छैन । तर केही महिना मैंले काम गर्न पाएको भए म र मेरो टिमले सरकारलाई दिने उपलब्धिबाट साँच्चै नै तँपाइको सरकार र माननिय संचार तथा सुचना प्रविधि मन्त्री ज्युले गर्व गर्न पाउनु हुन्थ्यो ।

मेरो कार्य क्षमता र मैंले सरकारलाई बुझाएको भावी योजनाको मुक्त कंण्ठले तारिफ गर्नुहुने माननिय सूचना तथा संचार प्रविधि मन्त्री ज्यु, र आदरणीय सचिव ज्युका स्यावासीहरु अझै पनि मेरो मानस पटलमा ताजा छन् । तर त्यो स्वाबासी र यो निर्णयको बिच कुनै तारतम्मे नमिलेकोमा दुःखी मात्र भएकी हुँ । मैंले बकाइदा जाँच दिएर, अन्तरर्वाता दिएर, खुल्ला प्रतिस्पर्धामा आफुलाई सबै प्रतिस्पर्धी भन्दा सक्षम देखाएर प्राप्त गरेको नियुक्ती हो । राष्ट्रिय पत्रिकामा छपाएर माग गरिएका आवेदकहरुबाट चुनिएको व्यक्तीको नियुक्ती कसरी राजनीतिक नियुक्ती भयो त्यो मैले बुझ्न सकेकी छैन । यो पत्र मार्फत मैंले आफ्नो पुर्नवहालीको याचना गरेकी होइन ।

म २१ औं शताब्दीकी सक्षम महिला हुँ प्रधानमन्त्री ज्यु, यो देशको संविधानले दिएको हक अधिकार बुझेकी छु, कर्तव्य पालना गर्न जानेकी छु । जति समय मैले चलचित्र विकास वोर्डका लागि दिएँ त्यती समय आफ्नो व्यवसायमा दिएको भए मेरा लागि त्यो निकै फाइदाजनक हुने थियो । चलचित्र विकास बोर्डको अध्यक्षका हैसियतले निर्णयहरु गर्दा मैंले आफ्नो व्यवसाय र आफ्नै परिवारका सदस्यहरुको समेत विपक्षमा उभिनु परेको छ । बक्स अफिसको सुरुवात आफ्नै हलबाट गरेकी हुन्, आफ्नै भाइले निमार्ण गर्दै गरेको चलचित्र ‘रोजी’ को को सुटिङ आफै गएर रोकेकी छु । र, यस्ता अनगिन्ती दृशटान्तहरु छन् जसलाई प्रस्तुत गरिरहंदा आफ्नो बखान गर्न खोजेकी अर्थ समेत लाग्न सक्छ ।

मलाई सरकारी तलब, सुविधा, पद आदी कुनै कुराको पनि लोभ थिएन र छैन । खाली एउटा दुखेसो छ कि म मात्र होइन विभिन्न देशका डिग्री लिएका धेरै होनहार जोशीला युवाहरु यहाँ छन्, जो आफ्नो देशमा केही गर्नु पर्छ भनेर लागि परेका छन् । के तिनले पनि उच्च ओहदाको सरकारी जागिर खान कुनै न कुनै राजनीतिक दल वा नेताको घर दैलो धाउनै पर्छ ? चाकडी बजाउनै पर्छ ? यदि कुनै पनि राजनीतिक दलको आर्शिवाद विना स्वतन्त्र नागरीक बनेर यो देशको सेवा गर्न पाइन्न भने तपाइको समृद्ध नेपाल सुखी नेपाली को नारा समृद्ध नेता सुखी कार्यकता मात्र बन्न पुग्ने छ । यो मेरो व्याङग्य होइन चिन्ता हो ।

आफ्नो ज्ञान र क्षमता देखाउने अवसर फेरी पनि मिल्ने छ भन्ने कुरामा म आशावादी छु । र म चलचित्र विकास बोर्डमा भए पनि नभएपनि मेरो नाभीसँगै गाँसीएको चलचित्र क्षेत्रको उत्थान, प्रर्वधनका लागि मेरो पुरै जीवन समर्पीत छ । नेपाली चलचित्र क्षेत्रलाई अन्र्तराष्ट्रिय बजारमा लैजाने, नेपालको लोकेशनमा विश्वभरका सिनेमार्कीलाई सुटिङ गर्न आमन्त्रण गरी चलचित्र पर्यटनको विकास गर्ने, फिल्म सिटी निमार्ण गर्ने, पुराना चलचित्रलाई डिजीटाइज गरी भावी पुस्ताका लागि संरक्षीत पार्ने, विशिष्ट योगदान दिएका पुराना चलचित्र साधकहरुलाई सम्मान गर्दै नयाँ जेनेरेशनका नवयुवक

चलचित्रकर्मीहरुसँग हातेमालो गरेर नेपाली चलचित्रको सुन्दर भविष्य कोर्ने जस्ता कयौँ मेरा योजनामा वे्रक लागेको छ । तर चलचित्र विकास बोर्ड मेरो जागिर होइन सामाजीक जिम्मेवारी हो । योगदान दिन पद नै चाहिन्छ भन्ने केही पनि छैन र चलचित्र क्षेत्रलाई योगदान दिने मेरो यात्राको यो काष्टीङ मात्र हो, मध्यान्तर पनि हैन, दि ईन्ड त हुँदै होइन !