लोक शब्द/संगीत कथाको माग कि बजारको ?

लोक शब्द/संगीत कथाको माग कि बजारको ?

द सिनेमा टाइम्स
0
Shares

गणेश वली (आशिष), काठमाडौँ । बलिउड सिनेमा क्षेत्र संगीतका लागी प्रख्यात छ । त्यहाँ सिनेमामा संगीत समावेश गर्नु अनिवार्य जस्तै हुन्छ । कथाले माग गरे या नगरे पनी बलिउडमा संगीतलाई प्रथामिकता दिईन्छ । त्यसैले बलिउडमा ‘गाने हिट तो, पिक्चर सुपरहिट’ भन्ने डाइलगले सदैव प्राथमिकता पाईरहन्छ ।

त्यसैको असर नेपाली सिने क्षेत्रमा पनी सुरुवात देखिनै परिरहेको छ । नेपाली सिने क्षेत्रमा कथाको माग भन्दा पनी सिनेमा पब्लिसिटीको लागी गीतहरु समावेश गर्ने गरिन्छ । यहाँ ९५ प्रतिशत सिनेमामा कथाको माग भन्दा बाहिर रहेर संगीत घुसाईन्छ । राम्रो गीत संगीत भएका सिनेमाले दर्शक तान्न सफल भएकाले पनी सिनेकर्मीको प्रथामिकतामा राम्रो र हिट गीत कसरी बनाउने भन्ने होडबाजीनै चल्छ ।

राम्रो गीत बनाउनुमा होडबाजी चल्नु अवश्य पनी राम्रो हो । तर, नेपाली सिनेकर्मीहरु कथाले मागेको भन्दा पनी दर्शक र बजार हेरेर संगीत उत्पादन गर्ने गर्छन । यहाँ एक जनाले गरेको काम हिट भयो भने सबैजना उसकै पछी लाग्ने गर्छन । जसले गर्दा नयाँ सिर्जनाको अभाव भएको महसुस हुन्छ । अहिले युट्युबमा लोक शब्द/संगीतमा निर्माण भएका गीतहरुको हालीमुहाली छ ।

दश बर्ष अगाडीका गीतहरुमा नेपाली उखान टुक्का समावेश गरेर संगीत सिर्जना गरिन्थ्यो । त्यसपछीका सिने संगीतमा प्रेमका शब्द र आधुनिक शब्दलाई मिलाएर गीत तयार गरिन थाल्यो । कहिँ कतै अंग्रेजी शब्दहरुको समिश्रणमा पनी गीतहरु तयार भए । यो बीचमा आइटम गीतलाई फोकस गरेर उत्सृंखल शब्दहरु प्रयोग गरेर पनी संगीत सिर्जना भए । तर, केहि गीतलाई छोडेर प्राय गीतलाई दर्शक तथा श्रोताले अपनाएनन ।

 

सिनेमा ‘वडा नम्वर ६’मा समावेश ‘सुर्के थैली’ हिट भएपछी सिनेमाको संगीतमा पुरानै धारले स्थान पाएको छ । पछिल्लो समय नेपाली सिनेमाका गीतहरुमा लोक शब्द/संगीतले प्रथामिता पाउदैछन् । आजभोलि सार्वजनिक हुने सिनेमाका नयाँ गीतहरुमा नेपाली शब्द तथा संगीतको समिश्रण पाइन्छ । करिब दश बर्ष अगाडीको सिने संगीतको धार अहिले पुन: स्थापित हुदैछ ।

‘पुर्व पश्चिम रेल’, ‘जालमा’, ‘निरा’, ‘ठमेल बजार’, ‘काले दाई’, ‘कम्मर माथि पटुकी’, ‘सिरैमा सिरवन्दी’, ‘देखन चम्पा’, ‘छपक्कै’, ‘कुरा खाती हो’, ‘मैना राजा मैना रानी’ लगायतका हिट गीत नेपाली उखान टुक्का, लोक संगीत र नेपाली भेषभुषा प्रयोग गरेर बनाइएका हुन् । यी गीतहरुले पछिल्लो वर्ष खुबै चर्चा कमाए । यी बाहेक अर्ग्यानिक शब्द/संगीतका अन्य सिर्जनाहरु पनी बजारमा आए । तर, सबैले दर्शक श्रोताको मन जित्न सकेनन ।

यो बर्ष पनी ‘घामपानी’मा समावेश ‘आप्पालाई मेरो’, ‘दुई रुपैया’को ‘कुटुमा कुटु’, ‘कमलेको विहे’को ‘टाकन टुकुन’, ‘ए मेरो हजुर २’को ‘किनिदेउन साइला दाई’, ‘कुम्भ करण’को ‘कुटु कुटु’ बोलका गीत नेपाली परिवेशमा रहेर निर्माण भएका छन् । यी गीतले पनी लोक शैलीलाई पछ्याएका छन् ।

दर्शक र श्रोता माझ लोकप्रिय बन्दै गैरहेका यी गीतले सिनेमासंग कत्तिको मेल खान्छन त ? दर्शकले हलमै गएर हेर्नुपर्ने हुन्छ । पछिल्लो समय सांगीतिक बजारमा चर्चाको शिखरमा रहेका संगीतकारहरु के भन्छन त ?

राजनराज सिवाकोटी:

‘नेपाली सिनेमामा लोक शब्द/संगीत अहिलेको मात्र माग होईन । सुरुवातनै लोक शब्द/संगीतबाट नै भएको हो । तर, बीचमा केहि समय अन्य संगीतहरुले पालो पाए पनि अन्तत लोक शब्द/संगीतकै समय आएको छ । यो सांगीतिक चक्र हो । र, यो घुमीरहन्छ । कति त सिनेमाको कथाले मागेका छन् । कति भने पब्लिसिटीको लागी पनि तयार गरिन्छ । मैले बुझे अनुसार नेपाली सिनेमाको लागी संगीत पक्ष भनेको मनोरंजनका लागी हो जस्तो लाग्छ । मनोरंजनका लागी कथामा हुने खालि ठाउँ भर्नलाई संगीत राख्ने गरिन्छ । अहिले त्यो खाली ठाउँमा नेपाली माटोको गन्ध आउने गीत शब्द/संगीत सुहाएका छन् । पछिल्लो समयको सिनेमा संगीतले देशको संस्कृतिलाई विश्वसामु चिनाउन सहयोग गर्छ । र, लोक संगीत अन्य संगीतको तुलानामा दीर्घकालीन पनि हुनेछ ।

बसन्त सापकोटा:

नेपाली सिनेमामा लोक शब्द/संगीत समयको माग हो । जुन कुराको फाईदा प्रत्यक्ष रुपमा नेपाली सिनेमालाई पुगेको छ । वर्तमान समयमा लोक शब्द/संगीतको माग धेरै भए पनि समय अनुसार यो परिवर्तन हुन् पनि सक्छ । सिनेमाको प्रचारको लागी पनि हुन् सक्छ । कति सिनेमा चलाउनका लागी पनि समावेश गर्ने गरिन्छ । तर, कथाको माग होस् या दर्शक श्रोता । वर्तमान अवस्थामा पनि लोक शब्द/संगीतलाई रुचाइनु भनेको पक्कै पनि राम्रो हो । नेपाली सिनेमाको इतिहासमा लोक शब्द/संगीतको भविष्य दीर्घकालीन छ ।

तस्विर: संगीतकारहरुको फेसबुक अकाउन्टबाट