के चार महिनामै जोडिएला त ‘बक्सअफिस’?

के चार महिनामै जोडिएला त ‘बक्सअफिस’?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । नेपाली सिने नगरीमा बारम्बार ‘बक्स अफिस’ सिस्टमका बहसहरु भैरहन्छन । ‘बक्स अफिस’ सिस्टममा कुरा बेला बखतमा सडक, गल्ली र टोलमा गुन्जिने मौका पाईरहेको हुन्छन् ।

विगतका समयमा निर्माता, निर्देशक, लगायत विकासबोर्डले प्रथामिकता दिदै आएको ‘बक्स अफिस’ सम्बन्धी बहसलाई पछिल्लो समय धेरैले चासोको विषयमा हेरेका छन् । त्यसैले यहिँ विषयमा छलफल गर्न चलचित्र पत्रकार संघ नेपालले सोमबार राजधानीमा ‘नेपालमा बक्सअफिस’ भन्ने विषयमा ‘स्पिकर्स कर्नर’ नामक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । जहाँ विकासबोर्ड अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले र फिल्म निर्देशक दीपेन्द्र के. खनाल उपस्थित थिए ।

छलफलमा निर्देशक दिपेन्द्र के खनाल र निर्माता माधव वाग्लेले वर्तमान समयमा नेपालमा ‘बक्सअफिस सिस्टम’ आवश्यक छ । भन्ने, तर्कमा शतप्रतिशत सहमती जनाएनन् । ‘बक्स अफिस लागू भयो भने पैसा धेरै आउँछ भन्ने सोच धेरैको छ। यो गलत हो किनकी, बक्स अफिस लागू हुँदा हिसाब पारदर्शीचाहिँ हुन्छ। पैसा नै धेरै आउँदैन,’ उनले भने, ‘बक्स अफिस लागू हुँदा देशभरिको कारोबार एकै ठाउँमा आउँछ। त्यो खुसीको कुरा हो। तर, यसले सबै कुराको समाधान गर्छ भन्नेचाहिँ छैन।’ खनालले भने ।

त्यस्तै निर्माता माधव वाग्लेल पनी वर्तमान समयमा ‘बक्सअफिस’ सिस्टमको आवश्यक महसुस नगरेको बताए । ‘मैले हालसम्म निर्माण गरेका फिल्ममध्ये केही हिट भए भने केही फ्लप। बक्स अफिस राखे पनि दर्शक हलमा बढ्ने होइन,’ वाग्लेले भने, ‘म अहिलेसम्मको हिसाबबाट सन्तुष्ट छु। बक्स अफिसको नाममा राजनीति भइरहेको छ। हाम्रो ध्यान बक्स अफिसमा भन्दा पनि राम्रो फिल्म कसरी बनाउने भन्ने कुरामा केन्द्रित हुनुपर्छ।’

तर, बिकासबोर्ड अध्यक्ष राईले अबको चार महिनामा काठमाडौँमा र बाँकी दुई चरणमा देशभरी बक्सअफिस सर्भर जडान गर्ने बताए । ‘बक्स अफिसको सफ्टवेयर बनाउने काम सुरु भइसकेको छ। सफ्टवेयर बनाउने कम्पनीका लागि आवश्यक रकम दिन मन्त्रालयबाट बजेट निकासा भएपछि कामले गति लिनेछ,’ राईले भने, ‘हामी पहिलो चरणमा काठमाडौं, त्यसपछि मुख्य सहर र तेस्रो चरणमा अन्य स्थानमा सर्भर जडान गर्नेछौं।’ उनले काठमाडौंमा बक्स अफिस बिग्रिएमा चाँडै नै मर्मत गर्न सकिने भएकाले काठमाडौं पहिलो रोजाइमा परेको बताए।

उनले फिल्मकर्मीका लागि बक्स अफिस ‘हाउगुजी’ भए पनि यो समयको माग भएको दाबी गरे। ‘हामी देशभर एउटै सर्भरबाट बक्स अफिस जोड्न चाहन्छौं, जसले गर्दा फिल्मको हिसाबकिताबमा पनि एकरुपता आउनेछ,’ उनले दाबी गरे, ‘तर अहिले हामीकहाँ गलत कुराको खेतीपाती गर्ने चलन छ। पाँच लाखको सेयरलाई ५० लाख भनेर प्रचार गर्छौ। यो कुराबाट लोभिएर अन्य मानिसहरू फिल्ममा फस्ने गर्दछन्।’ हलहरू समयसापेक्ष नभएकाले पनि बक्स अफिस लागू गर्न ढिलाइ भइरहेको उनले बताए।

त्यस्तै चलचित्र संघका अध्यक्ष प्रदीप उदयले फिल्म हलमा आधुनिकीकरण नगरी बक्स अफिस ल्याउन नसकिने बताए। ‘बक्स अफिसमा पारदर्शिताको कुरा आउँछ। धेरै निर्माताले हल सञ्चालकलाई अपारदर्शी भनेर आरोप लगाउँछन्। तर, हामी सबैभन्दा बढी पारदर्शी छौं,’ उदयले भने, ‘हामी पन्ध्र–पन्ध्र दिनमा कर कार्यालयमा गएर कर तिर्छौं। केही हल सञ्चालकले बदमासी गर्लान्। तर, सबैले बद्मासी गर्छन् भनेर आरोप लगाउन पाइँदैन।’ उनले आफूहरू बक्स अफिसप्रति सकारात्मक भएको स्पस्ट पारे।

संचारमाध्यमका लागी ‘बक्सअफिस’ सिस्टम:-

छलफल कार्यक्रममा निर्माताका लागी मात्र ‘बक्सअफिस’ सिस्टम आवश्यक भनीएपनी यो योजना समग्र फिल्म क्षेत्रको लागी आवश्यक छ । जसरी कलाकारको जीवनशैलीको बारेमा जान्न दर्शक इच्छुक हुन्छन । त्यसरी नै उनीहरुका सिनेमाको पारदर्शी व्यापारिक डाटाको बारेमा जानकारी पाउन दर्शक उत्तिकै इच्छुक हुन्छन । सिनेमाका कमाईका समाचारले संचारमाध्यममा राम्रै भ्युअर तथा दर्शक पाउछन । त्यसैले दर्शकका लागी सहि समाचार सम्प्रेसन गर्न पत्रकारको लागी पनी ‘बक्सअफिस’ सिस्टम आवश्यक छ ।

सिनेमाका व्यापारिक रिपोर्ट संचारमाध्यममा दशथरी आउने गर्छन । यसले गर्दा दर्शकलाई कुन समाचार सत्य हो छुट्याउन गाह्रो पर्छ । ‘बक्सअफिस’का दशथरी समाचारले गर्दा संचारमाध्यमप्रती पाठक तथा दर्शकको विश्वसनीयता घट्न जान्छ । त्यसैले संचारमाध्यमले सहि समाचार सम्प्रेसन गर्नका निमित्त नेपाली सिनेमाको लागी ‘बक्सअफिस’ सिस्टम अपरिहार्य छ ।