सिनेमा टाइम्स टप १० फिल्मी गीत

सिनेमा टाइम्स टप १० फिल्मी गीत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ | बर्ष २०७३ ले हामिबाट विदा माग्न अब केहि दिन मात्र बाँकी रहेको छ । नयाँ सालको स्वागत गर्नुपुर्व हामीले पुरानो साललाई एक पटक फर्केर हेर्नैपर्ने हुन्छ ।

बर्षांतमा सबै क्षेत्रले आफ्नो वार्षिकी समिक्षा गर्ने गर्दछन । त्यस्तै फिल्म क्षेत्रमा पनि बार्षिकी समिक्षा सुरु भैसकेको छ । त्यसैले आज ‘सिनेमा टाइम्स’ले  बर्षका १० चर्चित गीतको बारेमा स्मरण गराउने जमर्को गरेको छ । जुन गीतले बर्ष भरिनै चर्चा पाए ।

सुरुवात देखि बलिउड फिल्मको छायाँले ढाकेको नेपाली फिल्ममा पनि गीतले निकै प्रथामिकता पाउछन् । बलिउड एक डाइलग ‘गाने हिट तो पिक्चर सुपरहिट’ भन्ने थेगोलाई नेपाली फिल्मले पनि राम्ररीनै पछ्याईरहेको पाइन्छ । फिल्मको कथाले मागोस या नामागोस फिल्मको पब्लिसिटी र फिल्ममा रौनकता थप्न नेपाली फिल्ममा गीत अपरिहार्यनै रहेको जस्तै मुल्यांकन गर्न सकिन्छ । राम्रो गीत हुने फिल्मले पब्लिसिटी सहयोग पाईरहेको हुन्छ । हुनत पछिल्लो केहि बर्षमा गीतनै नभएका फिल्मले पनि व्यापारिक सफलता हाँसिल गरिरहेका छन् ।

बर्षेनी हेर्दा फिल्मको लगानीको करिब २५ प्रतिशत लगानी गीतमा हुदै आईरहेको छ । अझ प्रमोसनल गीत बनाउनलाई अहिले १०औ लाख बढी रकम पनि खर्च हुने गरेको छ । फिल्मको पृष्ठभुमि जस्तोसुकै होस् तर, गीत राम्रो बनाउनलाई महंगा सेट प्रयोग गर्ने देखि लिएर विदेशसम्मको यात्रा पनि नेपाली फिल्मले तय गर्ने गरेका छन् । यो बर्ष मात्र ९० को हारहारीमा फिल्म प्रदर्शनमा आए । औलामा गन्न सकिने फिल्मलाई छोडेर बाँकी फिल्ममा १ देखि ४ भन्दा बढी गीत समावेश भएका थिए ।

तर, फिल्म जस्तै सबै गीत दर्शकको मनमा बस्न सफल भएनन । औलामा गन्न सकिने गीतले मात्र दर्शक श्रोताको माया पाए । सिनेमा टाइम्सले  चर्चा, भिडियो मेकिंग, शब्द, संगीत, युट्युब भ्युअर्स र कोरियोग्राफीको आधारमा बर्षका टप १० गीतको सुची तयार गरेका छौ । यो साल दर्शकको मनमा यस्ता गीत बस्न सफल भए, जुनमा टिपिकल नेपाली शब्द र उखान टुक्काहरु जोडिएको थियो ।

यी हुन् बर्षका टप १० फिल्मी गीत

१) पुर्व पश्चिम रेल: फिल्म ‘छक्का पन्जा’मा समावेश यो गीतलाई बर्ष भरिनै सर्वाधिक रुचाइयो । बालक देखि वृद्दसम्मको मुखमा झुन्डिएको यो गीतले देउसी भैली देखि लिएर स्टेज कार्यक्रममा पनि आफुलाई अब्बल तुल्यायो । पुर्व प्रधानमन्त्रि  केपी ओलीले पुर्वपश्चिम रेलका बारेमा उद्घोषण दिदै गर्दा रिलिज भएको गीतको टाइटलले नै सबैको ध्यानर्कषण गर्न सफल भयो ।

राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको गीतमा राजनराज सिवाकोटीकै शब्द/संगीत थियो । गीतमा कोरियोग्राफर कविराज गहतराजले फिल्मका थुप्रै कलाकारहरुलाई  समावेश गरेका थिए । युट्युबमा पनि हिट रहेको गीतलाई अहिलेसम्म १ करोड ३४ लाख भन्दा बढीले हेरिसकेका छन् ।

२) निरा: फिल्म ‘पुरानो डुंगा’मा समावेश ‘निरा’ बोलको गीत यो बर्षको चर्चित गीतको दोस्रो नम्बरमा परेको छ । टिपिकल नेपाली शब्द प्रयोग गरेर बनाइएको यो गीतलाई पनि बालक देखि वृद्दसम्मले मनमा राखे । यो बर्षको सर्वाधिक कभर भिडियो पनि यहि गीतमै बने । स्टेज कार्यक्रम र देउसी भैलोमा पनि रुचाइएको यो गीत भाइरल नै भएको थियो । गीतमा शब्द/संगीत/स्वर कालीप्रसाद बाँस्कोटाको रहेको छ ।

यो गीतको कभर भिडियोमा अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक कार्टुन क्रिउसंग कम्मर मर्काएकी थिइन् । यहि गीतको हाइपले गर्दा ‘पुरानो डुंगा’ले आक्रामक ओपनिङ गर्न सफल भएको थियो ।

३) ठमेल बजार: यो बर्षको आइटम गीतहरुमा सर्वाधिक लोकप्रिय यो गीत बर्षको सर्वाधिक लोकप्रिय गीतको नम्बर ३ मा परेको छ । तिहारताका रिलिज भएको यो गीतले देउसी भैलोमा खासै कब्जा जमाउन नसकेपनि बिस्तारै देश देखि विदेशका स्टेज कार्यक्रम तताउन सफल भयो । यहि गीतबाट गायिका मिना निरौला र आइटम गर्ल अलिशा राईले पनि लोकप्रियता कमाए ।

कालीप्रसाद बाँस्कोटा र एकतारेको शब्द रहेको गीतमा संगीत पनि कालीप्रसादकै रहेको छ । ठमेल बजारलाई अहिलेसम्म युट्युबमा १ करोड ३९ लाख भन्दा धेरैले हेरीसकेका छन् ।

 

 

४) सिरैमा शिरबन्दि: ‘हाउ फन्नी’ फिल्ममा समावेश गीत यो बर्ष नम्बर ४ मा पर्न सफल भएको छ । टिपिकल शब्दमा बनेको यो गीतलाई केटि दर्शक तथा श्रोताले बढी रुचाए । देउसी भैली र स्टेज कार्यक्रमहरुमा महिलाहरुलाई नाच्नलाई यो गीत पहिलो रोजाईमा पर्यो । प्रियंका कार्की फिचरिङ गीतको भिडियोले समेत लोकप्रियता कमायो ।

बसन्त सापकोटाको शब्द/संगीत रहेको यो गीतमा मेलिना राईले स्वर दिएकी छिन । भिडियोको निर्देशन रेनाशा राईले गरेकी हुन् ।

५) देखन चम्पा: ‘छक्का पन्जा’ फिल्ममै समावेश यो गीत यो बर्षको नम्बर ५  मा परेको छ । सुदुरपश्चिमेली शब्द मिश्रण गरेको बनाइएको यो गीत सुन्दा मंधमुग्द नहुने सायदै थिए होलान । लभ प्यार्टनमा निर्मित गीतलाई सबै उमेर समुहकाले मन पराए । यो गीतमा कृष्ण काफ्लेसंगै निर्देशक दिपाश्री निरौला पनि स्वर दिएकी थिइन् । शान्तिप्रियको शब्द सिर्जना रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन् ।

युट्युबमा यो गीतलाई अहिलेसम्म ५४ लाख भन्दा धेरै पटक हेरिएको छ । यो गीतमा ‘छक्का पन्जा’का मुख्य कलाकार दिपकराज गिरि र प्रियंका कार्की फिचरिङ भएका छन् ।

६) सारे सारे: फिल्म ‘वीर विक्रम’मा समावेश यो गीत यो बर्षको चर्चित छैटौ नम्बरमा पर्न सफल भएको छ । लभ प्यार्टनमा निर्मित गीतमा दिनेश राउतको शब्द रहेको छ । गीतमा ताराप्रकाश लिम्बुको संगीत तथा दिपा लामा र संगीतकार स्वयमको स्वर समावेश छ । रेनाषा राईको कोरियोग्राफी रहेको गीतमा दयाहाङ राई र दिया पुन फिचरिङ छन् ।

७) छपक्कै: फिल्म ‘राधा’मा समावेश यो गीत बर्षकै लोकप्रिय गीतको नम्बर ७ मा पर्न सफल भएको छ । यो गीतमा पनि टिपिकल शब्दहरु प्रयोग गरिएको छ । एकनारायण भण्डारीको शब्द रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् ।

किरण गजमिर र मेलिना राईको स्वर गरहेको गीतमा कवीराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा समावेश जीवन लुइँटेल र संचिता लुइँटेलको केमेस्ट्री रुचाइएको थियो । यो गीतलाई अहिलेसम्म ३१ लाख बढीले हेरेका छन् ।

८) पिक्चर हिट: ‘किस्मत २’मा समावेश गीतले पनि दर्शक श्रोतालाई स्टेज कार्यक्रम र देउसी भैलोमा नचायो । यो डान्सीङ नम्बरलाई कृष्ण काफ्ले र सहिमा श्रेष्ठले गाएका हुन् । लेखु सहयात्रीको शब्द सिर्जना रहेको गीतमा संगीत दिपक शर्माले भरेका हुन् । यो गीतलाई युट्युबमा अहिलेसम्म २१ लाख भन्दा बढीले हेरेका छन् ।

९) के साच्चै तिमि: फिल्म ‘होमवर्क’मा समावेश यो गीतमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ फिचरिङ छन् । नम्बर ९ मा पर्न सफल यो गीतमा ताराप्रकाश लिम्बु र प्रबिशा अधिकारीको स्वर रहेको छ । लभ प्यार्टनमा बनेको यो गीतलाई युवापुस्ताले मन पराए । ताराप्रकाश लिम्बुकै संगीत रहेको यो गीतमा डा: कृष्णहरि बरालको शब्द सृजना रहेको छ ।

१०) बरी लै: ‘लभशासा’ फिल्ममा समावेश यो गीतले प्रेमका कुरा वर्णन गर्छ । प्रेमिल जोडीमाझ लोकप्रिय बनेको यो गीत सुन्दा मन्दमुग्ध जो कोहि पनि हुन्छन । शब्द/संगीत जोशन कुँवरको रहेको गीतमा सुमनिमा सिंह र जोशन कुँवरको स्वर समावेश छ । गीतमा केकी अधिकारी र कर्म फिचरिङ छन् ।

अत्याधिक चर्चामा रहेका गीतहरु: हामीले यहाँ यो बर्ष रिलिज नभएका फिल्मका गीतहरुलाई समावेश गरेका छैनौ । तर, स्मरण गर्नुहोस् यो साल युट्युबमा रिलिज भएर चर्चा कमाएका गीतहरु: काले दाई ‘पर्व’, कसम हो कसम ‘ए मेरो हजुर २’, यी गीतले टप १० पर्ने सामर्थ्य राखे पनि, फिल्म यो साल रिलिज हुन् नसकेपछी टप १० पर्न सकेनन् ।