‘जानी नजानी’ क्यारेक्टर पोस्टरमा देव र मिरा बने मनिष र निरिशा

‘जानी नजानी’ क्यारेक्टर पोस्टरमा देव र मिरा बने मनिष र निरिशा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र १ गतेबाट प्रदर्शको तयारीमा रहेको सिनेमा ‘जानी नजानी’ टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा सिनेमाका मुख्य कलाकार मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहका अलवा डेब्यु गर्ल निरिशा बस्नेतको क्यारेक्टरलाई प्रस्ट्याइएको छ । सिनेमामा मनिषले देव, निरिशाले मीरा, सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन् । लभ स्टोरी कथामा निर्माण भएको सिनेमा यी चार पात्रकै वरपर घुमेको छ, यसैले निर्माण टिमले यी चार कलाकारको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।

क्यारेक्टर पोस्टरमा नामसँग ढाकालाई पनि जोडिएको छ । नेपाली पोशाकको प्रतिक मानिने ढाका र फिल्मको क्यारेक्टर एकआपसमा जोडिएकोले नै यसरि पोस्टर तयार पारिएको निर्देशक बसन्त अधिकारीले बताए । धेरै सफल सिनेमामा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका अधिकारी यसै सिनेमाबाट निर्देशनमा डेब्यु गर्दैछन । आधुनिक प्रेम कथामा आधारित सिनेमाको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । सिनेमामा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

‘मेरो टाइम र टिम राम्रो लाग्यो त्यसैले सिनेमा निर्देशनमा डेब्यु गरे’ निर्देशक अधिकारी भन्छन् ‘सिनेमाले अहिलेको युवा पुस्ताको कथालाई रिलेट गर्छ साथै यसमा प्रेमसँगै दायित्व पनि छ ।’ सिनेमाको कथा राम्रो भएकाले पनि ‘जानी नजानी’लाई लिएर लेखक तिमिल्सेना आशावादी छन् । ‘सिनेमामा प्रेमकथा मियोको रुपमा रहेको छ तर यसको दायाबायाँ राष्ट्रियता र युवापुस्ताले लिनुपर्ने जिम्मेवारीका कुरा पनि छन्’ सामिप्य भन्छन ‘सिनेमाले व्यापार व्यवसायमा नयाँ पुस्ताको सोचलाई पनि प्रतिबिम्बित गर्ने प्रयास गरेको छ ।

’सिनेमाले मनोरञ्जनसँगै सन्देश पनि दर्शकले पाउने निर्माता रोशनीको विश्वास छ । ‘जानी नजानीले आधुनिक पुस्ताको प्रेम कथालाई बोकेको छ’ उनि भन्छिन ‘सिनेमा मेकिङमा कुनै सम्झौता गरेका छैनौं ।’ सिनेमाको छायाँकन नेपालको रमणीय स्थलसँगै भारतको मनालीमा समेत भएको छ । उनले यस अघि डाक्टर खाते फिल्म निर्माण गरिसकेकी छिन, जसले अन्तराष्ट्रिय स्तरमा थुप्रै अवार्ड प्राप्त गर्नुका साथै आफ्नो उपस्थिति समेत जनाएको थियो ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्माण भएको सिनेमाकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । जानी नजानीलाई मोदनाथ खनाल र सागर काजी मालीले मिलेर निर्माण गरेका हुन् । सिनेमामा संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ । भने यसको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो ।