भुवन र अनमोल – साथीजस्ता मिलनसार बाबुछोरा

भुवन र अनमोल – साथीजस्ता मिलनसार बाबुछोरा

द सिनेमा टाइम्स
0
Shares

काठमाडौं, द सिनेमा टाइम्स – थोरै सिनेमा खेलेरै बलियो स्टारडम बनाएका सुपरस्टार अनमोल केसीलाई यतिबेला दुई फिल्म ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ ले चर्चाको शिखरमा पु¥याएका छन् ।  संगै सदाबहार नायक भुवन केसी पनि ‘क्याप्टेन’ कारण चर्चामा छन् । 

सुपर काजोल फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमा ‘क्याप्टेन’ ले अहिले बाबुछोरालाई दर्शकमाझ संगै ल्याएको छ । अन्तर्वार्तामा अनमोलले आफ्ना बाबुको जति खुलेर तारिफ गर्छन्, त्यति नै तारिफ भुवनले पनि छोरा अनमोलको गर्छन् ।

अनमोल केसी र भुवन केसीको सम्बन्ध बाबुछोराको मात्र नभएर साथीको जस्तो छ । जसको फाइदा बाबुका कारण छोरालाई र छोराका कारण बाबुलाई मात्र नभएर बाबुछोराका कारण सिनेमा क्षेत्रलाई पुगेको भन्न थालिएको छ ।

भुवन सुनाउँछन् – ‘एउटा जमानामा म पनि अहिले अनमोलजस्तै व्यस्त थिएँ तर मलाई के लाग्थ्यो त्यतिबेला कसरी नेपाली सिनेमा उद्योगलाई राम्रा सिनेमा दिने भन्ने सोचले पिरोल्थ्यो । अहिले अनमोलको करिअरमा पनि ऊ राम्रा सिनेमा मात्र काम गरोस् भन्ने लाग्छ ।’

अनमोल पनि बाबु भुवनको त्यो बानीबाट प्रभावित भएको बताउँछन् । उनले बुबाका सिनेमा हेरेर र बुबाले दिने सल्लाहमा विचार गरेर दर्शकको चाहना अनुसारका सिनेमामा काम गर्ने गरेको स्वीकार्छन् । ‘ड्याडीले पनि मलाई सल्लाह दिनुहुन्छ । उहाँले नेपाली सिनेमालाई दिएका सिनेमा हेरेर पनि मैले धेरै कुराको सिकेको जस्तो लाग्छ ।’, अनमोल भन्छन् ।

मिडियामा कहिलेकाहिँ अनमोलले सिनेमा खेल्ने कि नखेल्ने भन्नेमा पनि बुबाले निर्णय गर्ने गरेको खबर आउने गर्छ । यो गुनासो निर्माताहरुले नै लगाउने हुन् । भुवनले भने आफूले अनमोललाई यो सिनेमा खेल्नुपर्छ अथवा यो नखेल भनेर कहिल्यै नभनेको बताउँछन् ।

‘अनमोलले कुन सिनेमा खेल्ने भनेर आफैले निर्णय गर्ने हो । मेरो छोरा आफै बुझ्ने छ । कहिलेकाहिँ सोध्यो भने मैले सल्लाह दिने एउटा कुरा हो । तर मैले सिनेमा खेल्ने दबाब दिने भन्ने होइन । यो उसकै रोजाइ हो ।’, भुवनको भनाइ छ ।

अनमोल पनि बुबाको कुरामा समर्थन जनाउँछन् । बुबाले सिनेमामा यस्तो गर भनेर आफूलाई नभन्ने अनमोल बताउँछन् । उनी भन्छन्, ‘कोही निर्मातासँग मेरो नम्बर हुँदैन । उहाँहरुले ड्याडीलाई फोन गर्नुहुन्छ । त्यसपछि मलाई मन परेन भने बुबाले नै निर्माता ज्युसँग सिनेमा नभएको बताउनुहुन्छ । त्यही भएर निर्माता ज्युहरुलाई त्यस्तो लागेको हुनसक्छ ।’

अनमोल अभिनित सिनेमा ‘क्याप्टेन’ यही फागुन १७ गतेबाट रिलिज हुँदैछ । स्पोर्टस् जानरामा बनेको यो सिनेमा ट्रेलर तथा गीतले रिलिज अघि निकै नै तारिफ बटुलेको छ । भुवन र अनमोल यो सिनेमाको एक गीतमा नायिका निरुता सिंहसँग एकसाथ नाचेका थिए । उक्त गीतले दर्शकको मन जितेको छ । सिनेमामा भुवनको भूमिका छ कि छैन भन्ने बारेमा भने केही खुलाइएको छैन ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको सिनेमामा, सुपर काजल फिल्मसको ब्यानरमा भुवन केसीले निर्माण गरेका हुन् ।