अनमोल उर्फ इशान: सबैको रोजाइ, चौतर्फी क्रेज

अनमोल उर्फ इशान: सबैको रोजाइ, चौतर्फी क्रेज

द सिनेमा टाइम्स
0
Shares

काठमाडौं, द सिनेमा टाइम्स – सुपरस्टार अनमोल केसीको स्टारडमलाई यतिबेला दुई फिल्म ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ ले चर्चाको शिखरमा पु¥याएका छन् । सिनेमा ‘कृ’ पछि मिडियामा खासै नदेखिएका अनमोल केही महिनायता मिडियाभरी छाएका छन् । उनको चर्चा चौतर्फी रुपमा भइरहेको छ भन्दा फरक पर्दैन ।

केही दिनअघि मात्र फागुन १७ गतेबाट रिलिज हुन लागेको सिनेमा ‘क्याप्टेन’ को प्रचारका लागि नेपालगञ्ज पुगेका अनमोलको त्यहाँ देखिएको फ्यान क्रेजले नै थाहा हुन्छ, उनको क्रेज कतिसम्म छ ।


नेपालगन्जमा  अनमोल

सरल स्वभावका अनमोल एकदमै जिम्मेवार भएको उनलाई नजिकबाट चिन्नेहरु भन्छन् । अनमोलसँग काम गरेका सिनेकर्मीहरु भन्ने गर्छन्, ‘अनमोलको कामप्रतिको लगाव देख्दा अचम्म लाग्छ । सिनेमाका लागि उनले कडाभन्दा कडा मिहिनेत गर्छन् ।’

बाहिरी प्रोजेक्टसँगै होम प्रोजेक्टका सिनेमामा पनि निरन्तर काम गरिरहेका अनमोल बाहिरी प्रोजेक्टमा भन्दा बढी होम प्रोजेक्टमा काम गर्न रुचाउँछन् । ‘होम प्रोजेक्टमा काम गर्दा सधै सिनेमाका कन्सेप्टबाट नै सोच्न पाइन्छ तर बाहिरका प्रोजेक्टमा काम गर्दा अरुले तयार पारेको पात्रमा काम गर्ने कि नगर्ने भन्ने निर्णय लिन पाइन्छ,’ अनमोल सुनाउँछन्, ‘कुनै प्रोजेक्टसँग काम गर्दा भने होम प्रोजेक्टमा काम गर्दाजस्तै लागेको लाग्छ । झरना (थापा) दिदीसँग काम गर्दा होम प्रोजेक्टमा काम गरेको झैँ सजिलो भयो ।’

अहिले युवापुस्तामा निकै नै रुचिको नाम बनेका अनमोलले दर्शकले आफूलाई कस्तो भूमिकामा चाहनुहुन्छ भन्ने कुरामा सधै चासो राख्ने गरेको बताउँछन् । पहिलेका सिनेमामा अभिनयलाई लिएर दर्शकले नै विभिन्न कमेन्ट गर्ने गरे पनि अब भने ती कमेन्टलाई आफूले सुधार्दै लगेको उनको भनाइ छ ।उनी भन्छन्, ‘म सिक्दैछु, सकेसम्म राम्रो गर्ने प्रयास गरिरहेको छु ।’

हुन पनि पछिल्ला सिनेमामा अनमोलले गरेको कामको तारिफ हुन नथालेको होइन । अर्कातिर उनको डिमान्ड पनि झन ‘हाइ’ भइरहेको छ । जति नै मार्केटमा हाइ डिमान्ड भए पनि उनी छानेर सिनेमा खेल्ने अभिनेतामा पर्छन् । उनी चाहन्छन्, दर्शकको विश्वास खेर नजाओस् । अनमोलले राम्रा सिनेमा मात्र खेल्छ भन्ने छाप आफ्ना दर्शकमा परोस् ।

‘मेरा लागि पैसा भनेको केवल नम्बर हो, सबैभन्दा ठूलो कुरा दर्शकको माया र काम हो । पैसा कमाउन हुन्थ्यो भने थुप्रै सिनेमाहरुमा काम गरिरहेको हुन्थेँ तर मलाई जस्तो पायो त्यस्तै सिनेमा खेलेर दर्शकलाई निराश गर्नु छैन ।’, अनमोल सुनाउँछन् ।

निर्माताहरुले भने अनमोललाई सिनेमा खेलाउन निकै गाह्रो हुने गरेको गुनासो गर्छन् । उनीहरुका अनुसार अनमोलले सिनेमा खेल्ने भनेर लिएको एडभान्स समेत फिर्ता गरिदिने गर्ने गर्छन् कुरा नमिलेको खण्डमा ।

‘मैले सिनेमाको स्किृप्ट पढ्दा नै यो सिनेमा यस्तो बन्ला भनेर एउटा भिजन बनाउने गर्छु । कहिलेकाहीँ त्यो भिजन क्लियर देख्दिन । त्यही भएर पनि सिनेमा छोड्नुपर्ने अवस्था आउँछ,’ अनमोल अगाडि थप्छन्, ‘मलाई लाग्छ, दर्शकलाई भन्दा पहिले त्यो सिनेमा आफूलाई मन पर्नुपर्छ । त्यसपछि मात्र त्यो सिनेमा दर्शकलाई मन पर्छ ।’


फागुन १७ गतेबाट रिलिज हुन लागेको सिनेमा ‘क्याप्टेन’ सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको हो । सिनेमालाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।