२० दिनमा सकियो अर्पण, बेनिशा र सुरक्षाको ‘घर’

२० दिनमा सकियो अर्पण, बेनिशा र सुरक्षाको ‘घर’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अर्पण थापाको निर्देशनमा तयार भैरहेको सिनेमा ‘घर’को छायांकन २० दिनमा सकिएको छ । हरर कथामा निर्माण भएको सिनेमा उत्कृष्ट बनाएको दाबी निर्मात्री शर्मिला पाण्डेले गरेकी छिन् । काठमाण्डौका विभिन्न स्थानमा यो सिनेमाको छायांकन गरिएको छ । ‘घर’को कथा अभिनेता तथा निर्देशक अर्पण थापाले नै लेखेका हुन् ।

सिनेमा ‘घर’मा नायक अर्पण थापाको साथमा दुई नायिका बेनिशा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । सिनेमाको बिषयमा निर्मात्री पाण्डेले भनिन्–‘यसपटक हामीले धेरै तयारी गरेकाले पनि छायांकन चाडै नै सकियो । दिनरात नभनी काम गरेका छौ । सिनेमाले दर्शकलाई मनोरञ्जन मात्र होइन, हरर कथामा बनेका नेपाली सिनेमाले दर्शकलाई छुट्टै खालको महशुश गर्न सक्दैनन् भन्ने आरोपलाई पनि तोड्नेछ ।’

सिनेमालाई डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो । सिनेमालाई निरज कँडेलले छायांकन गरेका हुन् । सिनेमामा पहिलो पटक निर्देशक दीपेन्द्र के खनाल र सुरज पाण्डेले लगानी गरेका छन् । सुरजले यसअघि दिपेन्द्रको निर्देशनमा निर्माण भएको सिनेमा लभ लभ लभमा मुख्य कलाकारको रुपमा काम गरेका थिए । सिनेमाका निर्माता मध्येका एक दिपेन्द्रले भने–‘यो सिनेमाले दर्शकलाई तर्साउनेछ । हामीले कथावस्तुदेखि धेरै कुरामा मिहिनेत गरेका छौ । अब, भीएफएक्सको पनि काम धेरै छ । प्रदर्शन मिति चाडै नै तोक्नेछौ ।’

सिनेमामा अभिनेत्री बेनिशा हमालको गेटअप केही फरक देखिएको छ । बेनिशाले आफ्नो गेटअपको बिषयमा केही खुलाउन नमिल्ने बताइन् । नायिका सुरक्षा पन्त यो सिनेमामा अर्पणकी श्रीमतीको भूमिकामा देखिदैछिन् ।