कलेजका विद्यार्थीमाझ ‘दि ब्रेकअप’को प्रचार

कलेजका विद्यार्थीमाझ ‘दि ब्रेकअप’को प्रचार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगमी फागुन १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा हो ’दि ब्रेकअप’ । सिनेमाको सार्वजनिक ट्रेलर तथा गीत संगीतले दर्शक तथा शुभचिन्तकहरुबाट लोकप्रियता बढाउँदै जाँदा निर्माण टिमले यतिबेला प्रचार प्रसारलाई तिब्रता दिइरहेको छ । दर्शकमाझ प्रत्यक्ष रुपमा सिनेमालाई पुर्याउन प्रचारलाई प्राथमिकता दिँदै निर्माण टिम आइतबार सरस्वती पूजा लक्षित कार्यक्रमका लागी पुल्चोक इन्जिनियरिङ कलेजमा पुगेको थियो ।

श्री पञ्चमीको उपलक्ष्यमा ब्रेकअप टिम विधार्थीमाझ पुगेको थियो । लिड अभिनेता आशिरमान देशराज जोशी, रेमनदास श्रेष्ठ र इच्छा कार्की स्टेज चढ्दा उपस्थित हजारौँ दर्शकले हुटिङ र ताली दिएका थिए । त्यसपश्चात नजिकिँदो ’भ्यालेन्टाइन डे’ लक्षित गर्दै सुरुमै आशिरमाले लभ र ब्रेकअपको कुरा विद्यार्थीमाझ सुनाए ।

कार्यक्रम पश्चात कुरा गर्दै आशिरले सिनेमाको मुख्य कन्टेन्ट नै युवा लक्षित भएको भन्दै कलेज केन्द्रित प्रचारमा जोडिएको बताए । पछिल्लो पुस्ता प्रेमबाट टाढा नरहेको भन्दै आशिरले माया गर्ने जो कोहिको लागी पनि ’दि ब्रेकअप’ मनोरञ्जनको उपयुक्त खुराक बन्ने बताए ।

निर्देशक हेमराज बिसी सहित उपस्थित युनिटले सिनेमामा समावेश ’आज हाम्रो भेट भएको दिन’ बोलको गीतमा नृत्य पनि गर्यो । आशिर र इच्छाले स्टेजमा कम्मर मर्काउँदा दर्शक तथा विधार्थीहरुले साथमा साथ दिएका थिए । त्यसपछि आशिरमानका क्रेजी फ्यानहरु सेल्फी र अटोग्राफमा रमाए । एक युवती फ्यानले कापी र डायरीको अभावमा आफ्नो साथमा भएको एक हजारको नोटमै अटोग्राफ लिइन् ।

रुपक थापा, दीपक खतिवडा र रेनु राणाको निर्माणमा बनेको ’दि ब्रेकअप’मा शिल्पा मास्के, सरोज खनाल लगायतको मुख्य भुमिका रहेको छ । सिनेमालाई नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको छ । नरेन्द्र मैनालीले छायाँकन गरेको सिनेमालाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।