‘समर लभ’ मोफसल प्रचारमा

‘समर लभ’ मोफसल प्रचारमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘समर लभ’ ले रिलिज मिति नजिकिँदै गर्दा कलाकारसहित प्रचारका लागि तीव्रता दिएको छ । आउँदो माघ २५ गतेबाट प्रदर्शनमा आउने यो सिनेमाले पश्चिम नेपालदेखि आफ्नो यात्रा थालेको हो ।

निर्माण टिम यतिबेला मोफसलका दर्शकसँग भेटघाट तथा मिडिया कुराकानीमा लागेको छ । सिनेमा टिम नेपालगञ्जबाट आफ्नो यात्रा शुरु गरेर दाङ, घोराही, बुटवल, चितवन, धरान, इटहरी, दमक, बिर्तामोडसम्म पुग्यो । लिड कलाकार आशिष पिया र रेवती क्षेत्री सहितको टिम मंगलबार पोखरा केन्द्रित प्रचारको लागि पोखरा पनि पुग्ने भएको छ ।

यो बीचमा फिल्ममा समावेश ‘हेरन बाँझो मनभरी’ बोलको गीतको जिङ्गल सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको संगीत तथा सुमित विश्वकर्माको स्वर रहेको सार्वजनिक सांगितिक सामग्रीमा आशिष र रेवतीका रोमाञ्चक पलहरु समावेश छन् ।

मुस्कान ढकाल निर्देशित फिल्मलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहँदा एकराज तामाङ लाईन प्रोड्यूसरमा छन् भने सोपन सरकार र मनोज बिक सह- निर्माता हुन् । फिल्ममा आशिष र रेवतीको साथमा नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी, कविता रेग्मी, ओमप्रतिक गुरुङ लगायत अभिनयमा छन् ।

सुबिन भट्टराईको चर्चित कृति समर लभमा आधारित यो फिल्मको ट्रेलरसँगै यसअघि सार्वजनिक ‘साया’ बोलको गीतले उत्कृष्ट हाइप बनाइसकेको छ, सामाजिक सञ्जालमा लोकप्रियता बढ्दो हुँदा निर्माण टिम उत्साहित छ । उपन्यासलाई फिल्ममा ढाल्दा पटकथा भने सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवाद लेखनमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् ।