मुस्ताङमा पयर्टक बढेको नेपाली चलचित्रले होः मिलन चाम्स

मुस्ताङमा पयर्टक बढेको नेपाली चलचित्रले होः मिलन चाम्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक मिलन चाम्स पछिल्लो समयका चर्चित निर्देशकमध्ये एक हुन् । दिनमा तीनवटा सिनेमामा एकसाथ काम गर्न भ्याएका चाम्स यतिबेला आफ्नो सिनेमा ‘वीर विक्रम २’ मा व्यस्त छन् । सिनेमा रिलिजको नजिक रहँदै गर्दा उनले निर्देशनको कमाण्ड सम्हालेका केही सिनेमा पाइपलाइनमा पनि छन् ।

स्टार कलाकार प्रदीप खड्कालाई लिएर ‘लिलिबिली’ निर्देशन गरेका यी निर्देशकले यतिबेला अर्का युवास्टार पल शाहलाई लिएर सिनेमा निर्देशन गरिरहेका छन् । यो लगत्तै चाम्स अहिलेका चर्चित अभिनेता अनमोल केसीलाई लिएर पनि सिनेमा बनाउँदै छन् ।

यी व्यस्त निर्देशक चाम्सले मुस्ताङमा पर्यटक धेरै जानुमा नेपाली सिनेमा मुख्य कारण भएको बताए । पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक मुस्ताङमा जाने पर्यटकको सङ्ख्या बढेको छ । यसको मुख्य कारण नेपाली सिनेमा भएको पनि उनले बताए ।

विगतका केही वर्षयता नेपाली सिनेकर्मीको आँखामा हिमाली जिल्ला मनाङ तथा मुस्ताङ पर्न थालेपछि सिनेमामार्फत मनाङ तथा मुस्ताङको प्रमोसन भएको उनको बुझाई छ ।

सिनेमा ‘वीर विक्रम २’ मा समावेश रिमेक गीत ‘पिरतीको मीठो तिर्सना’ गीत मुस्ताङमा छायांकन गरिएको छ । उक्त गीतमा मुस्ताङका रमणीय दृश्यलाई प्रस्तुत गरिएको छ भने कलाकारको भेषभुषामा पनि विशेष ध्यान दिइएको छ । बिहीवार भएको उक्त गीत सार्वजनिकीकरण कार्यक्रममा पत्रकारले निर्देशक चाम्सलाई सोधे – यो गीत किन मुस्ताङमा छायांकन गर्नुभएको? गीतले मुस्ताङ खोज्यो कि, कथाले खोज्यो?

यसको उत्तरमा निर्देशकले चाम्सले भने, ‘खासमा गीतले मुस्ताङ खोजेको हो, पहिले त हामीले यो गीत काठमाडौंमै छायांकन गर्ने कि भनेर सोचेका थियौँ, तर पछि मुस्ताङमा जाँदा राम्रो पनि हुने र मुस्ताङको प्रमोसन पनि हुने भएकाले हामीले त्यहीँ पुगेर भिडियो छायांकन ग¥यौँ ।’

गीतमा मुख्य गरी पल शाह, वर्षा शिवाकोटी र नाजिर हुसेनलाई मुख्य भूमिकामा अभिनय गराइएको छ । गीतको भिडियोलाई अहिलेका चर्चित कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने सुदीप बरालको निर्देशनमा छायांकन गरिएको छ ।

यो गीत सिनेमा ‘देउता’ मा समावेश ‘पिरतीको मीठो तिर्सना’ को रिमेक भर्सन हो । गीतका शब्द कुसुम गजमेर र तुलसी घिमिरेले लेखेका हुन् भने रञ्जित गजमेरले संगीत दिएका हुन् । नयाँ भर्सनमा ताराप्रकाश लिम्बु र मेलिना राईको स्वर सुन्न सकिन्छ ।

मिलन चाम्सले निर्माण तथा निर्देशन गरेको यो सिनेमाले रिलिज मिति तय गरिसकेको छैन । सार्वजनिक गरिएको गीतमा दर्शकको राम्रो प्रतिक्रिया आइरहेको छ ।