अनमोल केसी: स्कुलमा बास्केटबल खेल्थे, ‘क्याप्टेन’का लागि फुटबल सिके

अनमोल केसी: स्कुलमा बास्केटबल खेल्थे, ‘क्याप्टेन’का लागि फुटबल सिके

द सिनेमा टाइम्स
0
Shares


द सिनेमा टाइम्स, काठमाडौं – युवा स्टार अनमोल केसी सधै चर्चामा आइरहने अभिनेता हुन् भन्दा खासै फरक पर्दैन । किनकि उनको चर्चा त्यतिबेलाबाट हुन थालेको थियो, जतिबेला अनमोल केसीले सिनेमा ‘साथी म तिम्रो’ मा अतिथि भूमिकामा अभिनय गरे । त्यसपछि उनको चर्चा हुँदै आएको छ । उक्त सिनेमादेखि ‘कृ’ सम्म आइपुग्दा अनमोलले लाखौँ फ्यान कमाएका छन् ।

अभिनयसँगै उनको चकलेटी रुप र स्वभावको पनि उत्तिकै चर्चा हुने गर्छ सिनेमा वृत्तमा ।

कतिपयले उनलाई एक मात्र युवा स्टार समेत भनिदिने गर्छन् । उनलाई फ्यानले ‘मेगास्टार’ को ट्याग पनि दिएका छन् । त्यसो त केही सिनेमामा अभिनय गर्दैमा ‘मेगास्टार’ को ट्याग सुहाउँछ? भनेर प्रश्न उठ्दै नउठेको पनि होइन ।

क्याप्टेनको गीतमा अनमोल केसी र उपासना सिंह ठकुरी

अनमोल स्वयम् पनि आफूले पाएको ट्यागलाई भन्दा कामलाई बढी महत्त्व दिने गर्छन् । उनी चाहन्छन्, दर्शकले आफ्नो कामको तारिफ गरुन् । सिनेमालाई स्तरीय बनाउन आफ्नो पनि भूमिका होस् ।

‘मलाई फ्यानहरुले मेगास्टार भन्नुहुन्छ, यो उहाँहरुले दिएको माया हो, मैले मेगास्टार भन्नुपर्छ भनेको पनि छैन, म अझै सङ्घर्ष गर्दै गरेको कलाकार हुँ, म अनमोल केसी हुँ ।’, अनमोल भन्ने गर्छन् ।

केही दिनअघि रिलिज भएको सिनेमा ‘क्याप्टेन’ को गीतमा केसी नायिका उपासना सिंह ठकुरीसँग देखिएका छन् अनमोल । उक्त गीतबाट दर्शकबाट राम्रो प्रतिक्रिया पनि आइरहेको छ । यो सबै दर्शकले दिएको माया भएको बताउँछन् उनी ।

टाढाबाट मूल्यांकन गर्नेले अनमोललाई मुडी होला भनेर अनुमान गर्ने गरेपनि नजिकबाट चिन्नेका लागि भने अनमोल मिलनसार र भद्र लाग्छन् । उनलाई नजिकबाट चिन्नेले अनमोलको खुलेरै तारिफ गर्छन् । उनीसँगै काम गरेका कतिपय सिनेकर्मीले अनमोलले आफ्नो सिनेमामा निभाउने भूमिकाका लागि कडा मेहनत गर्ने धारणा राख्छन् ।

अनमोलले सिनेमा ‘क्याप्टेन’ मा पनि निकै मेहनत गरेका छन् । ‘मैले कहिल्यै पनि फुटबल खेल्दिनथेँ, यही सिनेमाका लागि तीन महिना फुटबल खेल्न सिकेँ, समय पाएको भए अझै राम्रो गर्न सक्थेँ’, अनमोल सुनाउँछन्, ‘स्कुल पढ्दा अग्लो छ भनेर बास्केटबलमा हालिदिन्थे, रोमान्टिक सिनेमाको तुलनामा काम गर्न केही गाह्रो भए पनि अभिनयलाई शतप्रतिशत दिन खोजेको छु ।’

फिल्मी जीवनसँगै अनमोललाई कहिलेकाहीँ उनको प्रेम जीवनसँग जोडेर पनि हेर्ने गरिन्छ । केही दिनयता अनमोल र नायिका सारा सिर्पाली प्रेम सम्बन्धमा रहेको हल्ला फैलिएको थियो । यी दुवैले यो केबल हल्ला भएको बताउँदै आएका छन् । यही हल्लालाई स्पष्टीकरण दिँदै अनमोल थप्छन्, ‘हामीबीच प्रेम छैन, सारा र म राम्रो साथी चाहिँ हो, के भयो त? यो क्षेत्र सानो छ, साथी बन्न सकिन्छ, भेटेर के भयो त भन्ने पनि लाग्छ, यहाँ बेकारको हल्ला चलाइन्छ ।’

अनमोल अभिनित सिनेमा ‘क्याप्टेन’ आउँदो फागुन १७ गते रिलिज हुँदैछ ।स्पोर्टस जानरामा निर्माण भएको  सिनेमामा अनमोल खेलाडीको रुपमा देखिनेछन् । यही सिनेमाबाट नायिका प्रियंका एमभी र उपासना सिंह ठकुरीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।दीवाकर भट्टराई सिनेमाका  निर्देशन  हुन्।

सिनेमा ‘कृ’ पछि पर्दामा आउन लागेका अनमोलको नयाँ वर्ष पारेर ‘ए मेरो हजुर ३’ पनि रिलिज हुँदैछ । छोटो समयमै दुई सिनेमा रिलिज हुँदा दर्शकलाई मोनोटोनस हुने हो कि भन्ने पनि प्रश्न उठ्न थालेको छ ।

अनमोल भने दुवै सिनेमामा आफ्नो भूमिका फरक भएकाले दर्शकलाई ‘बोर’ नलाग्ने बताउँछन् । उनी भन्छन्, ‘यति छिटो दुई सिनेमा नआए हुन्थ्यो भनेर मैले पनि मिलाउन खोजेको हुँ, आउने कुरा छ, तर दुवै सिनेमामा बिल्कुलै फरक भूमिका भएकाले एउटा सिनेमाले अर्कोलाई असर गर्दैन, दर्शकले दुवै सिनेमामा फरकपन पाउनुहुनेछ ।’