मैले ‘मेगास्टार’को ट्याग मागेको छैन : अनमोल केसी

मैले ‘मेगास्टार’को ट्याग मागेको छैन : अनमोल केसी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समयका सबैभन्दा सफल र ब्यस्त नायक हुन अनमोल केसी । उनले अभिनय गरेका ५ सिनेमा सार्वजनिक रुपमा प्रदर्शनमा आइसकेका छन् । भने ‘क्याप्टेन’ आगामी फाल्गुन १७ गतेबाट प्रदर्शनमा आउँदैछ । यस्तै उनकै मुख्य भुमिका रहने सिनेमा ‘ए मेरो हजुर ३’ छायाँकनको अन्तिम चरणमा छ । यो सिनेमा आगमी नयाँ वर्षको अवसरमा चैत्र २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

अनमोलले अभिनय गरेका ५ सिनेमाबाट उनलाई  सफलता मिलेको  छ । जसले गर्दा पछिल्लो समयमा उनको दर्शकमाझ लोभ लाग्लो क्रेज छ । यसैले गर्दा नै अनमोल अहिले सार्वधिक महँगा र निर्माता निर्देशकले सवैभन्दा धेरै खोजीने अभिनेता हुन् । उनलाई सिनेमामा लिएपछि फ्लोरमा निस्कनुभन्दा अगाडि नै निर्माताको लगानी सुरक्षित भइसकेको हुन्छ । उनको नयाँ सिनेमा  ‘क्याप्टेन’ फागुन १७ गतेबाट प्रदर्शनमा आउँदैछ । यही सिनेमाको बिहीवार ‘रहर छ सँगै….’ बोलको गीत सार्वजनिक भएको छ ।

गत वर्ष अभिनेता अनमोललाई फिल्म ‘कृ’ को एक कार्यक्रममा सञ्चारकर्मी नरेश भट्टराईले ‘मेगास्टार’ को ट्याग दिएपछि यसले ठूलै बहस जन्मायो । सञ्चारकर्मीले उनलाई अहिले नै यो ट्यागको जिम्मेवारी सुम्पनु गलत रहेको तर्क राखे पनि अनमोलका ‘डाइहार्ट फ्यान’ ले उनलाई ‘मेगास्टार’ को रुपमा सहजै स्वीकार गरेका छन् ।


बिहीवार सिनेमा ‘क्याप्टेन’ को गीत रिलिज कार्यक्रममा पत्रकारले ‘मेगास्टार’ को परिभाषा सञ्चारकर्मी नरेश भट्टराई, निर्माता तथा अभिनेता भुवन केसी र अभिनेता अनमोल केसीसँग खोज्ने प्रयास गरे । सञ्चारकर्मी भट्टराईले लगातार सिनेमा  हिट दिएको, लोभलाग्दो क्रेज भएको, सर्वाधिक डिमान्ड भएको र मिडियाको ठूलो भिड उनकै पछाडि लाग्ने हुँदा ‘मेगास्टार’ भनेको प्रस्ट्याए ।

अभिनेता भुवन केसी भने दर्शकले माया गरेर जे ट्याग दिए पनि स्वीकार्य रहेको बताउँछन् । उनी भन्छन्, ‘हामीलाई यो ‘स्टार भन्नुस् भनेर कहिल्यै भन्दैनौं । हामी दर्शकको मायाका लागि काम गर्छौं । दर्शकले मायाले ‘सुपरस्टार’, ‘स्टार’ वा ‘सदाबहार’ जस्ता उपनाम दिनुहुन्छ भने हामी उहाँहरुलाई धन्यवाद मात्र भन्न सक्छौं ।’ उनको बुझाईमा लगातार सिनेमा  हिट भएको अभिनेतालाई ‘सुपरस्टार’ भन्ने गरिन्छ ।

अभिनेता अनमोल भने आफूले कुनै उपनामका लागि काम नगरेको बताउँछन् । उनी भन्छन्, ‘मैले मलाई ‘मेगास्टार’ भन्नुस् भनेर भनेको छैन । मेरा फ्यानहरुले दिनुभएको ट्याग हो । यसकारण सबैलाई धन्यवाद दिन चाहन्छु ।’ प्रश्न अनुसारको उत्तर दिन माहिर मानिने अनमोल सिनेमा ‘क्याप्टेन’मा फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् ।