प्रिमियरमा ‘प्रसाद’लाई तारिफै–तारिफ, भुवनले भने – ‘माइन्ड ब्लोइङ सिनेमा’

प्रिमियरमा ‘प्रसाद’लाई तारिफै–तारिफ, भुवनले भने – ‘माइन्ड ब्लोइङ सिनेमा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोलि शुक्रवारबाट अर्थात् मंसिर २१ बाट प्रदर्शनमा आउने सिनेमा ‘प्रसाद’ ले तारिफ बटुलेको छ । बुधवार काठमाडौंको बिग सिनेमामा गरिएको प्रिमियरपछि सेलिब्रेटी तथा पत्रकारले सिनेमाले मन जितेको प्रतिक्रिया दिए ।

प्रिमियरमा सिनेमाको कथाले निकै मन छोएको सेलिब्रेटीले प्रतिक्रिया दिए । निःसन्तान दम्पतीको जीवनमा आएका विविध समस्यालाई उठान गरिएको यो सिनेमालाई सुशील पौडेलले लेखेका हुन् । लामो समयदेखि सिने पत्रकारितामा सक्रिय पौडेलको यो पहिलो सिनेमा लेखन हो । दिनेश राउतले निर्देशन गरेको यो सिनेमाको निर्देशकीय पक्षलाई पनि तारिफ गरिएको छ भने नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारले गरेको अभिनयको पनि उत्तिकै तारिफ गरियो ।

प्रिमियरपछि सदावहार नायक भुवन केसीले सिनेमाले आफ्नो मन छोएको बताए । उनले कमेडी सिनेमाको बजार भएपनि यो सिनेमा हेर्ने दर्शकले सन्देशसहित मनोरञ्जन समेत पाउने धारणा व्यक्त गरे । ‘सिनेमाले निकै मन छोयो, माइन्ड ब्लोइङ एण्ड आउट स्टान्डिङ बनेको छ, गम्भीर पाठकका लागि यो सिनेमा हेर्नैपर्ने सिनेमा हो ।’, भुवनले भने ।

यस्तै सिनेमाको तारिफ गर्दै निर्माता तथा कलाकार दीपकराज गिरीले सिनेमाले आफ्नो मन छोएको बताए । उनले भने, ‘सिनेमा गम्भीर बनेको छ, म्यासेज पनि छ, शुरुमा केही समय ठीकै लागेपनि पछि भने सिनेमाले आँखा झिम्काउन पनि दिँदैन ।’, गिरीले भने ।

सिनेमा हेरिसकेपछि ‘इन्टु मिन्टु लण्डनमा’की निर्देशक रेनशा वान्तवा राईले पनि सिनेमाले आफ्नो मन जितेको बताइन् । कलाकार केदार घिमिरे (माग्ने बूढा) ले पनि सिनेमाको तारिफ गरे ।

सिनेमा हेर्न चर्चित रियालिटी शो ‘नेपाल आइडल’ का प्रतियोगीहरुले समेत सिनेमा हेरेका थिए । सिनेमा हेरिसकेपछि सबै प्रतियोगीले सिनेमा मन परेको बताए ।

यस्तै सिनेमा ‘प्रसाद’ हेरिसकेपछि कैयन् सिनेकर्मीले सिनेमा राम्रो लागेको प्रतिक्रिया दिएका छन् । निर्देशक दीपेन्द्र के. खनालले फेसबुकमा लेखेका छन्, ‘विषयकेन्द्रित, मौलिक, मीठो प्रसाद, बधाई तथा शुभकामना निर्देशक दिनेश राउत, लेखक सुशील पौडेल तथा सम्पूर्ण टिमलाई ।’

यस्तै सिनेमाको तारिफ गर्दै निर्माता माधव वाग्ले, अर्जुन कुमार, रोहित अधिकारी, रामबाबु गुरुङ लगायतले स्टाटस लेखेका छन् ।

सिनेमाले निःसन्तान दम्पतीको कथालाई उठान गरेको छ । सिनेमामा विपिन कार्की र नम्रता श्रेष्ठ पतीपत्नीको भूमिकामा छन् भने निश्चल बस्नेतले नेगेटिभ भूमिकामा देखिएका छन् । यो सिनेमालाई सुभाष थापाले निर्माण गरेका हुन् ।