अब छानेर मात्र सिनेमा गर्छु -दयाहाङ राई

अब छानेर मात्र सिनेमा गर्छु -दयाहाङ राई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राईले सिनेमा ‘लूट’ पछि यो क्षेत्रमा जादु नै देखाए । यो सिनेमाभन्दा पहिले उनलाई खासै दर्शकले चिन्दैनथे । तर, जब रातारात निश्चल बस्नेत निर्देशित सिनेमा ‘लूट’ चल्यो, त्यसपछि दयाहाङ राई पनि एकाएक उदाए ।

लगत्तै दयाहाङ राई अभिनित सिनेमा एकपछि अर्को गर्दै रिलिज हुन थाले । तीमध्ये धेरै सिनेमा हिट पनि भए । हिट हुने र नहुने एउटा कुरा भयो, तर दयाहाङ राईका सिनेमाले बजारमा माहोल भने तताइरहे ।

मल्टिप्लेक्समा विदेशी सिनेमा मात्र चल्ने गर्थे । पछि हलमा नेपाली सिनेमा पनि चल्न थाले । दयाहाङ राई लामो समय व्यस्त अभिनेताको सूचीमा परे । कतिपय निर्माता, निर्देशकले त दयाहाङ राईलाई आफ्नो सिनेमामा लिनका लागि वर्षौं कुरेको पनि बताउँछन् ।

तर अहिले भने दयाहाङ केही सुस्त देखिएका छन् । गतवर्ष रिलिज भएका उनका सिनेमाले चर्चा त कमाए तर नाफा कमाउन सकेनन् । सिनेमा कला मात्र होइन, यो व्यापार पनि हो भनेर भन्ने गरिन्छ । यसको एउटा कारण त दर्शकले धेरैभन्दा धेरै सिनेमामा देखेर होला । अहिले भने उनले सिनेमा छानेर मात्र अभिनय गर्ने बताएका छन् ।

पछिल्लो समयमा आएर दयाहाङले भन्न थालेका छन्, ‘अब छानेर मात्र सिनेमा गर्छु ।’

यसलाई धेरैले सकारात्मक रुपमा लिएका छन् । किनकि दयाहाङ राई एउटा यस्ता कलाकार हुन्, जसले ‘आर्ट सिनेमा’ मा अभिनय पनि उत्तिकै दमदार गर्ने गर्छन् । अर्कातिर कर्मसियल सिनेमा पनि त्यही अनुसार अभिनय गरिरहेका हुन्छन् । निर्देशकले चाहेअनुसारको अभिनय गर्न सक्ने कलाकारका रुपमा पनि उनलाई हेर्ने गरिन्छ ।

बीचमा भने महिनैपिच्छे नयाँ सिनेमा रिलिज हुँदा उनको करिअरमा अलिकति घाटा परेजस्तो देखिन्छ । तर, दयाहाङ राईले अब भने राम्रो सिनेमा मात्र छानेर अभिनय गर्ने भनिरहँदा अब उनलाई के दबाब पनि परेको छ भने उनका सिनेमा व्यावसायिक रुपमा पनि चल्नुपर्छ । अभिनयका हिसाबले पनि दमदार हुनुपर्छ । किनकि दयाहाङ राई धेरैले आशा गरेका अभिनेता पनि हुन् ।

हुन त एउटा सिनेमा स्तरीय बन्न पूरै सिनेमा टीमको भूमिका रहन्छ । तर, दयाहाङ राईले सकभर सिनेमामा छानेर अभिनय गर्न थाले भने सिनेमाको बजार फस्टाउन उनको पनि एउटा भूमिका पछिसम्म रहिरहन्छ भन्नेमा दुई मत छैन ।