हलमा वितरकको ‘इगो’ जुध्छ, निर्मातालाई घाटा हुन्छ

हलमा वितरकको ‘इगो’ जुध्छ, निर्मातालाई घाटा हुन्छ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – धेरै भएको छैन, केही महिनाअघि मात्र दुई सम्भावना बोकेका सिनेमा ‘रामकहानी’ र ‘रोज’ एउटै मितिमा रिलिज भए । प्रदीप खड्का र पूजा शर्माका दर्शकले यी दुई सिनेमालाई फरक–फरक मितिमा हेर्न चाहेका थिए । तर, दुवै सिनेमा एकैदिन रिलिज गरिए ।

दुवै सिनेमाले ठिकै हाइप बनाए । भाद्र २२ मा रिलिज भएका दुई सिनेमा मध्ये रामकहानी व्यापारीक हिसाबले माथी रह्यो भने त्यही मितीमा पदर्शनमा आएको सिनेमा रोजको व्यापारले निर्मातालाई खुशी दिन सकेन । घाटाको लेखाजोखा ठ्याक्कै नगर्ने हो भने पनि एकसाथ जुध्दा दुवै सिनेमालाई ठूलो असर प¥यो ।

त्यतिबेला सिनेमा क्षेत्रमा सानोतिनो युद्ध नै भयो बहसमा । अन्ततः सिनेमा वृत्तमा यसरी दुईवटासम्म सिनेमा जुध्नुलाई सामान्य नै भएको चर्चा हुन थाल्यो । यसो किन पनि भनियो भने, यहाँ हप्तैपिच्छे सिनेमा जुधिरहेका हुन्छन् । कमै सिनेमाले मात्र सोलो रिलिज पाएका हुन्छन् । नेपालीसँग नजुधेपनि विदेशी सिनेमाले नेपाली सिनेमालाई दबाबमा पारेका हुन्छन् अर्कातिर ।

एक निर्माता भन्छन्, ‘यहाँ सिनेमा कुन जोश र आशाले बनाइन्छ तर तयार भएर हलसम्म आउँदा पनि चलाउन उस्तै गाह्रो छ, वितरकले राजनीति गर्न थाल्छन् निर्मातामाथि ।’

उनका अनुसार कतिपय वितरकले विदेशी सिनेमाको नेपाल राइटस् किनेका हुन्छन् । ठूला ब्यानरका सिनेमा जुध्दा सिनेमा क्यालेन्डरमा केही मिति खाली हुन्छन् । ती मितिमा वितरकले आफूले चाहेका नेपाली सिनेमा हलमा लगाउँछन् । ठूला सिनेमा जुध्दा दुवै सिनेमालाई घाटा हुन्छ तर निर्मातालाई तिनै वितरकले दुईवटा सिनेमा जुध्नु ठीकै हो भनेर चित्त बुझाउने बनाउँछन् ।

नाम नबताउने शर्तमा एक निर्माता भन्दै थिए, ‘कतिसम्म भने, कसैले त सिनेमा जुधाउन नै दुई चर्चित सिनेमाको वितरणको जिम्मा लिने रहेछन्, निर्माताले करोडौंको सिनेमा वितरकले दिने केही लाख एडभान्समा चित्त बुझाउँछन् ।’

उनका अनुसार ठूला र सम्भावना बोकेका सिनेमालाई एकसाथ जुधाउँदा समस्या हुनसक्छ । समग्र सिनेमा उद्योगलाई नै घाटा हुन्छ । यो सरासर गलत अभ्यास हो ।

केही दिनदेखि सिनेमा जगतमा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ एकसाथ रिलिज हुने हल्ला चलेको छ । सिनेमा ‘यात्रा’ ले ‘ए मेरो हजुर ३’ को रिलिज मिति तय गरेकै दिनलाई आफ्नो रिलिज मिति तोकेको छ । तर सिनेमामा रुचि राख्ने जानकारहरु भने सुपरस्टार नायक अनमोल केसी र अभिनेत्री तथा निर्देशक झरना थापाले नै सिनेमा क्षेत्रमा भित्र्याएका अभिनेता सलिनमान बनियाँको सिनेमा एकसाथ जुधेको हेर्न चाहेका छैनन् ।त्यसैले गर्दा सिनेमा क्षेत्रका जानकार केही विज्ञहरुका अनुसार ठुला र आशातीत सिनेमाका एक आपसमा जुध्न नहुने धारणा राख्छन् ।

उनीहरुका अनुसार अहिलेका चर्चित दुई नायकका सिनेमा एकसाथ जुधाउनु भनेको व्यक्ति विशेषलाई भन्दा पनि सम्रग सिनेमा क्षेत्रलाई घाटा हो । निर्माताहरुका अनुसार यसरी रिलिज मिति जुधाउनुको एउटा कारण सिनेमाको मिति नै नभएर होइन, बरु व्यक्तिगत ‘इगो’का कारण सिनेमा जुधिरहेका हुन्छन् ।

केही महिनापछि सिनेमा रिलिज गर्न लागेका एक निर्माता भन्छन्, ‘यो सबै राजनीति हो, सिनेमा जुध्दै नजुध्ने भन्ने होइन, तर सकभर सिनेमा नजुधाउँदा उद्योगलाई फाइदा छ, मिलेर जान सक्यो भने मात्र सिनेमा क्षेत्रको प्रगति हुन्छ ।’