दर्शकले सोध्छन् – युट्युबमा सिनेमा कहिले आउँछ ?

दर्शकले सोध्छन् – युट्युबमा सिनेमा कहिले आउँछ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आजभोलि हलमा रिलिज भएको केही समयमै धेरैजसो नेपाली सिनेमा युट्युबमार्फत पनि सार्वजनिक हुन थालेका छन् । युट्युबमा बेलैमा रिलिज हुन थालेपछि नेपाली सिनेमा हेर्ने दर्शकलाई सिनेमा हेर्न हलसम्म गइरहनुपर्ने बाध्यता भएन । जसका कारण, कतिपय दर्शक हलमा सिनेमा हेर्न जानुको सट्टा ‘युट्युबमा आइहाल्छ नि !’ भनेर ढुक्कसाथ बस्न थालेका छन् ।

अझ कतिपय दर्शकले त सिनेमाको ट्रेलर र गीत युट्युबमा रिलिज हुनासाथ सिनेमा कहिले युट्युबमा आउँछ भनेर सोध्छन् । सिनेमा भने हलमा पनि चल्न पाएको हुँदैन । सुरुमा सिनेमा नेपालमा हलका दर्शकले हेरिसकेपछि विदेशमा बस्ने नेपालीले पनि हेर्न पाऊन् भनेर युट्युबमा अपलोड गर्ने गरिन्थ्यो । त्यसरी अपलोड गर्दै जाँदा अहिले भने नेपालमा सुविधासम्पन्न हलमा सिनेमा हेर्न जाने दर्शकले पनि युट्युब कुर्न थालेको कतिपय निर्माताले बताउँदै आएका छन् ।

यसै विषयमा निर्माता तथा कलाकार दीपकराज गिरीले द सिनेमा टाइम्ससँग कुरा गर्दै भने, ‘युट्युबमा सिनेमा अपलोड नै नगर्ने भन्ने होइन, किनकि युट्युबबाट पनि केही प्रतिशत कमाइ हुन्छ तर रिलिज भएको तीन महिनामै सिनेमा युट्युबमा रिलिज गर्नु हुँदैन ।’ यसरी सिनेमा छिटै रिलिज गर्दा नेपाली सिनेमा उद्योगलाई नै असर परेको समेत गिरीले बताए ।

हलमा रिलिज गरिएका सिनेमा केही महिनामै सार्वजनिक हुन थालेपछि दर्शकले पनि निशुल्क हेर्न पाइन्छ भने किन पैसा तिरेर हेर्ने भन्ने सोचको विकास भएको एक वितरकले बताए । ‘नेपाली सिनेमा फ्रीमा हेर्न पाएपछि किन पैसा तिरेर हलसम्म आउने दर्शक? युट्युबले हलमा दर्शक घट्न थालेका छन् ।’, ती वितरकले भने ।

पछिल्लो समय विदेशमा रहेका दर्शकले मात्र होइन, नेपालमै हुने दर्शकले पनि हलमा फिल्म चलिरहेका बेला युट्युबमा सिनेमा कहिले आउँछ भनेर प्रश्न सोध्ने गरेको निर्माताहरु बताउँछन् । कोही निर्माता त आफ्नो सिनेमाको यसरी खोजी भएको देखेर मख्ख समेत पर्छन् तर कैयन् निर्माताले यसरी सिनेमालाई सकभर निशुल्क बनाउन नहुने धारणा राख्न थालेका छन् ।

भर्खरै सिनेमा बनाएर घाटा बेहोरेका एक सिनेकर्मीले भने, ‘बलिउडमा पनि नयाँ सिनेमा युट्युबमा हेर्न पाइँदैन, टिभीमा हेर्न पाइन्छ । हामीकहाँ गलत ट्रेन्ड बसेको छ, यसले नेपाली सिनेमाको बजार सस्तो बनाएको छ ।’ नेपाली सिनेमा क्षेत्रमा चासो राख्नेहरुले भने निर्माताहरु एक जुट हुनुपर्ने र बरु टेलिभिजन या अन्य पैसा तिरेर हेर्न मिल्ने डिजिटल माध्यमबाट सिनेमा देखाउनुपर्ने धारणा राख्दै आएका छन् ।