विपिन र नम्रताको ‘प्रसाद’: आशालाग्दो ट्रेलर, पर्खाइमा दर्शक

विपिन र नम्रताको ‘प्रसाद’: आशालाग्दो ट्रेलर, पर्खाइमा दर्शक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय सिनेमा ‘पर्व’ निर्देशन गरेका दिनेश राउतले सिनेमा ‘प्रसाद’ बनाउने घोषणा गरे । घोषणा गरेदेखि नै यो सिनेमा चयन भएका कलाकार र यसको गीत संगीतका कारण चर्चामा रहिरह्यो । सिनेमा युनिटले हिजो शुक्रवार यसको ट्रेलर सार्वजनिक ग¥यो । उक्त ट्रेलरलाई दर्शकले रुचाएका छन् ।

अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठको जोडी बाँधिएको यो सिनेमामा निःसन्तान दम्पतीको कथा छ । उक्त कथाको आरोह, अवरोह नै सिनेमा हो । सिनेमाको कथालाई लामो समयदेखि सिने पत्रकारिता र समीक्षा गर्दै आइरहेका सुशील पौडेलले लेखेका हुन् । समीक्षा लेखनको राम्रो अभ्यास भएका कारणले पनि ‘प्रसाद’ को कथाले स्तरीय सिनेमाको थप सम्भावना देखाएको छ । अर्कातिर सिनेमाका गीत संगीत पनि उत्तिकै सशक्त देखिएका छन् । गीत संगीतका कारण पनि सिनेमाले दर्शकप्रति एक खालको आशा जगाउन सफल बनेको छ ।

यसअघि निर्देशन गरेको सिनेमा ‘पर्व’ मा निर्देशक दिनेश राउतले अब्बल काम देखाएका थिए । तर विविध कारणले त्यति सफल भने बन्न सकेन उक्त सिनेमा । ‘प्रसाद’ को ट्रेलरबाट के मूल्याङ्कन गर्न सकिन्छ भने राउतले यो सिनेमालाई अझ बलियो र आशालाग्दो बनाएका छन् । उनको काम प्रशंसनीय नै छ ।

सिनेमाको ट्रेलर रिलिज हुनासाथ सिनेमामा प्रयोग गरिएका डायलग (संवाद)लाई पनि दर्शकले रुचाउनुलाईसकारात्मक रुपमा लिन सकिन्छ । युट्युबमा सार्वजनिक गरिएको ट्रेलरको कमेन्टमा घनश्याम तिवारी लेख्छन्, ‘ट्रेलर निकै राम्रो लाग्यो । आशा छ कि, सिनेमा पनि निकै राम्रो बनेको होला । सबैको मेहनत प्रष्ट देखिएको छ ।’

ट्रेलर हेरेर धेरैले सिनेमाका मुख्य कलाकार विपिन कार्की र नम्रता श्रेष्ठको अभिनयलाई रुचाएका छन् । विपिन र नम्रताको बोलीचालीको भाषालाई पनि कलाकारले टपक्क टिपेर बोलेका छन् । जसका कारण सिनेमाको ट्रेलर प्रभावकारी बनेको छ ।

‘यो सिनेमा त पक्का हेरिन्छ, पहिलो दिनको पहिलो शो मा नै, हेर्दाखेरि त कथामा धेरै नै दम छ जस्तो छ ।’, दिपेश भण्डारीले लेखेका छन् । यस्तै अर्का युट्युब प्रयोगकर्ताले लेखेका छन्, ‘सिनेमाको ट्रेलरले त मन छोयो, सिनेमा हेर्न जानुपर्छ ।’

नेपाली सिनेमाको बजार केही उकालो लागिरहेको जस्तो आभाष भइरहेका बेला सुभाष थापाले निर्माण गरेको यो सिनेमाले पनि सम्भावना देखाएको छ । विपिन, नम्रता, निश्चलसँगै, बसुन्धरा भुसाल, विनोद भट्टराई, प्रकाश गन्धर्व, भोला शाह लगायतका कलाकारले अभिनय गरेको यो सिनेमा मंसीर २१ गतेबाट नेपालभर प्रदर्शन हुँदैछ । सिनेमामा शिव विकको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, सुवास भुसालको संगीत, विकास सुवेदीको सह–निर्देशन रहेको छ ।