‘चंगा चेट’ सिनेमाको कथाझैँ भयो मेरो जीवनमा पनि -निर्माता वाग्ले

‘चंगा चेट’ सिनेमाको कथाझैँ भयो मेरो जीवनमा पनि -निर्माता वाग्ले

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – गत जेठमा सिनेमा ‘लूट’ का निर्माता माधव वाग्ले नक्कली नोटको कारोबारको अभियोगमा पक्राउ परे ।पक्राउ परेपछि मिडियामा विभिन्न समाचार आए । केही महिना प्रहरी हिरासतमा बिताएका वाग्ले यतिबेला धरौटीमा रिहा भएका छन् । अदालतमा उनीमाथि मुद्दा चलिरहेको छ ।चलचित्र ‘चंगाचेट’ को शूटिङका क्रममा छपाइएको नक्कली नोटले उनलाई वास्तविक जीवनमा प्रहरीको फन्दामा पु–यायो ।

उनका अनुसार फिल्मका लागि छापिएका नोट फिल्म प्रयोजनका लागि थियो तर प्रहरीले उनलाई नक्कली नोट छपाएको भन्दै पक्राउ ग–यो ।कतिपय फिल्मकर्मी भन्छन्, ‘माधव वाग्ले राम्रा मान्छे हुन्, उनलाई फसाइयो ।’आइतवार काठमाडौंमा आयोजित ‘चंगा चेट’ को गीत रिलिज कार्यक्रममा भेटिएका वाग्लेले भने – ‘फिल्ममा यसअघि पनि प्रप्सका रुपमा नक्कली नोट प्रयोग गर्ने चलन थियो, मैले चलचित्र विकास बोर्डबाट स्वीकृति लिएर नै फिल्मका लागि नोट छपाएको थिएँ, बोर्डको नियमावलीमा भनिएको छ, यहाँबाट स्वीकृति लिएपछि अन्त स्वीकृति लिनुपर्दैन ।

‘चलचित्र चंगा चेट हेरेपछि तपाईंले थाहा पाउनुहुनेछ कि, मान्छेको जीवन कसरी चंगा चेट हुन्छ भन्ने, यो फिल्मको कथाझैँ भयो मेरो जीवनमा पनि ।’, वाग्लेले सुनाए ।साथै वाग्लेले आफू कस्तो मान्छे हुँ भन्ने आफूसँगैका सबैलाई थाहा भएको पनि बताए ।

उनले भने, ‘बागबजारमा खुलेआम  शूटिङका लागि जाली नोट पाइन्छ भन्ने सबैलाई थाहा छ, यसअघि अरु फिल्मले लिएको प्रमाण पनि मसँग छ ।’‘कतिपय अवस्थामा हामीले फिल्ममा पनि वास्तविकतालाई देखाउनुपर्ने हुन्छ, त्यही क्रममा हामीले प्रप्सको प्रयोग गरेको हो’, वाग्लेले अगाडि थपे, ‘तर, मसँगै दशकदेखि फिल्ममा साथै काम गर्दै आइरहेका पत्रकार साथीहरुले फिल्मको पक्षलुकाएर समाचार लेख्नुभयो, फिल्मको कुरा पनि जोडिदिनुभएको भए दुःख लाग्ने थिएन ।

’केही समाचार माध्यमले वाग्लेलाई नक्कली नोटको कारोबारीझैँ बनाई समाचार प्रकाशन गरेका थिए । यसमा वाग्लेले दुःख व्यक्तसमेत गरे ।‘५२ वर्षको उमेरमा मैले कैयन् काम गरेर यो क्षेत्रमा आएँ, चलचित्र क्षेत्रका लागि कति गर्न सकेको छु भन्ने सबैलाई थाहै छ ।’, उनले भने ।यतिबेला पनि यही जाली नोट प्रकरणमा मुद्दा खेपिरहेका वाग्लेले भने, ‘भोलि न्यायालयबाट सफाइ पाउँछु भन्ने ठूलो आशा छ ।’