विकेन्डमा ‘सुनकेसरी’को उत्साहजनक व्यापार

विकेन्डमा ‘सुनकेसरी’को उत्साहजनक व्यापार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबार सोलो रिलिज भएको सिनेमा ‘सुनकेसरी’ले रिलिजको दुई दिनमा उत्साहजनक व्यापार गरेको छ । दुई दिनको अंकगणितीय रिपोर्ट त आएको छैन ।

तर, देशव्यापी अकुपेन्सीलाई हेर्दा सिनेमाको व्यापार उत्साहजनक छ । पहिलो दिन ८०-८५ प्रतिशत अकुपेन्सीका साथ प्रदर्शन भएको सिनेमा दोस्रो दिन अर्थात शनिबार सबैतिर हाउसफुल भएको थियो । शनिबार राजधानीका सबै मल्टीप्लेक्सका सिट भरिभराउ थिए ।

बुधबार खोलिएको एडभान्स बुकिङबाटै आक्रामक रहेको सिनेमा सिंगलमा भन्दा मल्टीप्लेक्समा राम्रो छ । सिंगलको व्यापारलाई लिएर चिन्ता मान्नु पर्ने अवस्था पनि छैन । पछिल्लो समय सुस्ताएको नेपाली सिनेमा बजारलाई ‘सुनकेसरी’ले केहि हदसम्म ब्युत्याएको छ ।

पहिलो दिन देशकै ठुलो मल्टीप्लेक्स क्युएफएक्सका राजधानीका स्टेसनमा सिनेमालाई १५ शोज थियो । त्यसपछि दोस्रो दिनमा १६ र तेस्रो दिन अर्थात आइतबार १८ शोज दिइएको छ । त्यस्तै एफक्युबमा ४/६/७ क्रमस विकेन्डसम्मको शोज, बिएसआरमा विकेन्डसम्म ४/५/६ शोज उपलब्ध भएका छन् । भने, सोमबारका लागि १ शोज बढोत्तरी गर्दै ७ मा पुर्याइएको छ । २ शोजबाट सुरु भएको क्युज प्रदर्शन शनिबार ४ र आइतबार ५ सम्म पुगेको छ । त्यस्तै सिने डी सेफमा ८ शोजका साथ विकेन्डमा सिनेमा प्रदर्शन भैरहेको छ ।

सिनेमाको उत्साहजनक व्यापारसँगै दर्शक प्रतिक्रिया बुझ्न निर्देशक अर्पण थापा, अभिनेत्री ऋचा शर्मा र अभिनेता रविन्द्र झा शनिबार राजधानीका हलहरुमा पुगेका थिए । दर्शकबाट मिस्रित प्रतिक्रिया पाएपछि निर्मात्रीसमेत रहेकी ऋचाले ‘सुनकेसरी’को अघिल्लो भागमा सुधार गर्ने बताइन । ‘सिनेमामा केहि कमजोरी नभएका होइनन् । तर, पनि दर्शकहरुले अत्याधिक रुचाइदिनु भएको छ । ‘सुनकेसरी २’मा अवश्य सुधार्ने छौ ।’ उनले भनिन् ‘दर्शकको साथ र प्रतिक्रियाले दोस्रो भाग बनाउन हौसला मिलेको छ ।’

दोस्रो भाग बनाउने लक्ष्यसहित ‘सुनकेसरी’लाई बिट मारिएको छ । प्रिमियरमै ऋचाले यसको सिक्वेल निर्माण घोषणा गरेकी थिइन् ।

अर्पण थापा निर्देशित सिनेमामा ऋचासँगै रविन्द्र झा, सन्नी ढकाल, लॉरेन लॉफबर्गको मुख्य भूमिका छ ।

भिम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले निर्माण गरेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/विजय अधिकारीको संगीत, रह शर्माको छायाँकन र इयान स्कॉट क्लेमेंटको सम्पादन रहेको छ ।