यसरि भयो पूजा र प्रदीपको पुनर्मिलन…!

यसरि भयो पूजा र प्रदीपको पुनर्मिलन…!

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बुधबार साँझ करिब ७ बजे तिर ‘लिलिबिली’ सिनेमाका मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङ स्टार मलस्थित ‘रमाईलो छ’मा अन्तर्वार्ता सकाएर एक तला माथि उक्लिए ।

स्टार मलको दोस्रो तला ‘द सिनेमा टाइम्स’को अफिसमा अन्तर्वार्ता दिन पुगेका प्रदीपले सायद यस्तो संयोग जुर्ला भनेर कल्पना पनि गरेका थिएनन् होला । आखिर के भयो त्यस्तो ?

प्रदीप एक पत्रकारलाई अन्तर्वार्ता दिदै थिए । त्यसै बखत ‘रामकहानी’ जोडी पूजा शर्मा र आकाश श्रेष्ठको इन्ट्री भयो । पूजालाई थाहा थिएन की ‘द सिनेमा टाइम्स’को अफिसमा प्रदीप छन् । त्यस्तै प्रदीपलाई पनि पूजा आउछिन् भन्ने पत्तो थिएन । चन्चले पूजा पत्रकार दिनेश सिटौलालाई ढोकैमा नमस्ते गरेर हत्तपत्त भित्र पसिन् । करिब तीन वर्ष पछी प्रदीप र पूजाको जम्काभेट यहाँ आएर भयो ! प्रदीपलाई छल्दै पूजा कुर्सिमा गएर बसिन् र कम्प्युटरको किबोर्ड थिच्न थालिन् । सायद पूजालाई पनि प्रदीपसँग यसरि भेट होला भन्ने लागेको थिएन होला । त्यसैले उनले आफ्नो फिलिंग्स किबोर्डमा पोखिरहेकी थिइन् । प्रदीप पनि लामो समय पछी पूजालाई देख्दा अन्तर्वार्ता दिदै मुस्कुराई रहे ।

‘प्रेमगीत’ पश्चात यी दुई एकअर्कासँग बोलेका थिएनन् । अझै भनौ एकअर्कालाई ‘फेस टू फेस’ गरेका पनि थिएनन् ।

एकछिन् पूजा बाहिर निक्लीइन, प्रदीप अन्तर्वार्तामा व्यस्त भए । बाहिर पत्रकार दिनेश सिटौला र उत्सव रसाईलीले  दुबैलाई बोलाउने योजना बनाउदै थिए । प्रदीपको अन्तर्वार्ता सकिएपछी बोल्दा के हुन्छ त ? भन्ने कुरा आएपछि दिनेश र उत्सबको मध्यस्थकर्तामा प्रदीप र पूजा उभिएको ठाउँमा पुगे । पूजा उता फर्किइन् । प्रदीपले हाँस्दै ‘के छ’ भन्न थाले ? यतिकैमा उनीहरु सहज हुन थाले ।

किन बाहिर आएको भन्ने जिज्ञासामा ‘ईन्टरभ्यु हँदैथियो डिस्टर्व होला भनेर बाहिर आएको’ भन्ने जवाफ पूजाले दिइन् । ‘तर हुँदैन्थ्यो’, प्रदीले जवाफ फर्काइहाले । यसरी एक्कासी भेट हुँदा कस्तो लाग्यो त ? ‘सरप्राइज लाग्यो नि!’ प्रदीपले भने । यसरि संयोगबस पूजा र प्रदीपको पुनर्मिलन भयो । छोटो कुराकानीपछि उनीहरुलाई एकै फ्रेममा बसेर फोटा खिच्न आग्रह गरियो । दुवैले क्यामरा अगाडी पोज दिए । यसमा थपिए, आकाश र जसिता । अन्त्यमा एक अर्कामा हग गर्दै प्रदीप र पूजा छुट्टिए ।

उनीहरु आफ्नो बाटो लागेपछी पत्रकारहरु बीच गन्थन चल्यो: यी दुईले यदि ‘प्रेमगीत ३’मा कमव्याक गरे भने त आखाँ चिम्लिएर सुपरहिट हुन्छ । के यो जम्काभेटले प्रदीप र पूजालाई पुन: सँगै स्क्रिनमा देख्न सकिएला त ? तर, यसको लागि निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेनको पनि सहकार्य हुन् जरुरि छ । यी चार जनाले मिलेर बनाएको ‘प्रेमगीत’लाई दर्शकले अत्याधिक रुचाएका थिए ।

अहिले पूजा ‘रामकहानी’को छायाँकनमा व्यस्त छिन् । जहाँ ‘म त तिम्रै हुँ’ डेब्यु अभिनेता आकाश श्रेष्ठसँग स्क्रिन सेयर गरेकी छन् । त्यस्तै प्रदीप ‘लिलिबिली’को प्रमोसनमा व्यस्त छन् । चैत ३० गते प्रदर्शनमा आउन लागेको ‘लिलिबिली’मा प्रदीपले डेब्यु गर्ल जसिता गुरुङसँग स्क्रिन शेयर गरेका छन् ।

तस्विर: कुशल घतानी राई