मिस्टर झोले: बजेट सहित ६ दिने कलेक्सन सार्वजनिक

मिस्टर झोले: बजेट सहित ६ दिने कलेक्सन सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘मिस्टर झोले’ छैटौं दिनसम्म पनि राम्रो व्यापार गर्न सफल भएको छ ।

पाँच दिनसम्म २ करोड २२ लाख ग्रस कमाएको सिनेमाले छैटौं दिनमा देशभरबाट २६ लाख ग्रस बटुल्न सफल भएको छ । विहिबार आयोजित प्रेसमिटमा निर्माताद्वय  टेकेन खड्का र रौनक विक्रम कडेलले व्यापारको जानकारी दिए । पाँचौ दिन र छैटौ दिनमा सिनेमाको कलेक्सन करिव समान छ । सिनेमाले पाँचौ दिनमा २८ लाख ग्रस बटुल्न सकेको थियो ।

प्रोडक्सन र पब्लिसिटी खर्च गरेर ‘मिस्टर झोले’ १ करोड ५३ लाखको बजेटमा निर्माण गरिएको निर्माताहरुले जानकारी दिएका छन् । ६ दिनमा २ करोड ४८ लाख ग्रस कमाउँदा सिनेमा सुरक्षित भैसकेको  छ । विहिबारको सार्वजनिक विदाले सिनेमाको कलेक्सनमा अझै वृद्धि हुने निर्माण टिमको आशा छ । बिभिन्न देशमा ओभरसिज राइट बिक्री भैसकेकाले ‘मिस्टर झोले’ नाफामा  छ । हङकङ र अस्ट्रेलिया शोजबाट दर्शकले सिनेमा रुचाएको कलाकार दयाहाङ राईले बताए ।

रामबाबु गुरुङ निर्देशित सिनेमाले कास्की जिल्लामा अवस्थित एक गाउँको कथालाई कमेडी मार्फत प्रस्तुत गरेको छ । ‘मिस्टर झोले’मा दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्दी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ ।

सिनेमा हेरेका दर्शकले कमेडी पाटो र कलाकारको अभिनयलाई औधि रुचाएका छन् । दुई घण्टा सिनेमा हेर्दा ‘मिस्टर झोले’ले पूर्ण रुपमा मनोरञ्जन दिने दर्शकहरुको प्रतिक्रिया छ ।

रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनक विक्रम कडेल छन् ।