मिस्टर झोले: पाँच दिने कलेक्सन सार्वजनिक, दर्शक उत्साह उस्तै

मिस्टर झोले: पाँच दिने कलेक्सन सार्वजनिक, दर्शक उत्साह उस्तै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘मिस्टर झोले’ले बक्सअफिसमा राम्रो कलेक्सन गर्न सफल भएको छ ।

वितरक गोविन्द शाहीले सिनेमाको पाँच दिने ग्रस कलेक्सन सार्वजनिक गरेका छन् । जुन कलेक्सनलाई राम्रो मान्न सकिन्छ ।

पहिलो दुई दिनमा सिनेमाले १ करोड १० लाख कलेक्सन गर्न सफल भयो । यसमा उपत्यकाबाट ७० लाख र बाहिर ४० लाख ग्रस छ ।

त्यस्तै बाँकी दुई दिनमा सिनेमाले देशभरबाट ८४ लाख ग्रस बटुल्न सक्यो । यसमा उपत्यकाबाट ४६ लाख र बाहिरबाट ३८ लाख योगदान छ । पाँचौ दिनमा सिनेमाले उपत्यकाबाट १५ लाख र बाहिरबाट १३ लाख ग्रस कलेक्सन गर्दै टोटल २ करोड २२ लाख पुर्याउन सफल भएको छ ।

सिनेमाको कलेक्सन र दर्शक प्रतिक्रियाबाट निर्माण टिम सन्तुष्ट रहेका छन् । छैटौं दिनसम्म आईपुग्दा पनि दर्शक चापमा त्यति कमि नआएको निर्माता टेकेन खड्काले जानकारी दिए । उनले भने ‘देशका केहि मुख्य स्टेसन बुधबार पनि हाउसफुल छन् । विहिबार सोनाम लोसारको छुट्टीमा दर्शक अझै बढ्नेमा आशावादी छौ ।’

रामबाबु गुरुङ निर्देशित सिनेमाले कास्की जिल्लामा अवस्थित एक गाउँको कथालाई कमेडी मार्फत प्रस्तुत गरेको छ । ‘मिस्टर झोले’मा दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्दी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ ।

सिनेमा हेरेका दर्शकले कमेडी पाटो र कलाकारको अभिनयलाई औधि रुचाएका छन् । दुई घण्टा सिनेमा हेर्दा ‘मिस्टर झोले’ले पूर्ण रुपमा मनोरञ्जन दिने दर्शकहरुको प्रतिक्रिया छ ।

रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनक विक्रम कडेल छन् ।