‘आप्पा’ले घरभित्रको कथा बोल्नेछ-दयाहाङ राई


द सिनेमा टाइम्स, काठमाडौं – दयाहाङ राई अर्थात अहिलेका लोकप्रिय अभिनेता । अहिलेसम्म दर्जनौं हिट सिनेमा दिएका दयाहाङ सवैभन्दा धेरै व्यस्त अभिनेता पनि हुन् । आगमी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘आप्पा’को प्रचार प्रसारका लागी यतिबेला दयाहाङले सम्पुर्ण कामलाई थाती राखेका छन् । प्रस्तुत छ, द सिनेमा टाइम्सका लागी दिनेश सिटौलाले गरेको छोटो कुराकानी ।

धेरै कलाकारहरुले फुर्सदमा समेत आफ्नो सिनेमाको प्रमोशनका लागी समय नदिएको सुन्छौं, तपाई पोखरामा ‘कबड्डी कबड्डी कबड्डी’को सुटिङमा हुनुहुन्थ्यो । सिनेमाको सुटिङ्ग नै रोकेर आप्पाको प्रचारमा हिड्नु भएको हो ?

कबड्डीको सुटिङ्गका लागी खासै फरक नपर्ने गरेर काठमाण्डौं आएको हुँ । किनभने, आप्पा पनि मेरै सिनेमा हो । भोली ‘कबड्डी ३’ प्रदर्शनका बेलामा म अर्कै सिनेमाको सुटिङ्गमा भए के गर्ने ? प्रमोशनका लागी समय नदिने ? मेरो मान्यता के हो भने, हरेक कलाकारले आफ्नो सिनेमाको प्रमोशनका लागी समय दिन सक्नुपर्छ । त्यसले आफ्नो करिअर र उक्त सिनेमाको व्यापारमा पनि धेरै फरक पार्छ ।

‘आप्पा’ कस्तो किसिमको सिनेमा हो ?

‘आप्पा’ले एउटा घरभित्रको कथा बोल्नेछ । यो सिनेमा हेरेपछि एकपटक मेरा सुभचिन्तकहरुले स्यावास् भन्नु हुनेछ । कथाको पात्र मात्रै निभएको छैन, यो सिनेमा धेरैलाई सन्देश पनि दिनेछ । सन्तानको लागि मरिमेट्ने बाबालाई हामीले कहिल्यै धन्यवाद भन्न सिकेका छौं ? जे मागे पनि पुर्याइदिने बाबालाई हामीले पछि त्यसै किसिमले सम्झिएका छौं ? बाबाको त्याग, मायालाई हामीले कहिले मनैदेखी बुझेका छौ ? छैनौ । त्यसैले एउटा सन्तान र पिताको स्टोरी जोडिएको यो सिनेमा धेरैका लागी खास बन्न सक्छ ।

यो सिनेमामा तपाईको भुमिका कस्तो छ ?

कतिपय कुराहरु सस्पेन्स राख्दा पनि राम्रो देखिन्छ । तर, जुन भुमिका निर्वाह गरेको छु, उक्त भुमिकामा मैले निकै मिहेनत गरेर काम गरेको छु । समग्रमा सिनेमा दमदार बनेको छ ।

थोरै तपाईको करिअरसँग नजिक रहेर पनि कुरा गरौंन, कुनैदिन सुपरस्टार हुन्छ’ भन्ने कल्पना गर्नु भएको थियो कि थिएन ?

वास्तवमा मैले सानो छँदा कहिल्यै सिनेमामा काम गर्छु भनेर सोचेकै थिएन ।

परिवारको चाहना, तपाईको योजना र लक्ष्य त केहि थिएन होला नि ?

परिवारको चाहना, मलाई साइन्स पढाउने इच्छा थियो । तर, मैले साइन्स पढ्न सकिनँ ।

किन ?

म १० कक्षामा फेल भएँ । फेल भएपछि एक वर्षपछि परिक्षा दिनु पर्ने जमाना थियो । एक वर्षपछि पास त भएँ तर साइन्स पढ्न मन्  लागेन । अर्कै विषय पढेर आइए-विए गरे ।

कलाकारिता क्षेत्रमा कसरी गयो मन ?

म फेल भईसकेपछि साहित्यमा रुची गयो । दिन त कटाउनु पर्यो। घाँस–दाउरा गर्ने बेलामा गीत सुन्ने बानी पर्यो । रेडियो नेपाल त मेरो साथि जस्तै भयो । रेडियोमै नाटक सुन्ने गर्न थाँले । सायद् त्यहि बेला होला, कलाकार बन्ने हुटहुटी सुरु भएको थियो ।

तपाई निकै सरल र दम्भ नभएको कलाकारको रुपमा चिनिनुहुन्छ, आफैमा कस्तो खालको व्यक्ती हो ?

यो मेरो व्यक्तीगत बानी हो । म आफैलाई सुपरस्टार भएँ, हिट कलाकार भएँ जस्तो लाग्दैन । मैले गर्नु पर्ने धेरै छ । सोहि कारण मनमा कहिल्यै दम्भ आउँदैन । घमण्ड आउँदैन । सवैसँग सहजै प्रस्तुत हुने स्वभाव छ । खासै रिस उठ्दैन ।

मानिसका सबै सपना पुरा हुँदैन् । कतिपय सपना बिचमै भत्किन्छन् । दयाहाङको सपना के थियो ?

मैले कहिल्यै सपनालाई पछ्याउँदै अघि बढेको होइन । कलाकार बन्छु भन्ने सोच आएपछि मात्रै एउटा असल कलाकार बन्छु भन्ने मात्रै विचार आयो । धेरै सपना छैनन्, धेरै योजना पनि छैनन् । खुशीसाथ जिवन बिताउन पाए हुन्थ्यो भन्ने लाग्छ ।

बिहान कतिबेला उठ्नु हुन्छ ?

पछिल्लो एकवर्षदेखि मेरो दैनिकी फेरिएको छ । पहिले ५ बजे उठ्ने चलन थियो । अहिले ६ बज्छ ।

जिम, ब्यायाम केहि गर्नु हुन्छ ?

आजभोली नियमित रुपमा विहान फुटसल खेल्न थालेको छु । काठमाण्डौं बाहिर भएको बेला क्रिकेट, फुटसल, अथवा जे हुन्छ खेल्छु । बिहानमा केहि समय व्यायाम गर्छु ।

सिनेमा बाहेक अन्य के-के कुरामा रुची छ तपाईको ?

आजभोली किताव पढ्न थालेको छु । यस्तो–उस्तो किताब भन्ने छैन । मन छुने किताव भयो भने भैहाल्यो । नेपालको इतिहास जोडिएका कितावले मन छुन्छ ।

गीत सुन्ने बानी छैन ?

खोजी खोजी गीत सुन्दैन । तर, गीतले इनर्जी दिन्छ भन्ने थाहा छ । कहिलेकाहिँ एयरफोन लगाएर पुराना गीतहरु सुन्ने गरेको हुन्छु ।

तपाईलाई आफ्नै अभिनय कस्तो लाग्छ ?
हा हा हा….., म एक्टिङ त गर्छु । तर, कस्तो गर्छु थाहा छैन । वास्तवमा म सँग पुर्ण रुपमा केहि क्षमता छ जस्तो लाग्दैन ।

जिवनमा के कमाएँ जस्तो लाग्छ ?

अलिकति नाम कमाएँ । अलिकति पैसा । तर, त्यो भन्दा धेरै शाहस कमाएँ ।

जिवनमा सिकेको एउटा कुरा ?

हरेक मानिसले आफुले चाहना गरेको कुराको पछि लागिरह्यो भने पक्कैपनि सफल हुन सकिन्छ भन्ने कुरा सिकेँ ।

अन्त्यमा एउटा प्रश्न, असाध्यै ब्यस्त हुनुहुन्छ । परिवारको लागी समय छैन । साथिभाईहरुसँग चिया खाने मौका जुरेको छैन । कहिलेकाहिँ केहि महिना अथवा वर्ष सिनेमाबाट रिटायर्ड हुन पाए हुन्थ्यो जस्तो लाग्दैन ?

रिटायर्ड हुन पाए हुन्थ्यो जस्तो त लाग्दैन । तर, तपाईले सोधेजस्तै मलाई मनमा यस्ता कुरा उब्जिएको छ । एक–डेढबर्षअघि मैले झण्डैं ११ महिनाको समय कुनैपनि सिनेमाको सुटिङ्गमा नगएरै विताएको थिए । अब केहि बर्षपछि फेरी फुर्सद निकालेर परिवार, साथिभाईहरुलाई समय दिने योजनामा छ’ । मैले साइन गरेका र वचन दिएका सिनेमाको काम सकिएपछि परिवारको साथमा कतै घुम्न जाने रहर छ ।

प्रतिक्रिया दिनुहोस्