जाइरा टिजर: मिक्स मार्शल आर्ट नम्रताको बदला


द सिनेमा टाइम्स, काठमाडौँ – नम्रता श्रेष्ठ स्टारर सिनेमा ‘जाइरा’को टिजर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा प्रेसमिट गरि निर्माण पक्षले सिनेमाको टिजर सार्वजनिक गर्दै मिडियासँग अन्तरक्रिया गर्यो ।

५८ सेकेण्ड लामो टिजरमा नम्रतालाई मात्र प्रस्तुत गरिएको छ । उनि मिक्स मार्शल आर्ट खेलाडी (एम.एम.ए) को भूमिकामा देखिएकी छन् । शिर्ष भूमिकामा रहेकी नम्रतालाई यसअघिका सिनेमामा भन्दा भिन्न अवतारमा प्रस्तुत गरिएको छ । छोटो कपाल र सुगठित शरीरमा देखिएकी नम्रताले बदलाको रुपमा आफुलाई ढालेकी छन् ।डेब्यु निर्देशक आशुतोष राज श्रेष्ठले सिनेमा मिक्स मार्शल आर्ट केन्द्रित भएपनि प्रमुख प्लट बदला रहेको बताए । एम.एम.ए. फाइटिङ खेलमा कुनै पनि पृष्ठभुमिको लडाकुले भाग लिन पाउछन् । जस्तो कराते, म्युय-थाई, बक्सिङ, रेस्लिङ इत्त्यादी ।

भदौ ६ गतेदेखि अलनेपाल रिलिज हुने सिनेमामा अनुपबिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नवकलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय छ । कलाकार मगर नम्रताको कोचको भूमिकामा छन् ।

कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडले संगीत भरेको सिनेमामा सम्राट बस्नेतको द्वन्द, राउल मोक्तान र मेघराज चेम्जोङले एक्सन कोरियोग्राफीको काम गरेका छन् । बाबु श्रेष्ठले खिचेको सिनेमालाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित सिनेमाको कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । सिनेमामा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा छ ।

प्रतिक्रिया दिनुहोस्